‘खुलालु पुलको जिम्मा सेनालाई’
सुर्खेत, ७ असोज ।
राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको कर्णाली करिडोर निर्माणको कामले गति लिएको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमिकोट जोड्ने यो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि निर्माणको कामले पनि गति लिएको हो ।
बहुचर्चित यो सडक बजेट अभाव र ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य सुस्त बनेको थियो । सरकारले २०७१ चैतमा यो सडक निर्माणको काम सेनालाई दिएको थियो । सेनाले जिम्मा लिएपछि सडक निर्माणको कामले पनि गति लिन थालेको हो । खुलालुदेखि सिमिकोटसम्म एक सय ९६ किलोमिटर लामो यो सडक निर्माणको काम हाल सेनाले गरिरहेको छ । कडा चट्टान र निर्माण सामग्रीको ढुवानीमा समस्या हुँदा निर्माणमा केही कठिनाइ भए पनि तोकिएको समयमा काम सक्ने सेनाले अठोट गरेको छ ।
भारतको रूपैडियादेखि तिब्बतसँग जोडिएको हिल्सासम्म उत्तरदेखि दक्षिण जोड्ने कर्णाली करिडोर निर्माणको काम सम्पन्न गर्न सरकारले पनि प्राथमिकता दिएको छ । कालिकोटको खुलालुदेखि बाजुरा, सिमिकोट हुँदै यो सडकले हिल्सासम्म जोड्ने छ । यो सडकको निर्माण कार्य सेनाले सुरु गरेपछि कर्णालीमा नयाँ आशा पलाएको छ । यो सडक खण्ड अन्तर्गत हालसम्म अधिकांश स्थानमा सेनाले ट्रयाक खन्ने काम सकेको छ । कडा चट्टान भएको स्थानमा भने काम हुन सकेको छैन । सेनाले जिम्मा लिएपछि यो सडकखण्ड अन्तर्गत लालिघाटदेखि २४ किलोमिटरसम्म सवारी सञ्चालन भइरहेका छन् । बाँकी स्थानमा पनि सवारी संचालनको तयारी भइरहेको सेनाले जनाएको छ । यद्यपि पूरै सडक निर्माण सम्पन्न हुन अझै समय लाग्नेछ ।
सेनाले निर्माणको जिम्मा लिएपछि रक्षामन्त्री भीमसेनदास प्रधानसहितको टोलीले यो करिडोरको अनुगमन गरेको छ । शनिवार करिडोरको अनुगमन गर्दै मन्त्री प्रधानले निर्माणमा हालसम्म भएको प्रगतिको बारेमा जानकारी लिएका छन् । यो सडक कर्णालीको भाग्यरेखा भएको भन्दै रक्षामन्त्री प्रधानले तत्काल निर्माणको काम सक्ने गरी काम गर्न सेनालाई निर्देशन दिए ।
यो सडकको खुलालुस्थित मुख्य प्रवेशद्वारमा कर्णाली नदीमा निर्माण गर्नुपर्ने पक्की पुल हालसम्म निर्माण भएको छैन । सडक विभागले ठेकेदारलाई निर्माणको जिम्मा दिएको भए पनि हालसम्म काम नै सुरु भएको छैन । प्रवेशद्वारमा पुल नबन्दा निर्माण सामग्री ढुवानीमा पनि समस्या भएको छ । सेनाले खुलालुबाट एक किलोमिटर अगाडि लालिघाटबाट निर्माणको अगाडि बढाएको थियो ।
दुईपटक शिलान्यास भएको उक्त पुल हालसम्म पनि निर्माण नभएपछि रक्षामन्त्री प्रधानले अब यो पुल निर्माणको जिम्मा पनि सेनालाई दिने बताए । उनले भने, ‘सेनाले निर्माणको काम समयमै सकेका धेरै आयोजना छन्, यो सडकको काम पनि सन्तोषजनक नै छ । अब यो पुलको जिम्मा पनि सेनालाई दिनेछौं, सरकारले यसबारे चाँडै निर्णय गर्नेछ ।’ चार वर्ष अगाडि शिलान्यास गरेर ठेक्का सम्झौता भएको यो पुल निर्माणको काम हालसम्म पनि सुरु भएको छैन । स्थानीय बासिन्दाले अब सेनालाई जिम्मा दिनुपर्ने माग गरेपछि मन्त्री प्रधानले सेनालाई नै निर्माणको जिम्मा दिइने प्रतिबद्धता जनाए । तत्काल खुलालु पुल निर्माणको काम नेपाली सेनालाई हस्तान्त्रण गर्नका लागि आफूले पहल गर्ने उनले वचन दिएका हुन् ।
नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका खुलालु पुल र लालिघाटदेखि सुनथराली जाने सडक निर्माणको काम नेपाली सेनालाई दिन मन्त्रीसँग आग्रह गरे । कर्णाली करिडोर र सुनथराली विमानस्थल कालिकोटका नागरिकहरूको भविष्यसँग जोडिएको बताउँदै बमले खुलालु पुल र सुनथराली विमानस्थल जोड्ने सडक तत्काल निर्माण गर्नुपर्ने माग गरे । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बद्री पाण्डे, नेपाली कांग्रेस जुम्लाका सभापति दीपबहादुर शाही लगायतले कर्णाली करिडोर समग्र कर्णालीको समृद्धिको मार्ग भएकाले यसको निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।
साझा बिसौनी संवाददाता ।