खासा यात्राका केलाजहरू
हिजो नै सोमालियाको राजधानी मेगादुसुमा ओलाम्पिक प्रतियोगिता भइरहेको स्थानमा मुस्लिम आतंकवादी समूह आइएसआइले आत्मघाती बम विष्फोट गराउँदा खेलाडी र अन्य अधिकारी गरी सात जनाको मृत्यु भयो । अमेरिकाले ती आतंकवादीहरूमध्ये एक जनालाई पक्राउ गर्नेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । पाकिस्तानमा लस्करे तोइवाले यसलाई हाँस्यास्पद भनि विज्ञप्ती जारी गरेको छ । मलाई शक्ति अतिवाद र धार्मिक अतिवाददेखि घिन लागेर आउँछ । हिजो राती नै झापामा अज्ञात समूहद्वारा पत्रकार यादव पौडेललाई हत्या गरिएको छ । हत्यारालाई तत्काल कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले विरोध कार्यक्रम राखेको छ ।
निरंकुश सामन्ती राणा शाहीकालमा पत्रकारहरूले खुला रूपमा सूचना सम्प्रेशण गर्न त पाएनन्, पुनः बहुदलीय व्यवस्था प्राप्त भए पनि २०५१ सालपछिको द्वन्द्वको श्रंखला झनै जोखीमपूर्ण रह्यो, जुन नेपालका पत्रकारहरूले झेल्नुप¥यो । २०६३ को संयुक्त जनआन्दोलन–२ पछि निरंकुशता चाहने राजतन्त्र अन्त्य भए पनि सामन्ती तानाशाही संस्कृति अन्त्य हुन सकेन । जसले गर्दा पत्रकारहरूको हत्या हुँदै आएको छ । यसको विरोधमा आव्हान गरिएको आन्दोलनमा जान मन थियो । तर त्यही दिन चीनको खासा जाने कार्यक्रम जुध्यो । लामो समयदेखि खासा जाने मनसुवा भएकोले विरोध कार्यक्रममा आउन नसक्ने कुरा पत्रकार महासंघका राष्ट्रिय अध्यक्षलाई बेलुका नै जानकारी गराएँ ।
२०६८ साल चैत्र २३ गते । एकाबिहानै ललितपुरस्थित केशव सिंहको डेराबाट हिँडे । मलाई यात्राका लागि बाटो खर्चको जोहो गर्नुथियो । झोलामा आफ्ना सिर्जना राखेर सुर्खेतको सिम्ता घर भएको पृथ्वीबहादुर सिंह नामको होचों, ठीक्क मोटो मनुवा खासा जाने मनसुवोल माइतीघर मण्डेलाबाट जुगल यातायातको बाह्रबिसे बसमा चढ्यो ।
…
यही वर्ष प्रकाशित मेरो कृति काठमाडौं उपत्यमा रहेका राष्ट्रियस्तरका मुख्य पुस्तकालय तथा अभिलेखालयमा रेकर्डको लागि दिन १२ चैत्रमा सुर्खेतबाट काठमाडौं आएको थिएँ । बागमती अञ्चलका सबै जिल्लाको अध्ययन अवलोकन गरिसकेकोले यसपटक सिन्धुपाल्चौक अवलोकन गर्ने इच्छा पनि पूरा गर्नु थियो । बसन्त ऋतुमा पालुवा पलाउन लागेको जस्तो मन लहलह भएर आयो । म प्रायः गाडी यात्रामा पुस्तक वा पत्रिका पढेर समय बिताउँछु । यदि नयाँ स्थानको यात्रा भए बाहिरी वातावरण नियाल्ने गर्दछु ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउबाट बस जानैलाग्दा वोइङ जहाजले खुट्टा छोडेर उठ्ने–बस्ने गरेको देख्दा मन बाउँडिएर आयो । यही ठूलो जहाजले मेरो देशका लाखौं युवायुवतीहरूलाई भाडामा मजदुरी गर्न लैजाने ल्याउने गर्दछ । युवा जनशक्तिलाई श्रम बेच्ने लाइसेन्स दिएर उनीहरूले कमाएको रेमिटेन्सबाट देश निर्माण गर्ने सपना बोकेका छन् हाम्रा राजतिज्ञले । हावरफास्टले भने जस्तै ‘तिमी एउटा प्राकृतिकको डीलमा उभिएका छौं त्यही खोज सम्पती त्यहीं छ ।’ हाम्रा राजनीतिज्ञहरूले जैविक विविधताले भरिएको अनेकौ स्रोत साधनको उपयोग गरी मुलुकलाई आत्मानिर्भर बनाउने सपना कहिले कोर्न सक्लान् ? युवायुवतीहरूले श्रम शक्ति स्वदेशमा खर्चेर सुन्दर फूलले कहिले सजाउलान् ? आजका युवायुवती बोक्ने बोइङ जहाजले पर्यटक ल्याउने र यताको उत्पादन उता लैजाने गन्तव्य बनाउलान यो अन्तर्राष्ट्रिय विमानस्थललाई ? मनमा यस्तै सोच्दै थिएँ । बिहानको सितलताले छोएपछि निदाए छु । काभ्रेप्लाञ्चोक धुलिखेल पुगेपछि निद्राबाट ब्यूँझिएँ । म जहिले पनि धुलिखेल पुग्छु, त्यहाँबाट उत्तरमा देखिने चाँदी जस्तो हिमाली, पहाडी श्रृंखलाहरूको दृश्यले आलादित हुन्छु र धित मारेर नियाल्छु । आज बसबाटै प्रकृतिलाई नमन गर्दै नियाल्दै ओरालो लागें । सडक वरिपरि बसन्त ऋतुमा बनमा पलाएका पालुवा गाउँबस्ती मन अघाउने गरी हेर्दै दोलालघाट पुगियो । बस यहिँ चिया खाजा खान रोकियो । म भने दोलालघाटको पुलमा गएर रमेश विकलको अविरल बग्छ इन्द्रावती तिर्खा मर्ने गरी चियाएँ । साँच्चै नै बग्दो रहेछ अविरल इन्द्रवती । इन्द्रावती नास्ता पसलमा खाना खाएँ । यजस्वी यायावर हईङसाङ, राहुल सास्कृत्ययन जसले यात्राको इतिहास संसारलाई दिएर गए । त्यस्ता विशुद्ध यात्रा नितान्त निरुउद्देश्य यात्रामा सम्भव हुन्छ जसमा यात्रीको एकमात्र लक्ष्य हुन्छ यात्रा र फगत यात्रा भन्ने मान्दछन् यात्रा साहित्यका रसासिद्ध सर्जक र रसज्ञ सुधिरहरू ।
अतः मलाई हतारको यात्रा मन पर्दैैन । सरासर खासा जाने हो भने मैले फेरि कहिले हेर्ने चौतारा ? कहिले कसरी के कार्यक्रम पाएर साक्षात्कार गर्ने मैले त्यहाँको धर्ती र प्राकृतिसँग ? अनि कहिले कहाँ आत्मसात् गर्ने मैले त्यहाँको जनजीवनलाई ? सामाजिक, सांस्कृतिक, भाषिक, साहित्यिक, इतिहास, भुगोल विकास निर्माणलाई । त्यसैले बाह्रबीसे जाने बस छोडेर चौतारा जाने बस समातेर उक्लिएँ । मेरो यात्रा खासासम्म भए पनि सिन्धुपाल्चौक सदरमुकाम चौतारा पनि घुमेर जाने इच्छा भएकोले बनदेउबाट बस बदलेर चौतारातिर लागें । उकालो बाटो मानेगाउँसम्म तिर्खा मर्ने गरी इन्द्रावतीको अविरल यात्रा हेरें । यहाँको बसको यात्रा पनि छतमा बसेर हाम्रोतिर जस्तो रहेछ । ११ बजे सदरमुकाम चौतारा पुगें र चौतारा गेष्ट हाउसमा गएर खाना खाएँ ।
खासा जान हिँडेको मान्छे चौतारा किन लागेको होला ? भन्नुहोला तपाईंहरू । कारण छ । १० वर्ष लगाएर भए पनि, किस्ताबन्दीमै भए पनि पूर्वमेचीदेखि पश्चिम महाकाली, हिमालदेखि सागरसम्मका केही भू–भागहरू छिचोलेको यसपटक सिन्धुपाल्चौक धर्तीमा टेकेर कोशीको दृश्य हेर्दै धित मारेर तातोपानीमा नुहाएर थप अनुभव हासिल गर्नुथियो ।
मित्रहरू यस्तै छु म । अलिकति घर छोडेर यात्रा गएको मेरो गन्तव्यको टुंगो प्रायः मैसित पनि हुँदैन । पाइलाहरूले जताजता डोराउँछन् मेरो यात्रा त्यतै–त्यतैतिर हुन्छ । जहाँ पुगेर पाइलाहरूले विश्राम लिन्छन्, त्यही नै हुन पुग्छ मेरो गन्तव्य । उद्देश्य भित्र उद्देश्य, निरउद्देश्य भित्र पनि उद्देश्य र निरर्थकतामा पनि अर्थ खोज्न हिमाल, पहाड, फाँट, तालतलैया, खण्डहर भौंतारिनु, लखर्किनु, अझै खोला–नदीको मुहान पुग्नु धुइँपातल गरी पाइतला खियाउनुको मजा बेग्लै हुन्छ । र, त्यो अनुभूतिको विषय हो कहाँ सकिन्छ र त्यसलाई जस्ताको त्यस्तै शब्दमा अभिव्यक्त गर्न ? मलाई हरेक यात्रामा थप चाहना हुन्छ, म जीवनमा यसैगरी अवोध र अविश्रान्त हिँडिराखुँ कस्तुरी भएर । मृग भएर आफैलाई पछ्याउँदै, सरस्वती भएर हृदय विणाका तारहरू झंकृत पार्दै । यायावरी यात्राको अन्त्य जीवनमा कहिले नहोस् बरु जीवनको अन्त्य पनि यस्तै यात्रामा नै होस् ।
(यो यात्रा संस्मरणको सात वटा ऋंखला प्रकाशित हुनेछ, हरेक शनिवार)
साझा बिसौनी ।