‘हरिलाल गिरीका कविता’को समीक्षा
कविवर हरिलाल गिरीका कविताहरूको संगालो ‘हरिलाल गिरीका कविता’ केही समयअघि बजारमा आइपुगेको छ । यी काव्य सिर्जनाहरू बजारमा आइपुग्नुको ठीक एक वर्ष अघि हिउँदे याममा उनले यस गोधुँली संसारबाट विदा लिइसकेका छन् । अब उनी हाम्रा बीच काव्यकृतिका माध्यमबाट जिवित छन् र अजरअमर छन् ।
कवि गिरी तीसको दशकदेखि सुर्खेती कला, साहित्य र रंगमञ्चमा देखा परेका प्रतिभाशाली स्रष्टा हुन् । भलै उनका यी कविताहरूमा रचनाकालको कुनै तिथिमिति दिइएको छैन तर पनि यी कविताहरूमा आफ्नो यौवनावस्थाका कतिपय सुनौला क्षणहरूको सम्झना प्रतिविम्बित भएको छ । कविताहरू सर्सती हेर्दै जाँदा सुरुमा मेरो बेग्लै प्रकारको धारणा बनेको थियो तर समयाभावले एक दुई महिनासम्म त्यसमा लेख्ने अवसर नमिल्दा पछि फेरि मेरो अवधारणाको मूल भाव नै परिवर्तन भयो । त्यसैले गर्दा पत्रिकाले मागेको समयमा मैले समीक्षा उपलब्ध गराउन सकिन र आज फेरि आद्योपान्त रूपमा प्रस्तुत कवितासंग्रहलाई अध्ययन गर्ने मौका पाएँ । कवि गिरीलाई आजको समसायिकताका सन्दर्भमा मात्र नहेरेर ऐतिहासिक पृष्ठभूमिका आधारमासमेत मूल्याङ्कन गर्नुपर्दछ भन्ने धारणा बनेकाले यो समीक्षा तयार गर्न केही समय विलम्ब भयो र यसका लागि सामग्री सङ्कलनका लागि समेत थप समय मिल्यो ।
कवि गिरीका बारेमा पर्याप्त कुराहरू यस काव्य कृतिमा जसरी आउनुपथ्र्याे त्यसरी आएको छैन । समयको चाप, अध्ययनको अभाव वा हतार र हडबडीले पनि हुनसक्छ । उनका ऐतिहासिक देनहरूप्रति मन्तव्यमा कतै पनि चर्चा भएको छैन । अब उनी छैनन्, तसर्थ उनका बारेमा भन्नुपर्ने कुनै कसर पनि बाँकी रहनु आवश्यक छैन भन्ने मलाई लाग्दछ । तसर्थ उनका सन्दर्भमा कविवरकै समवयीहरूले नै बढी जान्दछन् र उनीहरू मध्ये
उप–प्राध्यापक महेन्द्रप्रसाद गिरी, कविवर ऋषिप्रसाद थानी, वरिष्ठ कलाकार प्रेमदेव गिरी, प्रा.डा. जीवेन्द्रदेव गिरी, राजनीतिज्ञ बालाराम शर्मा, प्रमाप्रसाद थानी लगायतले नै बोल्नुपर्ने हुन्छ तर मैले उनका बारेमा भन्नु पर्दा विक्रमको छत्तीस सालतिरकै सेरोफेरोबाट विषयवस्तुको उठान गर्नु पर्दछ भन्ने लाग्दछ । विक्रमको पैंतीस–छत्तीसको समय नेपाली समाजको संक्रमणकालीन समय थियो । त्यसबेलाका परिदृश्यहरूलाई नजिकबाट दर्शक वा भावकको आँखाले हेर्ने गर्दा समेत पनि हामीले धेरै कुराहरू पाउन सक्दछौं । पञ्चायती व्यवस्थाको चरम दमन र विद्रोहको पूर्वाध चरण भएकाले कवि हरिलाल गिरी त्यसबेला विद्रोहको अगुवाइ गर्ने एकजना कर्मठ युवा थिए । २४÷२५ वर्षको युवा जोश, जाँगरका साथ उनी रङ्गमञ्चीय पर्दामा देखापर्थे र हामी जस्ता किशोरहरूलाई आफ्ना भावपूर्ण नाटकीय कार्यव्यापारका परिदृश्यमा कैद गर्न पुग्थे । उनले रङ्गमञ्चमा प्रस्तुत हुँदाका दृश्यहरू निकै आकर्षक, करिष्मादायी तथा भावोत्तेजक हुन्थे । हामी ती दृश्यहरू हेर्न टाढा–टाढाबाट उनका गाउँसम्म पुग्थ्यांै । ‘जनताका शत्रु’, ‘रातो रगतको प्रतिज्ञा’ तथा ‘गंगालालको चिता’ जस्ता नाट्यकृतिमा अभिनय गर्ने क्रममा उनले तत्कालीन स्थानीय प्रशासनको पनि खप्की सहनु परेको छ । उनले सयौं–हजारांै दर्शकलाई आफ्ना अभिनयबाट मन्त्रमुग्ध गर्थे र त्यसले मानिसहरूमा पञ्चायती व्यवस्थाप्रति एउटा गहिरो वितृष्णा भाव पैदा गरिदिन्थ्यो र त्यसको सिधा असर पञ्चायती व्यवस्थाका कट्टर समर्थकहरूलाई पर्न जान्थ्यो । यसप्रकारको नाट्यअभिनय शिल्प भएका कवि गिरी आफ्नो प्रतिभाको भरपुर प्रयोग गर्न एवम् अभ्यास गर्न नपाउँदै जागिरे जीवनमा प्रवेश गर्दछन् र उनको अभिनय कला नेपथ्यमै हराउन पुग्दछ तर पनि आफ्नै भाव, शिल्पशैली र लहडी स्वभावमा भने भित्रैदेखि उनी लागि परेका रहेछन् भन्ने सङ्केत प्रस्तुत काव्य कृतिले झल्काएको छ ।
कविले आफ्ना कवितामा जन्मभूमिप्रतिको अगाध स्नेह पोख्दै त्यसप्रति गहिरो छाप बसेको भाव झल्काएका छन् । उनी ‘कटकुवा’ शीर्षकको कवितामा भन्छन् ः
सुन्दर शान्त एकान्तभूमि यो मनै मुग्ध गर्दछे
पवित्र वन कुसुम तरु लहरा गर्भैभित्र धर्दछे
न्याउली स्वर भाकी बोलाउँदा कोइली को हो भन्दछे
मयूर पङ्ख फिँजाइ नाचिरहँदा चिबेचरी गम्दछे ।
को होला यो तपोभूमिको पहिलो थलो चाँजने
काठैकुवा हो कि कटुस कुवा अर्थै के हो बाझने
गडीमा थियो रे ससुराली यिनको मल्लाकाँडा जेठा दाइ
बयलकाँडा मावली हो अरे राम्रीकाँडा कान्छा भाइ ।
यसमा उनले गोठीकाँडा, रानीमत्ता, लादे, अन्तरकाँडा, गरगरे, राम्चे, रातानाङ्ला लगायत सुर्खेत उपत्यकाका लाटीकोइली, काँक्रेविहार, चौकान चउर (हालको वीरेन्द्रनगर बजार क्षेत्र), ईत्राम, देउती बज्यै तथा उपत्यका बाहिरका कतिपय स्थानहरूको पनि प्रतिविम्व उतारेका छन् । यी स्थानहरूको कविवर हरिलाल गिरीले आफ्नै बाल्यजीवन बिताएका रमणीय एवम् अविस्मणीय, गाउँहरू हुन् । अब यस मध्ये कतिपय क्षेत्र भने गाउँबाट वन र कतिपय क्षेत्र वनबाट सहर बनिसकेका छन् । चौगान चउर अब चउरमा मात्र सीमित छैन, त्यसमा आलिशान महल र सयौं मोटर गाडीहरू गुड्ने सडकहरूले उकुस–मुकुसको अवस्थामा पुगिसकेको छ तर पनि कविलाई आफ्ना पुराना दिनले सम्झनाका तरेलीमा उही प्रतिबिम्वित गर्दछ र उनी यस कविताका बान्कीमा आफ्नो बाल्यकाललाई झल्काउने कोसिस गर्दछन् ।
कविले भेरी नदीको शिर (मुहान) सम्मै यात्रा गर्ने अवसरलाई कवितामा प्रतिबिम्वित गर्दै डोल्पाको यात्रा शीर्षकको कवितामा यसो भन्छन् ः
कलकल बग्ने भेरीको किनार कालागौडा पो रहेछ
हातको घडी फर्काइ हेर्दा ३० मिनेट गएछ
मोटर बाटो बन्दैछ क्यारे धेरै भो भन्दैछन्
डोल्पाली जनता दुःखका दिन बसेर गन्दैछन् ।
रूपा गाउँ पानी, रूपैकी रानी जैतुनको जङ्गल
निकुञ्ज गेट, सुलीगाड हेर्दा स्वर्गझैं मंगल
प्रकृति सुन्दर निकुञ्जभित्र, फोक्सुण्डो ताल छ
गेटमै छन् आर्मी सुलीगाड पारी गोरेको पाल छ ।
कविताका पङतिहरू पढ्दै जाँदा कताकता देवकोटाको ‘मुनामदन’को प्रभाव कवि गिरीमा पनि सादृश्य भएको प्रतीत हुन्छ । देवकोटाले ल्हासाको वर्णन गर्ने क्रममा बाटामा देखिएका प्राकृतिक दृश्यहरूलाई प्रतिविम्वित गरेको झझल्को यस कवितामा पनि भावानुवाद भएको जस्तो लाग्दछ । कवितामा उनले डोल्पाको यात्रा वर्णन प्रस्तुत गरेका छन् । २०६८ साल वैशाख २३ गते हवाई उडानबाट डोल्पाको जुफाल हुँदै दुनै पुगेका कविवर गिरी त्यहाँका प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्छन् र आफ्ना कवितामा बान्की दिन्छन् । हिमाली क्षेत्रमा पाइने भोटे चियाको स्वाद, देवदार, धूपी, ओखर, उवा, जैतुनको जङ्गल र त्यसका दाउरा, यार्साको व्यापार, तिप्लाको पानी, चिसो मौसम आदि सबै कुराको अनुभूति गर्दै कविले प्रस्तुत कवितामा प्राकृतिक सौन्दर्यको वर्णन गरेका छन् । यसैगरी ‘श्रीचौर’ कवितामा पनि प्राकृतिक छटालाई नजिकबाट नियालिएको पाइन्छ । कविले श्रीचौरको ग्राम्यजन जिन्दगानी र त्यस आसपासका स्थानहरूलाई आफ्ना कवितामा उतारेका छन् । उनले भेरीको झोलुङ्गे पुल (अब त्यो इतिहासमा मात्र सीमित छ), भदौकी भेरीको नागबेली आकार, भेरी र कर्णालीको संगम कुइने, तेलपानी डाँडा, सिस्नेरी फाँट, काफलगैरामा पाकेका काफल, जुरेली चराको चिरविर गान, सुँगुरखाल, गोलपानी, कारबारीको एँेसेलुघारी, रानीघाटको मयूर नाच्ने मनोरम जङ्गल, बाघ, भालु, मृग, बँदेल, घोरल आदिको बासस्थान, गिरीघाट र भुरीगाउँ (बर्दियामा पर्ने गाउँ) आदिको चित्रात्मक रूपरेखा प्रस्तुत गरेका छन् । कविले वनमा पाकेका काफल र ऐँसेलुहरू खाइदिने मान्छेसम्म छैनन् भन्दै कवितामा यसो भन्छन् ः
कारबारी ऐँसेलु घारी कोही छैन खानलाई
जिउभरि झर्ने रुखबाट जुका बर्सातमा जानलाई
हत्तेरीघाट, भेरीको फाँट, मनोरम रानीघाट
काउकुती गर्दै साथको रुमाल गर्दछिन् साटासाट ।
‘श्रीचौर’ कविता झ्याउरे छन्दमा लेखिएको कवि गिरीको अनुपम कविता हो । कविले यस कविताका माध्यमबाट श्रीचौरको वर्णन गर्दै त्यसैको काखबाट बग्ने भेरी नदीले सिर्जना गरेका उतुङ्ग छालहरूको प्रतिविम्ब उतारेका छन् । यस कवितामा उनले प्रकृतिलाई नजिकबाट नियालेको पाइन्छ र एक्लो–एकलास जङ्गलमा बाघ भालुको साम्राज्य कायम रहेको यथार्थलाई प्रस्तुत गरेका छन् ।
प्रस्तुत काव्यकृतिले कवि हरिलाल गिरीको काव्यप्रतिभालाई सुर्खेत जिल्लाभन्दा माथि उठाएको छ र यसले राष्ट्रिय क्षितिज पहिल्याउनेतर्फ उन्मुख भएको देखिन्छ । यसबीचमा उनले अरु पनि धेरै रचनाहरू गरेको हुनुपर्दछ तर ती कहाँ छन् र कुन कारणले प्रकाशनमा आउन सकेका छ्रैनन् ? हामी त्यसबारे अनभिज्ञ छौं तर यतिसम्म सुन्दर रचना गर्न सक्ने कवि प्रतिभाको गुमनाम व्यक्तित्वप्रति म धेरै दुःखी छु । वास्तवमा उनी हाम्रा अग्रज एवम् हामीभन्दा माथिल्लो पुस्ताका प्रतिभाशाली स्रष्टा हुन् तापनि उनीसँग हाम्रो पारिवारिक सम्बन्धबाहेक रचनात्मक काममा खासै गहिरो सहकार्य कहिल्यै हुन सकेन । सायद उनको जागिरे जीवनको व्यस्तताको कारणले हाम्रा बीच केही दुरी अवश्य पैदा भए होला भन्ने अनुभूति भएको छ तर म उनलाई तीसको दशकदेखि नै राम्ररी चिन्दछु र उनको रङ्गमञ्चीय व्यक्तित्वबाट प्रभावितसमेत छु । अतः कवि गिरी सुर्खेती काव्य स्रष्टाहरू मध्ये औंलामा गन्न सकिने प्रतिभाशाली कवि हुन् भन्ने कुरा उनको काव्यकृतिले प्रमाणित गरेको छ ।
कवि हरिलाल गिरीको प्रस्तुत काव्य कृतिभित्र ३५ वटा कविताहरू भनिए तापनि ३४ वटा मात्र कविताहरू संगृहित छन् । ‘कोलमनीको वंशावली’ कविता हो वा वंशावलीको विवरण ? यस कृतिमा कतै चर्चा पाइदैन । यसमा संगृहित कविताहरू पनि जीवनको उत्तरार्धतिर बिरामी पर्दा अस्पतालमा लेखिएकाले कतिपय कविताहरूमा जीवनप्रतिको मोह घट्दै गएको र रोगले च्याप्दै लगिरहेको अवस्थामा जीवनको गहिरो मूल्यबोध भइरहेको कटु यथार्थसमेत प्रतिबिम्वित भएको छ । रोगसँग लड्दा–लड्दैको अवस्थामा पनि यसरी कविता रचना गर्नुलाई कविको प्रतिभाशाली काव्यसाधनाको प्रतिफल मान्नुपर्ने हुन्छ । जीवनका दुःख सुखात्मक अनुभूतिहरूलाई सर्सती एकै बसाइँमा रचना गरेर राख्दै जाने क्रममा ३४ वटा कविताहरू दिन सक्नु कविको काव्य साधनाको प्रतिफल हो भन्न सकिन्छ । कवि गिरीले पक्कै पनि डायरीमा लेखेर छाडेका अन्य कतिपय अनमोल रचनाहरू प्रकाशन हुन पाए उनका बारेमा अझ विशेष चर्चा परिचर्चा हुन सक्थ्यो र साथै समाख्यानात्मक समीक्षा समेत प्रस्तुत गर्न सजिलो पर्ने थियो । यति नै रचनाले पनि उनको काव्यकारिताको राम्रो छनक दिएको हामी पाउँछौं ।
कविले यस कृतिमा प्रेम, जीवनजगत्, प्राकृतिक सौन्दर्य, राजनीतिक, लोकतन्त्र तथा क्रान्ति र परिवर्तन तथा पारिवारिक सुख दुःखात्मक अनुभूति आदि सबैलाई समेट्ने प्रयत्न गरेका छन् । उनले ‘आमाको सम्झना’ कवितामा आफ्नी ममतामयी आमालाई हृदयदेखि सम्झना गर्दै आमाको ममतामयी भावनालाई सागरभन्दा गहिरो मायाको संज्ञा दिएका छन् । आमाको वात्सल्य प्रेमलाई आफूले पहिला बुझ्न नसकेकोतर्फ उनी क्षमायाचना गर्दै आफ्ना गल्तीप्रति पछुतो व्यक्त गरेका छन् । यसै गरी आफ्नी जीवन संगिनीप्रतिको प्रेमलाई पनि कविले ‘मेरी माया’ शीर्षकको कवितामा प्रेमको याचनाभाव प्रस्तुत गरेका छन् । उनी आफ्नी प्रेयसीप्रति गहिरो माया व्यक्त गर्दै भन्छन् ः
रातरात सपनीमा हावा बनी आउँला
बोलाउँला सुसेलीले इसाराले ब्यूँझाउँला
पानी पर्दा फोकाभित्र मेरो मुहार हेर्नू
माला गाँस्नु दुबो राखी त्यै मुहार घेर्नू ।
यस कवितामा उनी आफ्नी श्रीमतीप्रति केही कर्तव्यभावले प्रस्तुत भएका छन् र धेरैभन्दा धेरै माया, प्रेम र सम्झनाहरू छाडेर जाँदैछु भन्ने भाव व्यक्त गरेका छन् । कविलाई प्रस्तुत कविता रचना गर्दा आफूमाथि मृत्युले फणा उठाएको अनुभूति भइसकेको हुन्छ र उनी मृत्युपछिको मिलनका शब्दहरू पनि अभिव्यक्त गरेका छन् । कविले माया, प्रेम, नैतिकता एवम् सामाजिक जीवनका विविध पक्षमा कलम दौडाएका छन् र देशको राजनीतिक अन्यौलप्रति पनि दुःखभाव व्यक्त गरेका छन् । ‘लोकतन्त्र’ तथा ‘हामी नेपाली’ शीर्षकका दुई कवितामा कविले देशको पीडा पोखेका छन् । उनी लोकतन्त्रको पक्षपोषण गर्दै भन्छन् ः
तर, संसद भवन र पार्टी कार्यालयमा लोकतन्त्रको सारंगी रेट्ने
ए लोकतन्त्रका हिमायतिहरू हो, खै त लोकतन्त्र कहाँ छ ?
विद्यालय जाने उमेरका बालकहरू गिट्टी फोडिरहेका छन्
देशको विकास गर्ने पाखुरीहरू विदेशीका जुठा भाँडा माझिरहेछन् ।
लोकतन्त्रको उपहास भइरहेको सन्दर्भलाई प्रस्तुत कवितांशले निकै ठूलो व्यङ्ग्य गरेको छ ।
कविका मनमा लोकतन्त्रप्रति अगाध श्रद्धाभावले गर्दा विदेसिएका युवाहरूलाई स्वदेशमा काम दिनुपर्छ भन्ने भाव सम्प्रेषित गरेका छन् । यसै गरी ‘हामी नेपाली’ कवितामा उनी भन्छन् ः
हामी नेपाली…
गोर्खे, कान्छा, बहादुर जे नामले पुकारे पनि हुने
विदेशमा दरवान, कुल्ली, भरियाभै सडक–सडक धाउने
आफ्नो घरको आटो मन नपराउने
होटेलको जुठोमा चित्त बुझाउने !
यहाँ पनि उनले नेपालीहरूको विवशता र बाध्यतालाई नै प्रतिबिम्वित गरेका छन् । कविभित्र राष्ट्रियता, जनतन्त्र वा लोकतन्त्र तथा नेपाली हुनुको आत्मसम्मान भावलाई यस कवितामा प्रस्तुत गरिएको छ । समग्रमा भन्नुपर्दा कवि हरिलाल गिरीका अनेकौं उत्कृष्ट कविता यस कृतिमा संगृहित छन् । कविको काव्य साधनाभित्रका अरु पनि यस्ता अनेक रचनाहरू बाहिर आउनसके सुर्खेती साहित्यलाई ठूलो गुन लाग्ने थियो । उनका विद्यार्थी जीवनका रचनाहरू पनि पाउन सके हाम्रा लागि साह्रै नै प्रेरणाको विषय बन्ने थियो । जे होस् कवि गिरीले लेखेर छाडेका यी सुन्दर काव्य सिर्जनाप्रति कृतज्ञ भावले स्वीकार गर्दै उनका रचनाको आघोपान्त प्रकाशनका लागि हार्दिक अपिलसमेत गर्दछु ।
अन्तमा स्वर्गीय कवि हरिलाल गिरीका उत्तरार्ध जीवनका कविताहरूको सङ्गालो ‘हरिलाल गिरीका कविता’ प्रकाशन हुँदा अत्यन्त सुखीको अनुभूति भएको भाव व्यक्त गर्दै उनका अरु थुप्रै रचनाहरूको प्रकाशनका लागि समेत परिवारजन तथा प्रकाशकहरूमा विनम्र अनुरोध गर्दछु । अतः हाम्रा निम्ति प्रस्तुत काव्यकृति सुर्खेती साहित्य भण्डारको अनुपम कोसेलीको रूपमा सदैव रहिरहने छ भन्ने विश्वास व्यक्त गर्दछु ।
साझा बिसौनी संवाददाता ।