सुर्खेतमा सुरु भयो स्वास्थ्य बीमा

२५ सय तिरेर सदस्यता, उपचारमा ५० हजारसम्म पाइने, दर्ता सहयोगी घरमै आउने

सुर्खेत, ६ असोज ।
सुर्खेतमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । सरकारले दुई वर्ष पहिला कैलालीबाट सुरु गरेको यो कार्यक्रम सुर्खेतमा पनि सुरु भएको हो । अब जिल्लाका नागरिकले आफ्नो वडाबाटै दर्ता सहयोगीमार्फत् बीमा कार्यक्रमको सदस्यता लिन पाउने भएका छन् ।


स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै अब जिल्लाका नागरिकले सदस्य बनेर उपचारमा सहयोग पाउन सक्नेछन् । बीमा कार्यक्रम अन्तर्गत पाँच जनासम्म सदस्य भएको परिवारले दुई हजार पाँच सय रूपैयाँ तिरेर सदस्य बन्न सक्नेछन् । यो रकमले एक वर्षसम्म मात्र काम गर्नेछ । त्यही सदस्यता कार्डका आधारमा बीमा गरेको परिवारले उपचारमा ५० हजार रूपैयाँसम्म उपचारमा सहयोग पाउनेछ । नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्न भन्दै सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
सदस्यता लिएका परिवारले सरकारले तोकेको स्वास्थ्य संस्थामा एक वर्षसम्म उपचार गराउँदा ५० हजारसम्म सहयोग पाउनेछन् । हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्नेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत सुर्खेतमा पनि शुक्रवार वीरेन्द्रनगरमा स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन भएको छ । जिल्लामा पहिलो सदस्यता वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले लिएका छन् । दुई हजार पाँचसय रूपैयाँ तिरेपछि सुवेदीलाई जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले परिचयपत्र हस्तान्तरण गरेका थिए । यही परिचयपत्रका आधारमा अब मेयर सुवेदीको परिवारले एक वर्षसम्म उपचार गराउँदा ५० हजार रूपैयाँसम्म सहयोग प्राप्त गर्नेछ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति सुर्खेतका अनुसार पाँच जनासम्म सदस्य भएको परिवारका लागि सदस्यता लिन दुई हजार पाँच सय रूपैयाँ तिर्नु पर्नेछ । त्यो भन्दा बढी सदस्य भएको परिवारले भने प्रति सदस्य थप चार सय २५ रूपैयाँका दरले थप्नुपर्नेछ । सदस्यता लिए वापत परिवारका सदस्यहरूले उपचारमा सहयोग पाउने भएका हुन् । सुर्खेतमा यसका लागि दर्ता सहयोगीहरू घरघरमा आउनेछन् । त्यसका लागि जिल्लामा रहेका ९९ वटै वडामा कर्मचारी खटाइएको छ । दर्ता सहयोगीहरूबाटै बीमा कार्यक्रममा सहभागी हुन सकिनेछ । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख मोहन देवकोटाले यो कार्यक्रम सफल बनाउन चार सय जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको बताए । उनका अनुसार जिल्लामा अनुगमन समिति पनि गठन गरिएको छ ।
सुर्खेतमा सदस्यता लिएपछि सर्वसाधारणहरूले मध्यपश्चिम क्षेत्रीय अस्पताल, मेहेलकुना अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरू अवलचिङ्ग, दशरथपुर र सालकोटमा उपचार गराएमा तोकिएको सहयोग पाउनेछन् । यी संस्थाहरूमा उपचार सम्भव नहुने अवस्थामा अस्पतालको सिफारिसका आधारमा बाहिर उपचार गराएमा पनि सहयोग पाइनेछ । सरकारले निःशुल्क भनेको उपचार र औषधि बाहेकको खर्चमा मात्र सहयोग प्राप्त हुनेछ । यस्तै मादकपदार्थ सेवन, झगडा गरेर लागेको चोटपटकमा भने सहयोग पाइनेछैन । अन्य उपचार, औषधि र शल्यक्रियामा पनि सुविधा उपलब्ध हुनेछ । यसकारण यो कार्यक्रममा सहभागी हुन सरोकारवालाहरूले सबैलाई आग्रह गरेका छन् । हालसम्म देशका विभिन्न १५ जिल्लामा यो कार्यक्रम लागू भइसकेको छ । सरकारले विस्तारै देशभर यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
गरीब परिचयपत्र भएका परिवारका लागि भने सदस्यता शुल्कमा पनि छुट हुनेछ । स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक सिग्देलले यो कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे । ‘स्वास्थ्य नै ठूलो धन हो, स्वस्थ भएमा मात्र जीवन सार्थक हुन्छ’ उनले भने, ‘सबैले स्वास्थ्य बीमा गरौं, आर्थिक अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने छैन ।’ नागरिकको बाँच्न पाउने अधिकारलाई यो कार्यक्रमले संस्थागत गर्ने भन्दै उनले सदस्यता लिने आग्रह गरे । यस्तै वीरेन्द्रनगरका मेयर सुवेदीले नागरिकलाई स्वस्थ राख्न स्थानीय सरकारले पनि सहयोग र प्रयत्न गर्ने बताए । अब स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने भन्दै उनले स्थानीय सरकार त्यसतर्फ केन्द्रित हुने जानकारी दिए । यो कार्यक्रममा धेरै जनताको सहभागिता गराउनका लागि पनि आफूहरूले स्थानीयस्तरमा उत्प्रेरित गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   ७ आश्विन २०७४, शनिबार १५:३३