‘जिम्मेवारी युवाहरूको काँधमा’

सुर्खेत, ५ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलसमशेर राणाले राष्ट्र बचाउने जिम्मेवारी युवाहरूको काँधमा आएको बताएका छन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र युवा मोर्चाको संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


नेपालगन्ज उप–महानगरपालिकाको प्रमुख समेत रहेका राणाले मुलुकलाई हरेक संकटबाट जोगाउने जिम्मेवारी युवाहरूको हुने बताए । यसका लागि सबै देशभक्त र राष्ट्रिवादी युवाहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो । राणाले आफ्नो पार्टीलाई सिध्याउने खेल भइरहेको भन्दै सचेत हुन युवा संगठनका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । ‘हाम्रो पार्टीलाई कमजोर बनाउन तथा हाम्रो एजेण्डा सनातन हिन्दु राष्ट्र नेपाल र संवैधानिक राज संस्थालाई समाप्त पार्नका लागि विभिन्न किसिमका भ्रमहरू फैलाइएको छ’ उनले भने, ‘यस्ता भ्रम समाप्त पार्न युवाहरूलाई अग्रसर हुन अनुरोध गर्दछु ।’
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सुर्खेतको संयोजकामा राजन गिरी चयन भएका छन् । संगठनको बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले गिरीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । संगठनको सहसंयोजकमा
सुरज विक र मनिस गहतराज, सचिवमा राजन शाही, सहसचिवमा सोनु कार्की र कोषाध्यक्ष निर्मल भेदी चयन भएका छन् ।
सोही भेलामा राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको समेत तदर्थ जिल्ला कार्य समिति गठन भएको छ । मोर्चाको जिल्ला संयोजकमा लोकबहादुर रोकाय चयन भएका छन् भने सहसंयोजकमा निराजन बुढा, अर्जुन बुढा र सुशील भरती चयन भएका छन् । त्यसैगरी युवा मोर्चाको सचिवमा सौरभ सिंह, सहसचिवमा नगेद्र थापा र कोषाध्यक्षमा सुशील खत्री चयन भएका छन् ।
भेलामा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ६ का संयोजक मुकुन्दश्याम गिरी, आमन्त्रित केन्द्रीय सदस्य भद्रबहादुर शाही, भरतप्रसाद ढकाल, जिल्ला उपाध्यक्ष ईश्वर श्रेष्ठ, छत्रपति थापा, अमृत राना, जिल्ला सदस्य तथा सञ्चार प्रतिनिधि प्रेम विसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष मानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ६ आश्विन २०७४, शुक्रबार १६:०१