सपनापछिको हिरो

मखमली दुनियाँले पनि बिजाइरहेको थियो । कतै न कतै मलाई घोचिरहन्थ्यो, चिमोटिरहन्थ्यो । एक पटक होइन, पटक–पटक । विस्तारै गनगुनाएका आवाजले मलाई मेरो सपनादेखि ब्यूँझाइदिए । फेरि त्यो नमिठो चिमोट । कति निर्दयी थियो, त्यो चिमोट । सपनाको दुनियाँ पनि कति अजिव छ है ? कस्तो मज्जाले निदाएकी थिएँ ? आँखा खुल्ने सुरसारमै थिएनन् । उही परिचित अनुहार । नशालु आँखाले मलाई नियालिरहेको थियो । सँगै बसेका आफ्ना साथीहरूसँग ऊ छिनछिनमा मुस्कुराउथ्यो पनि । रातिको अवेर निन्द्रालाई कसले नै पर जा भन्छ र ? ओढेको कम्मललाई फेरि तान्दै मुख छोपें । बायाँ भागमा दिदी मस्त निन्द्रामा सुतिरहेको थिइ ।

आफ्नो छुट्टै संसारमा रमाउन खोज्दा पनि त्यो परिचित अनुहार मलाई रमाउन दिइरहेको थिएन । हातमा वियरको गिलासलाई उसको जतन गर्न पनि सकिरहेको थिएन । बेला–बेलामा चुस्की लिन्थ्यो । ऊ राम (नाम परिवर्तन) हो । नजिकै अफिसमा काम गर्छ । ऊ सँग परिचित भएकी लगभग एक वर्षे भयो होला । साँझपख नुहाइ–धुवाइ गरेर हामी आमाछोरीले जमरा छरेका थियौं र सुत्यौं । सुत्नेबेला त आएको थिएन ऊ । राती आएर पसल ढकढकाएछ सायद । आमाले ढोका खोलिदिछिन् । बेला–बेलामा मौकालाई आफ्नो पक्षलाई पार्दै ओढेको कम्मलसम्म सर्काउन हिच्किचाउँदैनथ्यो ऊ । नजिकै रवरको कुर्चीमा आसिन उसका दुई साथीहरू पनि शान्त रूपमा मुस्कुराइरहेका थिए । गिलासको चुस्की, चुरोटको धुवा र दालमोठको गेडालाई नै उनीहरूले आफ्नो संसार बनाएका पक्कै थिए । छिनछिनमा कहिले चिमोटिने त कहिले ओढेको कम्मल सर्काउदाको झन्कोमा पनि मुस्कुराउँदै म उठें ।
पसलको भुइँ नै हाम्रो विस्तारा हो । प्रायः सधैं यस्तै हुन्छ । अवेर पसल बन्द गरेपछि मात्र हामी भुइँमा विस्तारा लगाउछौं । पश्चिम सिरानीबाट विपरित फर्किएकी आमालाई हेरें । उनी कसैसँग फोनमा मस्त थिइन् । उनलाई म कसरी रोक्न सक्थें र ? केही ख्याल गरिन् । भुइँमा लगाइएको विस्तरादेखि काउन्टर नजिकै बसिरहेकी म, राम बारम्बार आफू नजिक आउन कर गरिरहन्थ्यो । नशाले च्याप्दै जाँदा झन्झन् विस्तारै बोल्ने ऊ मलाई केही सुनाउन खोजिरहेको थियो । नजिकै गएर कान थाप्न भन्यो मैले थापें । उसले गालैमा चुम्बन ग¥यो । लजाउँदै जुरुक्कै उठेर नजिकै बसेका दुई साथीहरूलाई हेरें, मन्द मुस्कानमा गिलासमा रमाइरहेको झै नाटक गरिरहेका थिए उनीहरू ।
घण्टौंपछि आमाले आफ्नो फोन सकिन् । र, विस्तारामा सुतिरहेकी दिदीसँग ढल्किइन् । मेरो फेसबुकमा फोटोहरू नियाल्दै थिइन् । म भने ग्राहक जाने समय आंकलन गर्दै काउन्टरमै बसिरहें । आमाले इशारा गर्दै छिटो जान भन्न अह्राइन् । अब म कसरी उनीहरूलाई अब जाउँ भन्न सक्थें र ? बिहानको करिब तीन बजिसकेको थियो । सायद त्यो रातलाई त मेरो निन्द्रा पुगिसकेको थियो तर राम र उसका साथीहरूलाई देखेरै म अचम्मित थिएँ । उनीहरू आफूलाई समाजको राम्रो व्यक्तिको रूपमा चिनाउन कोशिस गरिरहेका थिए । सँगै जीवनलाई फरक रूपमा बिताउनुपर्ने पनि उनीहरूको धारणा थिए । तर पनि मलाई उनीहरूको जीवनशैलीमा खास्सै चासो भने थिएन । राम निन्द्रा लाग्यो भन्दै हाम्रो विस्ताराको छेउमै ढल्कियो । उसका दुई साथी मध्य एक कुर्चीमै निदाइसकेको थियो । अर्को साथी र म कुरा गरिरहेका थियौं । उसका गिलासमा चुस्किहरूलाई म मेरा कुराहरूले साथ दिइरहेकी थिएँ ।
समय अन्तरालमा राम मेरी आमालाई अंगालो मार्दै सुत्न थाल्यो । म र उसको साथी त्यो दृश्यमा मुस्कुरायौं मात्र । आमा पनि मस्त निन्द्रामा झै थिइन्, राम पनि । आखिर निन्द्राको कुरा न थियो, सुतेको समयमा कसलाई खुट्टा बोकाइन्छ हामी भेउ पाउँन सक्दैनौं नि ? त्यो दृश्य हाम्रो लागि सामान्य रहेको थियो । उसको साथी र मैले निकै गफ ग¥र्यौ । ऊ हाम्रो घर, जात सबै सोध्दै थियो । कहाँ पढ्छौ ? कतिमा पढ्छौ ? फेसबुकमा नाम के छ ? यस्तै उसका सबै प्रश्नहरूको सोझो तथा स्पष्ट उत्तर दिइरहेकी थिएँ म । छिनछिनमा हामी दुवैका नजर सुतिरहेका मेरी आमा, दिदी र राममा जान्थे । तर पनि हामी अन्जान महसुस गरिरहेका थियौं ।
वीरेन्द्रनगर बाहिर जन्मिएकी म, यहाँ सानो पसल छ । घरमा सबै छन् । नजिकैको सामुदायिक विद्यालयमा कक्षा आठमा म पढ्छु । मेरी दिदी १० मा पढ्छे । बुबासँग झगडाको कारण हामीसँगै भएता पनि एउटै घरमा हामी फरक–फरक रूपमा बाँचेका छौं । मेरी आमा, दिदी र मेरो फरक शैली छ । बुबाले हामी माथि अधिकार जताउन त खोज्नुहुन्छ तर मेरी आमालाई त्यो स्वीकार्य छैन । हेरौं कहिलेसम्म यस्तै चल्छ ?

माथि उल्लेखित घटना वास्तविक हो । यो लेखलाई पात्रकै भावना अनुरूप तयार पारिएको छ । आशा छ यस लेखले छोराछोरी, अभिवाभक र समाजलाई सकारात्मक दिशानिर्देश पक्कै गर्नेछ । लेखमा उल्लेख भावना, मानसिकता तथा अनुभव युवतीको आफ््नै हुन् । सामाजिक गोपनितालाई कायम राखेरै लेख तयार पारिएको छ, जसका कारण पनि हामी यो लेखका भएकी पात्रलाई नजिकैबाट नियाल्न
सक्छौ । नजिकैदेखि नियाल्दा–नियाल्दै विषय तथा परिस्थितिले पाठकको मनमा उब्जिएका भावहरूलाई ठम्याउँदै लेखकी पात्र औलिएमा यो पंक्तिकार क्षमायाचना व्यक्त गर्न चाहन्छ ।
आमा । बयानै गर्न नसकिने पक्ष । मानव जुनिमा आमालाई सृष्टिकर्ताको रूपमा सम्मान गरिन्छ । मानवजुनीको एक ऐतिहासिक पक्ष आमा । बालकको पहिलो पाठशाला हुन् आमा । परिवारको खम्बा नै आमा हुन् । आमालाई हामी कोही लक्ष्मीकै रूप पनि दिन्छौं । नेपाली समाजका आमाको अर्थ घर पनि हो । धर्तीमा हाम्रो पहिलो पाइलादेखि लिएर अन्तिम शाससम्म, आमा नै आमा । ठेसदेखि लिएर ठूलो चोटसम्म आमा घेरिएका शब्दहरू । पहिलो पाइला कुद्दा आमाले च्यापेका औंलाहरूदेखि लिएर घरमा हाम्रो खाना समय हुँदै हाम्रो शिक्षासम्म आमाको उल्लेखनीय भूमिका रहेको हुन्छ । सरल अर्थमा बच्चाको पहिलो पाठशाला आमा । जहाँ बच्चाको दुनियाँ सिकाइन्छ । जहाँ सामाजिक संस्कृतिका कुराहरू घोकाइन्छ, प्रयोग गराइन्छ । गर्नहुुने र गर्न नहुने सबै पक्षका समूहगत भावना बोकेका पंक्तिहरू आमासँग लुकेका छन् । पाठशाला आमा । के सबै आमाहरू आमा बनेका छन् ? के सबै पाठशालाले हामीलाई समाजमा शिक्षित बनाइरहेका छन् ? के सबै आमाहरूलाई आफ्नो कर्तव्यको बोध छ ? के सबै आमाहरूले आफ्ना सामाजिक कर्तव्यहरू पूरा गरेका छन् ?

प्रकाशित मितिः   ८ आश्विन २०७४, आईतवार १५:५९