पुरुषवेश्या !

नेपालमा पछिल्लो विभिन्न राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने सिंगो देश हाँक्ने कित्तामा पुरुषहरू देखिन्छन् । देश मात्रैको कुुरा होइन ? सिंगो समाज, टोल, छरछिमेक अनि घर हाँक्ने व्यक्ति पनि पुरुष नै देखिन्छ । हाम्रो समाज पितृसत्तात्मक सोचबाट ग्रसित भएकाले र नारीलाई नरकको मूल ढोका नठान्ने भएकाले यस्तो देखिएको हो । श्रीमती अर्थात् स्वास्नी मान्छेले श्रीमान् एवम् पुरुषका सम्पूर्ण काममा सहभागिता जनाउने परम्परा अहिले पनि हाम्रो समाजमा कायम छ । त्यसैले हाम्रो समाजमा स्त्रीको तुलनामा पुरुषहरू वलवान, रूपवान, धनवान के–के वान हुन् भन्न गाह्रो भइसक्यो । उनीहरूका यिनै ‘वान’ले सर्वत्र माकुराले जालो फिंजाए झै आफ्नो जालो फिजाएको देखिन्छ । यिनै हैकमवादी, कृष्णवादी, शिववादी प्रवृत्ति एवम् पुरुषत्वलाई बचाइ राख्न, आफ्नो शक्तिलाई बचाइ राख्ने तिकडम गरेको देखिन्छ । यसको प्रभाव पछिल्लो समय नेपालको राजनीतिक क्षेत्रमा पनि देख्न पाइन्छ ।


महिला सहभागिताका नाममा महिलाहरूलाई कमजोर पारिएको छ, समानुपातिक र आरक्षणका रूपमा । यो कुरा पुरुष आरक्षणका कुराहरू पनि गर्न सकिन्थ्यो ? कहाँ कमजोर छन् ? नारीहरू ? आहा ! फुरुंग ! कोटा छुट्याइएकाले हामीलाई पनि कार्यक्रम समावेश एवम् सहभागिता गरिएकाले । दाहिने र देब्रे आँखाले बराबर देख्छन्, दुवै कानले उत्तिकै सुन्छन्, दुवै हात र पाखुरा बराबर हुन्छन्, दुवै गोडाले बराबर रूपमा शरीरलाई थाम्ने र हिँडाउने गर्दछन् । खास खास संरचनागत विशेषता बोहक विज्ञानले पनि मानवीय क्षमता, वुद्धि, विवेक र मस्तिष्कमा पुरुष र महिलामा भेदभाव प्रमाणित गर्न सकेको छैन ।
हाम्रो समाज पुरुष, महिला सक्षम हुँदाहुँदै पनि उनीहरूलाई कमजोर पार्न धुर्त पुरुष मित्रहरूलाई यही कुरा सोध्न मन लाग्यो, नारी कसरी कमजोर ? अनि कहाँ ? आधा आकाश एवम् शक्तिका रूपमा महिलाहरूलँई व्याख्या गर्ने तर कमजोर कसरी ? उसले पनि एउटा पुरुष सरह काम गर्नसक्छ भने कि यो आरक्षण एवम् महिला सीट ? धुर्त मित्रहरू । अनावश्यक कुरा । तपाईं हामीले भर्खर सम्पन्न भएको स्थानीय तहको चुनावमा यी सबै कुरा प्रष्ट देखेका छौं । पुरुष मेयर भए महिला उपमेयर, महिला मेयर भए पुरुष उपमेयरका उदाहरण कम देखिए । त्यस्तै गाउँपालिकाको अवस्था त्यस्तै देखियो, अध्यक्ष र उपाध्यक्ष पनि त देखियो । यो समानुपातिक प्रणाली कहिलेसम्म ? देशमा राजनीतिक चेतनाले फड्को मारिसक्यो भन्ने तर धुर्तहरूले सधैं धुत्र्याइ गरिरहने ? कहिले दलितका नाममा, कहिले पिछडिएको क्षेत्रका नाममा, कहिले अपांगताका नाममा यो एउटा वर्गीकरणको जालो कहिलेसम्म ? नेपाली समाजमा महिलाहरूलाई विभिन्न आरोपहरू लगाइन्छ । यी सामाजिक कुरीति भित्रबाट जन्मिएको शब्द हो ‘वेश्या’ । सुन्दा अचम्म लाग्न सक्छ यसले सिंगो महिलालाई अश्लिल र नराम्रो भन्ने अर्थमा बुझिरहने कुरौटे समाजमा पुरुष वेश्याका कहिकतै चर्चा गरिएको देखिदैन । त्यही पुरुष वेश्या शब्दले यस व्यंग्यकारलाई छोयो अनि त्यही शदका बारेमा चर्चा गर्न मन लाग्यो ।
नेपालमा विभिन्न समयमा विभिन्न राजनीतिक घटनाक्रमहरू दोहोरिएका छन् । नेपालको इतिहासलाई हेर्ने हो भने पृथ्वीनारायण शाहको नेपाल एकीकरणदेखि राजेन्द्रलक्ष्मीदेवी हुँदै विद्यादेवीसम्म आइपुग्दा घटनामा पुरुषहरूको वर्चश्व देखिन्छ । जसरी एउटा विवाहित महिलाले आफ्नो सौभाग्यका लागि सोह्र श्रृंगार गर्छ, त्यसैगरी पुरुषमित्रहरूले गरेको देखिदैन । तर तिनै पुरुषमित्रहरूमध्ये आफ्नो रूप सौन्दर्य र यौवनलाई बचाइ राख्नका लागि जस्तो सुकै कस्मेटिक श्रंगार गर्न पछि पर्दैनन् पुरुष वेश्याहरू । आज देश यिनै पुरुष वेश्याको हातमा परेको छ । राजनीतिक वेश्यावृत्तिका कारण देशको लथालिंग अवस्था देखिन्छ । भ्रष्टाचारी, नोकरशाही, लुटको व्यापार चलिरहेको छ । के स्वाद ! नेपाली जनता मरुन् कि बाँचुन ? वेश्याले देश सरकार र जनताले अपेक्षा गरेका सुन्दर गाउँको बस्तीलाई राजनीति रंगमा उतारेर त्यसलाई मूर्तरूप दिने काम गरिरहेका छन् । एउटाको स्वागत सत्कारका लागि र अर्काको स्वागत सत्कारको लागि विभिन्न भावभंगी देखाउने काम गर्दछन् ।
वेश्याहरूको जमातमा एउटा अनौठो स्थिति छ । एकातिर एउटा हुँदै नभएको नगर निस्केर आउँछ अर्कोतिर एउटा यथार्थ गाउँ काल्पनिक भएरै बिलाउँछ, कस्तो समीकरण ? यसले सिंगो शासकहरूको अकर्मण्यतालाई पर्दाफास गरेको छ । उनीहरू पुरिएका गाउँको उत्खनन् गर्ने योजनाहरू बनाउने अनि जिउँदा मान्छेहरूका लागि कुनै योजनाहरू छैन जसले गर्दा भएका गाउँहरू (विशेष अर्थमा देश) बिलाउने क्रम जारी छ, कहिले सुस्ता भएर त कहिले लिपु लेक अनि कालापानी भएर । तर यहाँ मान्छेमा विद्रोह गर्दा म¥यो भने उसको परिचय सकिन्छ । त्यसैले वेश्याविरुद्ध आन्दोलन गर्नुपर्छ । यहाँ एउटा वेश्याले वेश्यालयमा ग्राहक आकर्षण गर्नका लागि विभिन्न अस्वभाविक श्रंगार गर्छ, धेरै ग्राहकसँगका संगतका कारण दुर्गन्धित हुन्छ अनि देश अहिले त्यसैगरी निसास्सिएको छ । यहाँ कसैलाई ज्यादा खान पाएकाले रोग लाग्ने त कसैलाई खान नपाएकाले रोग लाग्ने किसिमको स्थितिलाई घचघच्याइदिने बारेमा पनि सालिक बनिदिन्छ यो समाज ? जहाँ यिनै पुरुष बाँचिरहेका छन्, ‘जसरी महाभारतमा पाण्डवहरू विभिन्न छद्म रूपमा बाँचिरहेका थिए । त्यसैगरी बाँचिरहेका छन् ।’ हाम्रो पुरुषप्रधान समाजमा आफ्नो पहिचान लिएर यि पुरुषहरू । गाउँमा विभिन्न नाम र उपनामबाट जिवित त्यसमा पनि स्थानीय तहको निर्वाचनसँगै गाउँमा हजारौं गोमनहरू जन्मिसकेका छन् । उनीहरू जनताको सेवक होइन शासक बन्नका लागि आतुर भइसकेका छन् । हिजोसम्मको विल्पारी आज पाउरोटी उक्से झैं उक्सिएको छ ‘भ्वाक्क’ परेर । हिजोसम्म हात्तिछाप चप्पल बाहेक अरुथोक नदेख्ने त्यही लोग्ने मान्छेका खुट्टामा कालो घोडा ब्राण्डहरू टल्किरहेका छन् । यो यथार्थको धरालतमा बाँचेको समाजमा माथिल्लो तहको नेता जिल्ला र गाउँस्तरमा मात्र होइन टोलका ठालुहरूका ‘भैरे’ उत्पादन गर्नमा बढी लागिपरिरहेका छन् । गाउँमै शासन गरिरहन सहज हुने अवस्थाको बोध गरेर सामाजिक आवश्यकता, शिक्षा, स्वास्थ्यतथा सामाजिक संस्कृतिको स्थितिलाई उन्नतितर्फ उन्मूख हुन नदिने चिन्तनबाट प्रेरित बनि अनेक उपाहरूलाइृ कुण्ठित गरेर पुरुष वेश्याहरूले एउटा सिंगो देशलाई नचाइरहेका
छन् । उनीहरूले अचेत अवस्थामै राख्न र एउटा ग्राहक कज्याएझै कज्याउने प्रत्यन गर्ने स्थितिमा देखा परिरहेका छन् ।
नेपालका राजनीतिक वेश्यावृत्तिमा संलग्नहरू भन्दा पनि गरिबीका कारण झोले अनि साँच्चैका पुरुष वेश्याहरू बन्न हाम्रो समाजका यथार्थ हो, विभिन्न प्रलोभनमा परी उनीहरूले आफूलाई यो पेशामा बेचिरहेका छन् । त्यसैले यहाँ देश चलाउने पुरुष वेश्याहरूले देश चलाइरहेका छन् । देश विभिन्न पटक विभिन्न विचारमा कहिले स्वाधिनताका नाममा कहिले राष्ट्रियताका नाममा पोइल जानेहरूले गिजोलिरहेका छन् । कहिले टनकपुरका नाममा कहिले तातोपानी एवम् केरुङका नाममा देश विदेशीहरूका सामु उनीहरूले भन्ने वित्तिकै निर्वस्त्र लम्पसार परेर नाङ्गै सुतिदिने पुरुषवेश्याहरूले देशलाई कोचलफाँडो बनाएका छन् । यस्ता पुरुष वेश्याहरूलाई समाजबाट मात्रै होइन देशबाटै निकाल्नुपर्छ ।
जय होस् । (वीरेन्द्रनगर–८, सुर्खेत)