गाउँका विवाद गाउँमै समाधान

गुर्भाकोट, ५ असोज ।
नगरपालिकाले मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएपछि गाउँका विवाद गाउँमै समाधान हुन थालेका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले सञ्चालन गरेको मेलमिलाप केन्द्रमार्फत् हालसम्म एक हजारभन्दा बढी विवाद समाधान भइसकेको छ ।
मेलमिलापकर्ताहरूमार्फत् गाउँका विवाद गाउँमै समाधान हुन थालेपछि सानातिना मुद्दाहरू मेलमिलाप केन्द्रमा नै दर्ता हुने क्रम बढेको छ । गुर्भाकोट नगरपालिकामा पर्ने साविकका घुमखहरे, सहारे र मेहेलकुना गाविसका मेलमिलाप कर्ताहरूको सक्रियताले गाउँमै विवाद समाधान हुन थालेका हुन् । यहाँका मेलमिलापकर्ताले हालसम्म एक हजार दुई सय ४६ वटा विवाद समाधान गरिसकेका छन् । मेलमिलाप केन्द्र सहारोका संयोजक लोकेन्द्र वलीले गाउँघरमा विभिन्न कारणले विवादहरू भइरहने भन्दै त्यसलाई समाधान गर्न मेलमिलाप केन्द्र प्रभावकारी भएको बताए ।
यसैबीच गुर्भाकोटका सामुदायिक मेलमिलापकर्ताहरू र सरोकारवाला निकायहरू बीचको एकदिने अन्तरक्रिया कार्यक्रम बिहीवार मेहेलकुनामा सम्पन्न भएको छ । कार्यक्रममा तनहुँका मेलमिलापकर्ताहरूसँग अनुभव आदान–प्रदान पनि गरिएको थियो । साविक घाँसीकुवा गाविस रहाल व्यास नगरपालिका–१२ तनहुँका मेलमिलापकर्ताहरूको आयोजना र गुर्भाकोट नगरपालिका सुर्खेतको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
गुर्भाकोट नगरपालिका सुर्खेत र व्यास नगरपालिका–१२ तनहुँका मेलमिलापकर्ताहरूले स्थापनाकालदेखि हालसम्म सम्पन्न गरेका गतिविधिहरूका बारेमा सरोकारवालाहरूबीच छलफल भएको थियो । सरोकारवालाहरूले मेलमिलापकर्ताहरूले आगामी दिनमा गर्नुपर्ने भूमिकाका बारेमा सुझाव समेत दिएका थिए । आगामी दिनमा मेलमिलाप केन्द्रले कसरी काम गर्ने भन्ने विषयमा सरोकारवाला निकायहरूबाट सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको व्यास नगरपालिका–१२ तनहुँ घाँसीकुवाका मेलमिलापकर्ता विद्या खनालले जानकारी दिइन् । देवयानी प्रवृत्तिका विवादहरू समाधान गर्दै आएको र व्यास नगरपालिका–१२ घाँसीकुवा तनहुँका मेलमिलाप केन्द्रले स्थापना भएयता हालसम्म तीन सय वटा विवाद समाधान गरेको, विवाद समाधानका अतिरिक्त विभिन्न कार्यक्रमहरू गरिएको उनले जानकारी दिइन् ।
गुर्भाकोट नगरपालिकाका उपप्रमुख एवम् गुर्भाकोट नगरपालिका सुर्खेतका न्यायिक समिति संयोजक मैना विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जसमा गुर्भाकोट नगरपालिका–८ का वडा अध्यक्ष चित्रबहादुर रेग्मी, गुर्भाकोट नगरपालिकाका कार्यकारी अधिकृत टेकबहादुर खत्री लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाका कार्यकारी अधिकृत टेकबहादुर खत्रीले जनप्रतिनिधिविहीन अवस्थामा पनि सामुदायिक मेलमिलापकर्ताहरूले स्थानीयस्तरमा गाउँघरमा हुने सानातिना देवयानी प्रकृतिका विवादहरू समाधान गरेर महŒवपूर्ण योगदान पु¥याएको बताए । अहिले जनप्रतिनिधिहरू आइसकेको अवस्थामा मेलमिलाप कर्ताहरूलाई कसरी स्थापित गर्ने र मेलमिलापकर्ताहरूको अबको भूमिका कस्तो हुने भन्ने विषयमा आफूहरू गम्भीर भएको उनको भनाइ थियो ।
स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका नआइसकेकाले मेलमिलाप केन्द्रले कसरी काम गर्ने भन्ने बारेमा अझै जानकारी नभएको उनले जनाए । यद्यपि अबका दिनमा पनि मेलमिलापकर्ताहरू र जनप्रतिनिधिहरू बीच समन्वय गरी नगरपालिकामा गठित न्यायिक समितिले काम गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   ६ आश्विन २०७४, शुक्रबार १५:५९