सुर्खेतमा थपियो नयाँ यातायातः अटोरिक्सादेखि बससम्मको सेवा
सुर्खेत, १ असोज ।
सुर्खेतमा नयाँ यातायात सेवा थप भएको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा आइतवारबाट नयाँ यातायात समितिको जन्म भएको हो । वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहने गरी नयाँ यातायात सेवा प्रालि दर्ता भएको छ ।
यात्रु, सवारी धनी र मजदुरको हितका लागि भन्दै उक्त प्रालिको उद्घाटन गरिएको छ । सिद्धपाइला यातायात सेवा प्रालि नामक यो समितिले पनि अब यात्रुलाई सेवा दिने भएको हो । आइतवार नै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको यो प्रालिको वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो । उद्घाटन भएसँगै यो यातायात प्रालिले अटोरिक्सादेखि यात्रुबससम्म सञ्चालन गर्ने भएको छ । यस्तै प्रालिमा मालबाहक सवारी साधनहरू पनि दर्ता हुने भन्दै यो समितिले जिल्लामै पहिलो पटक एउटै समितिमार्फत् सबै प्रकारको सेवा उपलब्ध गराउन लागिएको जनाएको छ ।
नव गठित यातायात प्रालिका सञ्चालक पदम वनले यात्रुको सुविधाका लागि आफूहरूले नयाँ समिति दर्ता गरेको बताए । ‘यातायातमा धेरै बेथिति छन्, यात्रुले सहज सेवा पाउन सकेका छैनन्’ उनले भने, ‘सवारी मजदुरको हितमा बोल्ने समितिको अभाव थियो, सवारी धनीको लगानी सुरक्षित हुने अवस्था छैन । यही समस्यालाई मध्यनजर गर्दै हामीले नयाँ प्रालि दर्ता गरेका छौं, अब यात्रुदेखि सवारी धनीसम्मले सुविधा पाउनेछन् ।’ उनले आफ्नो समितिले अटोरिक्सादेखि यात्रुबससम्म सञ्चालन गर्न लागेको जानकारी दिए । त्यसका लागि सवारी साधन दार्ता खुला गरिएको उनको भनाइ छ । सुर्खेतमा केन्द्रीय कार्यालय रहे पनि देशभर आफूहरूले सवारी सञ्चालन गर्ने उनले बताए ।
प्रालिले अटोरिक्सा, जीप, यात्रुबस, हाइस, कन्टेनर र मालबहाक सवारी साधनहरू सञ्चालनको तयारी गरेको छ । ‘प्रतिस्पर्धाबाट जनताले सेवा गुणस्तरीय पाउनेछन्, हामी अन्य समितिभन्दा भरपर्दो सेवा प्रवाह गर्दैछौं’ उनले भने, ‘पहिलो चरणमा अटोरिक्सालाई व्यवस्थित गर्दैछौं, त्यसपछि ठूला सवारी सञ्चालनको योजना बनाएका छौं । हाम्रा सवारी छोटो र लामो दुवै दूरीमा चल्नेछन्, यात्रुवहाकदेखि मालबहाकसम्म हुनेछन् ।’ यातायात व्यवसायमा रहेको एकलौटीलाई आफूहरूले स्वच्छ प्रतिस्पर्धाबाट तोड्ने प्रयासमा रहेको प्रालिले जनाएको छ । यस्तै यात्रुलाई अन्य समितिभन्दा भरपर्दो सेवा प्रदान गर्ने समेत यो समितिले दाबी गरेको छ । कानुन अनुसार सवारी सञ्चालनलाई प्राथमिकता दिइएको भन्दै प्रालिले सबै प्रकारका सवारी प्रालिमा दर्ता हुने जनाएको छ ।
यस्तै प्रालिका महेश जीसीले यातायात व्यवसायलाई व्यवस्थित गर्न आफूहरू अग्रसर भएको बताए । नयाँ सेवा सञ्चालनमा आएसँगै यात्रुले मात्र नभइ व्यवसायीहरूले पनि राहत महसुस गर्ने उनको दाबी छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कविराम सेन्चुरीले प्रालि नयाँ खुलेर मात्र नहुने बताए । यसका लागि यात्रुलाई भरपर्दो सुविधा दिन र सवारी कानुनको पालना गर्नुपर्ने बताए । उनले भने, ‘समिति नयाँ दर्ता भएर मात्र हुँदैन, मुख्य कुरा यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । तपाईंहरूले सवारी कानुन अनुसार सेवा प्रवाह गर्नुहोस्, आफ्नो व्यवसायलाई सेवामुखी बनाउन आग्रह गर्दछु ।’ कानुन विपरित सवारी सञ्चालन गर्ने कसैलाई पनि नछाड्ने समेत उनले चेतावनी दिए ।
पछिल्लो समय सुर्खेतमा नयाँ यातायात सेवाहरू सञ्चालन हुने र दर्ता हुनेक्रम बढ्दै गएको छ । यसले यातायातमा रहेको सिण्डिकेट तोड्ने काम गरेको छ । यद्यपि व्यवसायीहरूले अहिले पनि अस्वस्थ प्रतिस्पर्धा गर्दै आएका छन् । समितिहरू थप हुँदा सेवा प्राप्त भए पनि यात्रुहरूले व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण हैरानी भोग्नुपर्ने अवस्था छ । स्वस्थ र खुला प्रतिस्पर्धा भएमा यात्रुलाई नै सुविधा उपलब्ध हुने सरोकारवालाहरू
बताउँछन् । यात्रुको सुविधालाई लक्षित गर्दै पछिल्लो समय जिल्लामा रहेका यातायात समितिहरूले सुविधायुक्त सवारी साधन पनि थप गर्दै गएका छन् । यसले यातायात सेवालाई प्रभावकारी र सुविधायुक्त बनाउँदै लगेको छ ।
साझा बिसौनी संवाददाता ।