‘सुख–दुःखका सारथी’
जीवनसाथी भनेको जन्म दिने आमापछिको माया गर्ने साथी हो । जीवनमा सही बाटो देखाउने र हरेक सुख दुःखमा साथ दिने मान्छे थारै मात्र हुन्छन् । त्यही थोरै मध्येमा आमा र जीवनसाथी पर्छन् । आमाले आफ्ना हरेक सुख दुःख भुलेर आफ्ना सन्तानको खुशीकोे लागि जे पनि गर्न तयार हुन्छिन् । जीवनसाथी पनि श्रीमान्का लागि आफ्ना आफन्त इष्टमित्र सबैसँगको माया ममता भुलेर नयाँ जिन्दगीको सुरुवात गर्न आएकी हुन्छिन् । यस्तै लाग्ने गर्छ मोतीप्रसाद कँडेललाई पनि । जसरी रथ चलाउन दुई प्रांगाको आवश्यकता पर्छ त्यस्तै जीवन चलाउन पनि जीवनसाथी अपरिहार्य नै हुन्छ । कँडेल भन्छन्, ‘जीवनमा विवाह नगरेरै बस्छु भन्नेहरूले पनि बुढेसकालमा विवाह गरेका हुन्छन्, किनकी जीवनसाथीको अभाव त्यतिबेला खट्किन्छ जति बेला मान्छे वृद्ध अवस्थामा पुग्छ ।’ जीवनको अन्तिम घडीसम्म साथ दिने भनेको मात्र जीवनसाथी हुन् ।
मोतीप्रसाद कँडेल सल्यानमा जागिर गर्दै थिए । घरमा उनको विवाह गरिदिने कुरा चल्यो । उनी बिदा मागेर घर आए । कँडेललाई उनकी आफन्त सानीमाले आफ्नी भदैनीलाई देखाउन लगिन् । कँडेल पनि घरपरिवार र आफन्तसँगै केटी हेर्न सुर्खेतको करैखोलामा गए । उनी हेर्न गएको केटी अरु कोही नभएर पवित्रा थिइन् । केटा र केटीको देखाभेट त भयो तर एकअर्काेमा बोलचाल भने भएन । त्यतिबेलाको समयमा दुई परिवारले छोरा र छोरीको विवाहको लागि कुरा छिनी सकेपछि केटाकेटीले त्यसैमा सहमति जनाउनुपथ्र्यो । पवित्राले पहिला त बिहेको लागि राजी भइनन् । उनकी फुपुले गाली गरिन् छोरी मान्छे भएपछि एकपटक त बिहे गर्नैपर्छ फेरि केटा कूल घरानको हो भनेपछि पवित्रा बिहेको लागि राजी भएकी थिइन् । कँडेल र पवित्राले पनि आ–आफ्ना घरपरिवारको रोजाइमा सहमति जनाए ।
दुई परिवारको सहमतिमा उनीहरूको २०४० सालमा मागी विवाह भयो । विवाह भन्दा अगाडि कँडेल र पवित्राको बोलचाल नै थिएन । विवाह गरेको तीन दिनमा नै कँडेल आफ्नो जागिरमा गइहाले ।
पिता शशीधर कँडेल र माता लिलावती कँडेलको कोखबाट २०२० सालमा दैलेखमा जन्मिएका मोतीप्रसाद कँडेलको बाल्यकाल पढाइ, घाँस दाउरा र मेलापात गर्दैमा बित्यो । दैलेखमा जन्मिएका कँडेलको बाल्यकाल भने सुर्खेतमा नै बित्यो । पढाइदेखि मेला पात, घाँस दाउरा गर्नुपथ्र्यो । बाल्यकालदेखि न समाज सेवामा लाग्नुपर्छ भन्ने स्वभावका कँडेल सानैदेखि अरुलाई मद्दत गर्नेगर्थे । कक्षा सातसम्म भैरवस्थानमा पढेका कँडेलले कक्षा १० सम्म भने जन माविबाट पास गरे । कक्षा १० सम्म पढेका कँडेलले पढाइलाई रोकेर समाजसेवामा लागे । उनले समाज सेवा गर्ने माध्यम राजनीतिलाई बनाए । उनी २०३३ सालदेखि राजनीतिमा प्रवेश गरे । समाजसेवा गर्ने सोचका साथ उनी राजनीतिमा प्रवेश
गरे । अहिले उनी स्थानीय तहको निवार्चनबाट वीरेन्द्रनगर–६ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
विवाहपछि कँडेल आफ्नो जागिरमा, पवित्रा भने घरमा बसिन् । पवित्राको लागि नयाँ घर, नयाँ नाता सबै कुरा आफ्ना बनाउनुपर्ने थियो । त्यसमा श्रीमान्को साथ विना नै गर्नुपर्ने थियो । विवाहपछि छोरीलाई बुहारीको भूमिका निभाउन धेरै गाह्रो हुनेगर्छ । हरेक छोरीहरूको लागि विवाहपछिको पाएको जिन्दगी फेरि नयाँ जन्म भए जस्तै हुन्छ । आफ्नालाई पराइ बनाउँदै पराइलाई आफ्ना बनाउने कोशिस गर्दैमा जिन्दगी बित्ने गर्छ । आफ्नो सुखी भन्दा परिवारको सुखी कसरी बनाउने भन्दैमा जीवन बित्ने गर्छ ।
छोरी र बुहारी हुनुमा धेरै फरक हुन्छ । तर पवित्रालाई भने छोरी हुँदा र बुहारी हुँदाको नौलो अनुभव त्यति भएन । घरपरिवारमा श्रीमान् टाढा हुँदा पनि उनले सबैको माया ममता धेरै पाइन् । त्यसैले पनि होला उनलाई घरमा घुलमिल हुनलाई धेरै समय लागेन । कँडेल विवाह गरेको ६ महिनामा जागिर छोडेर घर फर्के । त्यसपछि मात्र उनीहरूको माया झाँगियो । एकअर्काेलाई चिन्ने मौका पनि उनीहरूको बिहेपछि नै पाए । त्यस समयमा श्रीमान् श्रीमती समाजको अगाडि नजिक बसे र बोलेको देखे भने पनि कुरा काट्ने चलन थियो । उनीहरू भन्छन्, ‘पहिला अहिलेको जस्तो थिएन, श्रीमान् श्रीमती अरुको अगाडि बोल्न पनि हुन्थेन समाजले कुरा काटी हाल्थ्यो ।’ त्यसैले पनि एकअर्काेको नजिक हुनलाई त्यस समयमा यो जोडीलाई अलि गाह्रो भयो ।
पीता लक्षीराम लामिछाने र माता मोहनकला लामिछानेको कोखबाट २०२३ सालमा दैलेखमा जन्मिएकी पवित्राको बाल्यकाल पनि रमाइलोसँग बित्यो । त्यस समयमा छोरीलाई पढाउनुपर्छ चलन थिएन । छोरीलाई पढायो भने अर्काेको घर जाने जात हो किन पढाउने हो र ? भन्ने संस्कारले पवित्रालाई पनि बाध्यो । छोरीलाई पढाउनु हुन्न भन्ने समाजमा हुर्किएकी पवित्राको बाल्यकाल पनि पढाइको सट्टा घाँस, दाउरा, मेला पात र घरको चुलो चौकोमा नै बित्यो । छोरी भनेका त घरका गहना हुन् बाहिर जानु हुँदैन भन्ने संस्कारभित्र पवित्रा पाि परिन् । पवित्राको स्वभाव भने बाल्यकालदेखि नै अलि बढी धर्म कर्ममा लाग्ने र विश्वास गर्ने गर्थिन् । गाउँमा जा पूजा लगाए पनि उनी त्यो ठाउँमा पुगी हाल्थिन् ।
यो जोडी एकआपसमा त्यति धेरै नजिक हुन पाएनन् । त्यसैले पनि यो जोडीको एकआपसमा झगडा पनि कहिल्यै भएन । उनीहरू भन्छन्, ‘झगडा हुनलाई त एकअर्को बीचमा धेरै नजिक हुनुपर्छ अर्काे कुरा जति धेरै एकले अर्कोलाई नजिकबाट बुझ्यो त्यो जोडीको नै झगडा हुने हो हामी त्यसरी कहिल्यै नजिक भएनौं त्यसैले झगडा पनि भएन ।’ समाज र बुबाआमाको डरका कारण पनि यो जोडी एकआपसमा नजिक भएनन् । कँडेल आफ्नै काममा व्यस्त पवित्रा घरको काममा व्यस्त हुन्थे । काम विशेषले मात्र बोल्ने चलन थियो । श्रीमान्को नाम भनेर बोलाउनु हुँदैन भन्ने चलन थियो । श्रीमान्को नाम लिएर बोलाए पाप लाग्छ भन्ने चलनले पवित्राले कहिल्यै कँडेललाई नाम भनेर बोलाइनन् ।
बिहेपछि यो जोडीसँगै घुम्न कहिल्यै गएनन् । तर पछिल्लो समय भने यो जोडी कहिले काहीं घुम्न जाने गर्छन् । उनीहरू भन्छन्, ‘त्यस समयमा जन्म दिन, विवाह वर्ष मनाउने चलन थिएन । लाज मान्थ्यौं, हामी त अहिले पनि मनाउँदैनौं ।’ यो जोडीले एकअर्काेको जन्म दिन र विवाह वर्ष मनाएका छैनन् । तर छोरा–छोरीको जन्म दिन भने मनाउने गर्छन् । उनीहरू एकअर्काेको प्रसंशा भने खुलेरै गर्छन् । कँडेललाई पवित्राको घरव्यवहार सबै आफै चलाउने, घरमा जति बेला पाहुँना आए पनि खाना बनाएर खाना खुवाउने र कँडेललाई समाजसेवा गर्नका लागि प्रेरित गर्ने, प्रतिवाद नगर्ने र कमजोरीलाई समाधानतिर लैजाने बानी मनपर्ने गर्छ । त्यस्तै पवित्रालाई पनि कँडेलको खाना खाने समयमा जे पकाए पनि मिठो मानेर खाने र शान्त रहने बानी मनपर्ने गर्छ ।
यो जोडीका अनुसार जीवन भनेको अपार चिज हो । जीवन एउटा शक्ति हो । जुन शक्ति हुने समयसम्म सबै डराउँछन् । जीवन तीन चरणमा पार हुने गर्छ । पहिलो बालापन दोस्रो यौवन अवस्था र अन्तिम अवस्था भनेको वृद्ध अवस्था हो । जीवन उकाली र ओरालो बीचको संगम पनि हो । उकालो चढेपछि ओरालो पनि झर्नैपर्छ । जीवन पनि त्यस्तै हो । बाल्यकाल, युवा हुँदै वृद्ध अवस्थामा गएर जीवन समाप्त हुन्छ । उनीहरू भन्छन्, ‘समाजमा सफल र उदाहणीय जोडीको रूपमा आफूलाई स्थापित गराउन पहिला आफ्नो घरमा शान्ती ल्याउन जरुरी छ ।’
साझा बिसौनी संवाददाता ।