अब ताल विस्तार गर्ने तयारी
सुर्खेत, ५ असोज ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानले विस्तारै मुहार फेर्न थालेको छ । सदरमुकामको केन्द्रमा भए पनि आवश्यक विकास तथा संरक्षणको अभावमा कुरूप हुँदै गएको उद्यानलाई पछिल्लो समय सिंगार्न थालिएको हो । उद्यानको विकासका लागि सामाजिक संस्थाहरू पनि सक्रिय भएपछि विस्तारै उद्यानको सुन्दरता बढ्दै गएको छ ।
पछिल्लो समय बुलबुले उद्यानभित्र पार्क निर्माण गरिएको छ । यस्तै प्रतिक्षालय र बाल उद्यान पनि निर्माण भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले उद्यानभित्र शान्ति बाटिका निर्माण गरेपछि पर्यटकका लागि नयाँ आकर्षण थप भएको हो । शान्ति बाटिकामा बुद्धको मुर्ती स्थापना, प्रतिक्षालय स्थापना र बालबालिकाको लागि उद्यान बनाइएको छ । यसले बुलबुले उद्यानको सुन्दरता बढाएको हो । शान्ति बाटिका स्थापना भएसँगै बुलबुले उद्यान पर्यटकका लागि केही मात्रामा भए पनि हेर्न लायक बनेको छ ।
जिल्ला वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्रले शान्ति बाटिका निर्माण गरेको हो । करिब आठ लाख रूपैयाँ खर्चेर निर्माण भएको बाटिकाको बिहीवार उद्घाटन गरिएको हो । उद्यानभित्र हाल पार्क र बाटिका निर्माण भए पनि अब ताललाई पनि विस्तार गरिनेछ । उद्यानको मुख्य आकर्षण ताल लामो समयदेखि संरक्षणको अभावमा रहेको छ । तालको विस्तारका लागि वीरेन्द्रनगर नगरपालिका र उपत्यका नगरक विकास समितिले अब काम गर्नेछन् । वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, ‘यो वर्षमा नै तालको विस्तार हुनेछ, ताललाई फराकिलो र आकर्षक बनाउने छौं । यसका लागि हामीले बजेट विनियोजन गरेका छौं, पर्यटन मन्त्रालयमा पनि प्रक्रिया अगाडि बढेको छ ।’
अब बुलबुलेमा नुहाउने कार्यलाई बन्द गरिने भन्दै मेयर सुवेदीले उद्यानको समग्र विकासमा नगरपालिकाले सहयोग गर्ने बताए । उद्यान वरिपरिको क्षेत्रका पर्खाल लगाउन टेण्डर भइसकेकाले केही समयमा नै बुलबुले हेर्न लायक हुने उनको भनाइ छ । पर्यटकीय क्षेत्रहरू काँक्रेविहार र देउती बज्यैको विकासका लागि पनि नगरपालिकाले योजना बनाइसकेको उनले जानकारी दिए । बुलबुले उद्यानका संयोजक श्याम कँडेलले अबको एक वर्षभित्र बुलबुलेको मुहार बदलिने दाबी गरे । उद्यानभित्र विकास र निर्माणको काम भइरहेकाले अब यसको सुन्दरता बढ्ने उनले बताए । उनले भने, ‘अब नाम मात्रको बुलबुले होइन, हामी लोभलाग्दो र हेर्न लायक बनाउँदै छौं । सबैको सहयोग चाहिन्छ, अब बुलबुलेको विकास रोकिदैन ।’
शान्ति बाटिका निर्माण समितिका संयोजक ललित भट्टराईले तालको विस्तार र संरक्षण भएमा पर्यटकको संख्या बढ्ने बताए । यस्तै जिल्ला वन अधिकृत हेमराज विष्टले बुलबुले उद्यान यो प्रदेशकै नमूना र आकर्षक पर्यटकीय स्थल हुने बताए । आफूहरूले उद्यानभित्र विभिन्न बहुमूल्य बिरुवाहरू रोपेको भन्दै उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे । बाहिरबाट हेर्न आउने पर्यटकलाई बुलबुलेले सन्तुष्ट बनाउन सक्ने गरी यसको विकास हुनुपर्ने उनको सुझाव छ । यसका लागि स्थानीय सरकार र बासिन्दाको भूमिका महŒवपूर्ण हुने उनको भनाइ छ । बुलबुले जिल्लाको महत्वपूर्ण गहना भएको भन्दै यसको विकास र संरक्षणका लागि राजनीतिक दलहरूले कुनै कसर बाँकी नराख्ने कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मी बनाउँछन् ।
‘पर्यटनको विकासमा दलहरू एकमत छौं, बुलबुलेको विकासमा सामूहिक रूपमा अगाडि बड्ने छौं’ रेग्मीले भने, ‘पर्यटन नै विकासको आधार हो, यसले जिल्लाको परिचय दिएको छ । उद्यानभित्र विभिन्न अपराध पनि हुन्छन्, बरु अब यहाँ प्रहरीविट आवश्यक छ ।’ उद्यानको संरक्षण र पर्यटकको सुरक्षाका लागि पनि उद्यानभित्र प्रहरीविट चाहिने उनको भनाइ छ । यस्तै प्रदेश ६ प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले स्थानीयको माग र आवश्यकता अनुसार बुलबुलेमा प्रहरीविट राख्न तयार रहेको बताए । उनले आफ्नो तर्फबाट यसको व्यवस्थापनका लागि सहयोग गर्ने वचन दिए । बुलबुलेको विकास र विस्तारका लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै उनले उद्यानभित्र वृक्षारोपण र सुरक्षाका लागि प्रहरीले साथ दिने प्रतिबद्धता जनाए । उनले पनि अब तालको विस्तार गरेर हेर्न लायक बनाउनुपर्ने बताए ।
साझा बिसौनी संवाददाता ।