‘मासिक पचास पैसा तिरेर पढ्थ्यौं’

देवकुमारी पाण्डे ८५ वर्षकी भइन् । वि.सं. १९९० साउन ८ गते बुबा स्व. बर्मदत्त अधिकारी र आमा स्व. हरिमाया अधिकारीको कोखबाट सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडामा जन्मिएकी उनी कुनै समय सक्रिय राजनीतिमा थिइन् । नेपाली कांग्रेस निकट नेपाल महिला संघ सुर्खेतको पूर्व सभापति पनि हुन् । पञ्चायती शासनविरुद्धको आन्दोलनमा सहभागी हुँदै उनले राजनीतिक यात्रा सुरु गरेकी थिइन् । तर वि.सं. २०६० सालमा श्रीमान्को निधन भएपछि भने उनले राजनीतिबाट विश्राम लिइन् । उनै पाण्डेले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेकी छिन् ।

मेरो जन्म विसं १९९० साउन ८ गते आइतवार बिहान ११ बजे वीरेन्द्रनगरको पुरानो सदरमुकाम गोठीकाँडामा भएको हो । हामी दुई भाइबिहिनी मात्र छौं । मेरो बुबा लमजुङबाट जागिरको शिलशिलामा सुर्खेत आउनुभएको हो । मेरो आमाको माइती भने सुर्खेत नै हो । बुबा वारमा मुखिया हुनुहुन्थ्यो । यो वीरेन्द्रनगर उपत्यकामा त्यसबेला बस्ती थिएनन् । मान्छेहरू गोठीकाँडा, कटकुवा, तलका जंगलहरूमा बस्दथे । यहाँ औलो लाग्ने भएको कारण गर्मीको समयमा यहाँ कोही आउन सक्दैन्थे । हिउँदको समयमा खेतीपातीको लागि मात्र उपत्यकामा बस्ने गर्थे ।
त्यसबेलामा अहिलेको जस्तो विद्यालयहरू थिएनन् । पाठशालामा पढाइ हुन्थ्यो । हाम्रो परिवारमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावना थियो । हाम्रो गुरु अम्मर गिरी, महेन्द्र गिरी हुनुहुन्यो । पढ्नको लागि भवन हुँदैन्थ्यो । हामी पिपलको रुखमुनी बसेर पढ्थ्यौं । म पढेको पिपलको बोटको निसानी अझै पनि हिलेखालीमा छ । नेपाली विषय पढ्थ्यौं । किताबहरू पाइदैन्थे । हिसाब गर्न गुरुहरूले सिकाउनुहुन्थ्यो । अंक र दुना पढ्थ्यौं । लेख्नको लागि कापी कलम हुँदैनथ्यो । निगालाको कलम र कटुसको पातको मसी बनाएर पार्टीमा लेखेर पढ्थ्यौं । बुबा र आमाले पढ्नको लागि प्रेरणा दिनुहुन्थ्यो । हाम्रो परिवार सानो थियो । मेरो एक जना भाइ मात्र थियो । अनि म । बुबा जागिर र आमाले हाम्रो रेखदेख गर्नुहुन्थ्यो । त्यतिखेर एक पटक छोराछोरी पढाउनुपर्छ भन्ने भावना सबै गाउँका मान्छेहरूलाई लागेको थियो । हामी एकै कक्षामा एक सय जनासम्म विद्यार्थीहरू हुन्थ्यौं । त्यस बेलामा पच्चीस पैसा÷पचास पैसा तिरेर पढ्थ्यौं । महिनाको ५० पैसा तिरेर पढेको सम्झना छ मलाई ।
मेलापात गर्ने, घाँसदाउरा काट्ने काम गरियो । साथीभाइहरूसँग खेल्ने, घरमा आमालाई सघाउने यसरी नै बाल्यकाल बित्यो । म सानैदेखि इमान्दार थिएँ । सबैको भनेको मान्ने गर्थें । त्यसबेलामा सुरुवाल र चोली लगाउने चलन थियो । कपडा राम्रो पाइन्थ्यो । हामी सानोमा सधैं सुरुवाल र चोली नै लगाउने गर्थियौं ।
पहिले छोरीको विवाह छिटै गरिदिए पछि पूण्य कमाइन्छ भन्ने मान्यता थियो । छोरीलाई कन्यादान दिए भने धर्म कमाइन्छ भन्थे । नौ÷दश वर्ष उमेर पुगिसकेपछि घरमा विवाहको कुरा चल्थे । छोरीको लागि घर खोज्न लाग्थे । त्यसबेलामा छोरा होस या छोरी प्रायः सबैको विवाह सानै उमेरमा हुन्थ्यो । पढ्ने ईच्छा हुँदा–हुँदै पनि छोरीको सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने मान्यताले मलाई अलग गराएन । म भर्खरै १२ वर्ष मात्र पुगेकी थिएँ । कक्षा पाँच पास गरिसकेकी थिएँ । घरमा मेरो विवाह गर्ने कुरा चल्यो । सबै ईच्छा र चाहानालाई थाँती राखेर वि.सं. २००२ सालमा मेरो विवाह भयो । मेरो विवाह हुँदाको बलपिपलको चौतारी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय नजिक बरको बोट अझै निशानी छ ।
विवाह भइसकेपछि मैले पढाइलाई अघि बढाउन भने सकिनँ । कृषक परिवार । खेतीकिसानी नै गर्नुपर्ने । मेरो श्रीमान्को दाइभाइ हुनुहुन्थेन । उहाँ एक्लै छोरा हुनुहुन्थ्यो । ससुराबुबा हुनुहुन्थेन । त्यसपछि घरव्यवहारले पढ्न भने पाइनँ । पढ्न धेरै मन लाग्थ्यो । मैले कक्षा पाँचसम्म मात्र पढ्न पाएँ । अहिलेको जस्तो जमाना भएको भए त म कति धेरै पढ्थे हुँला जस्तो लाग्छ । अहिलेका छोरीहरू पढाइ पूरा गरेर ढिलो उमेरमा विवाह गर्छन् । हामी पनि यही समयको जस्तै पहिलेको भइदिएको भए कति गर्न सक्थ्यौं होला जस्तो लाग्छ । बाल्यकाल सम्झदा अहिले सपना जस्तो लाग्छ । आँखा वरिपरि ती बाल्यकालमा दिनहरू झल्झली आउँछन् । निदाएको बेला सपना देखेर बिउँझिदा कस्तो हुन्छ, हो त्यस्तै लाग्छ, बाल्यकाल सम्झदा । अहिले म ८५ वर्षकी भएँ । अझै पनि म करेसाबारीमा काम गर्न सक्छु । जीवन सम्झदा यस्तो लाग्छ, मैले धेरै युग पार गरिसकेकी छु । छोरी, बुहारी, आमा, सासु, हजुरआमा भएँ । अहिले पलाती पनि देखिसकेकी छु । हाम्रो पालामा जस्तो सानै उमेरमा विवाह हुने भएको भए त मैले खलाती पनि देखिसक्थें जस्तो लाग्छ ।
देशमा राजनीति परिवर्तन हुँदै थियो । राणा शासनको विरुद्ध सबै लागेका थिए । राणा शासनको अन्त्य भइसकेपछि महेन्द्र राजाको सरकार बन्यो । त्यसको पनि विरुद्ध भइरहेको थियो । दलहरू खोल्ने । संगठन गराउने गतिविधिहरू भइरहेका थिए । मेरो आमा महिलाहरूका विषयमा बोल्नु पर्दा अघि सरेर बोल्नुहुन्थ्यो । म राजनीतिमा आउनुमा मेरो आमा र मामाको ठूलो योगदान छ । उहाँहरूकै प्रेरणाले मैले राजनीतिमा लागेको हुँ । २०२८ सालमा मेरो कान्छो छोरा भर्खरै जन्मिएको थियो । १५ दिनको छोरालाई काखीमा च्यापेर मैले राजनीतिमा प्रवेश गरेको हुँ । वि.सं. २०६० सालसम्म त पार्टीको गतिविधिमा लागिरहेको थिएँ । पछि बुढो हुँदै पनि गएँ । २०६० सालमा नै श्रीमान् (जयनाराण पाण्डे) को मृत्यु भयो । त्यसपछिबाट राजनीति छोडें ।

प्रकाशित मितिः   २ आश्विन २०७४, सोमबार १६:१८