नारीमाथिको ज्यादती

हामी कस्तो समाजमा बाँचिरहेका छौं भने जहाँ पुरुषको जयजयकार हुन्छ । त्यहीं महिलामाथि ज्याजदी भइरहेको छ । हाम्रो समाज नारी पतनको खुशीयाली मनाउन लागिपरेको छ । नभए किन आफ्नै घर कि दिदीबहिनीलाई बोक्सी, चुडेल्नी भनेर समाजबाट बहिस्कृत गर्न लागिपरेको हुने थियो त ? किन नारी शब्दमै हिनताबोध मान्ने थियो त ? किन नारीको बेइज्जत गर्ने थियो, विना काराण दिनदहाडै, खुलमखुल्ला ? आखिर उसलाई त्यस्तो के आपत, विपत आइप¥यो र आफ्नै दिदीबहिनीलाई दुःख, कष्ट दिनुपर्ने ? जुत्ताको माला लगाउनुपर्ने ? मलमुत्र खुवाउनुपर्ने ? स्कुल जानबाट वञ्चित गराइनुपर्ने ? चुलोचौकोमा मात्र सीमित हुनुपर्ने ? मेलापातलाई बजार गराउनुपर्ने ? भैंसी, गाइगोरुलाई साथीसङ्गिनी मान्नुपर्ने ? आखिर किन किन ? मानौं कि त पुरुष वर्गले एक हातले ताली बजाउन जानेको हुनुपर्छ । कि त एकै कोल्टीमा रोटी पकाउने कला जानेको हुनुपर्छ । कि त एकै पाङ्ग्रामा कुद्ने रथ बनाएको हुनुपर्छ । नभए किन ऊ यति धेरै मतलबहिन भएको छ ? किन यति धेरै शोषक भएको छ ? सामन्ती भएको छ ? यति धेरै तानाशाह भएको छ ? यतिधेरै पागलपन देखाइरहेको छ ?
हामी पत्रपत्रिकामा, रेडियोमा ,टेलिभिजनमा, फेसबुकमा, सामाजिक सञ्जालमा जताततै नारीमाथी हुने अनेक घटनाका बारेमा समाचार, लेख, रचना पढ्छौं । सुन्छौं । तर त्यति वास्ता राख्दैनौं । साथीहरूसँग चिया खाजा खाँदासम्म याद हुन्छ । तर्क वितर्क हुन्छ । तर चिया सकेपछि मान्छे यस्तो हुन्छ मानौं उसलाई यस विषयमा केही पनि थाहा छैन । कतैकतै त समय बिताउने बाहाना पनि यही हुन्छ । समाचार सुन्दासम्म मुख अँध्यारो हुन्छ । सिधिएपछि पहिलेको जस्तै हुन्छ । अर्थात् केही भएकै छैन । विद्यालयमा शिक्षकले समाजको नारिमाथी दृष्टिकोण भन्ने कुरा पढाउँदा के–के न पूरै समाजनै परिवर्तन गर्दिन्छु जस्तै गरी बसेको सुन्दरे कक्षा सिधिएपछि समीक्षाको मन परिवर्तन गर्नतर्फ लाग्छ । साथीहरूसँग नारीमाथिको दमनको अन्त्य गर्नैपर्छ भनेर भाषण ठोक्दै बसेकी अस्मिता सिरियल नहेर्दासम्म सम्झिन्छे । हेरिसकेपछि सबै भुल्छे । यसरी कसरी नारी माथिको दमन, शोषण अन्त्य हुन्छ ? कसरी नारिले स्वतन्त्रताको लामो सास फेर्न सक्छे ? कसरी चरा जस्तै खुल्ला आकाशमा उड्न पाउँछे ?
हामी सबैलाई थाहा छ, नेपाली समाज कति नांगिएको छ ? नारीहरूमाथि कति हिंस्रक बनेको छ । कति विभेद र शोषण गरिएको छ । सदियौंदेखि पछाडि पारिएको छ । अप्ठ्यरोका चुनौतीहरूसँगै पैठेज्योरी खेलिरहनु परेको छ । पितृसत्तात्मक सोचले भरिपूर्ण समाजले महिलाहरूलाई दोस्रो दर्जामा राख्ने गरेको छ । किन महिला र पुरुषबीच समानता कायम हुन सकिरहेको छैन ? यस्ता प्रश्नहरूको उत्तरको प्रतिक्षा गर्दागर्दै युग नै कटिसक्यो । अझैसम्म थाहा पाउन सकिएको छैन । मानौं त्यो उकालो चढेको रेल कतै बाटोमा रोकिएको हुनसक्छ ।
नारी आज आएर हेपिएकी होइन । पछाडि परेकी होइन । आजै आएर कमजोर भएकी होइन । बोक्सी पनि आजै आएर सावित भएकी होइन । ऊ हिजोदेखि नै हेपिएर आएकी हो । घाइते सर्प झै भुइँमा घिर्सिदै आएकी हो । हिजैदेखि उसलाई कालो मोसो मुखमा घसेर जुत्ताको माला लगाएर मलमुत्र जबरजस्ती खुवाउने गरिन्थ्यो । जुन आजसम्म पनि कायमै छ । जस्ताको त्यस्तै । तृप्ती स्कुल उहिलेदेखि जान नपाएर चुलोचौकोमा रुदै बसेकी हो । आज उसकी छोरी रुँदै छे । भोलि उसकी नातिनी रुदै बस्ने होली । पोथी बास्यो भन्ने समाज हिजोदेखि थियो । आजसम्म पनि छ । छोरी जन्मे जिउँदै मारिदिने समाज हिजोदेखि थियो । आजसम्म पनि जिउँदै छ । अझै मरेको छैन । जबकी हामी समाज परिवर्तनका कुराहरू गर्छौ । जबकी हामी लोकतन्त्रका, गणतन्त्रका कुराहरू गर्छौं । जबकी हामी नारीबादी हक अधिकारका कुराहरू गर्छौं । जे जति पनि परिवर्तनहरू भएका छन् कुनै एक ठाउँमा मात्र भएका छन् । कसैको जिन्दगीमा मात्र भएका छन् । अझ भन्दा हुँदै भएका छैनन् ।
नारीलाई अगाडि आउन नदिन समाजका केही शोषक सामान्तीहरूले, केही चलखेली नायिकेहरूले निकै ठूलो अफबाह फिजाएका छ्न । जसले गर्दा पूरै समाज नै दुसित हुन पुगेको छ । युवा वर्गमा निकै नराम्रो असर परेको छ । तै पनि जति धेरै चुनौती भए पनि, जस्तोसुकै बाधा अड्चन आएपनि त्यसको जडैदेखि निर्मूल पार्नैपर्छ । उखेलेर फाल्नै पर्छ । त्यसका निम्ती जस्तोसुकै कदम उठाउन किन नपरोस् । सबैको दिमागमा सबैभन्दा पहिलो समाधानको बाटो शिक्षा दिनु र शिक्षित बनाउनु हो । तर यो कुरा विगत धेरै वर्ष पहिलेदेखि लागू गरिएको हो । खै खासै परिवर्तन भएको देखिदैंन । सानो तिनो परिवर्तनहरू भएका होलान् । तर यसलाई नै परिवर्तन हो भन्ठानेर पलेटी मारी बस्नु गधाको काम जस्तै हो ।
त्यसो भए अब नयाँ तर फलदायक तरिका के त ? जब हामी अरु नारीमा नराम्रो घटाना घटेको देख्छौं । जस्तै दाइजोको नाममा नारीलाई जिउँदै जलाइने गरिएको, कागज जलाएको जसरी । कतै छोरा नपाएको निउँमा कुट्पिट गरिएको, मानौ बौलाहा कुकुरलाई मारेको जस्तै गरी । कतै नारीलाई बोक्सी बनाइएको । मलमुत्र खुवाइएको । जुत्ताको माला लगाइ समाजबाट बहिस्कृत गरिएको । कतिपएले त सहनै नसकी आत्महत्या गरेको । कतिपएले त कुटपिटमा ज्यान गुमाएको । तैपनि हामीलाई केही पनि असर पर्दैन । तर त्यही घट्ना, त्यही अन्याय अत्याचार हाम्रो घरको कोही माथी घट्नुपर्छ हामी चुप बस्दैनौं । ज्वाला उम्लिन्छ । संसार नै उथलपुथल पारिदिने जोस उठ्छ । र, त्यस्तो हिम्मत राख्छौं । हो हाम्रो गल्ती यहाँनिर भएको छ नारी दमनको अन्त्य गर्न नसक्नुमा । अरु नारीमा त्यो अन्याय अत्याचार हुँदा कपालको एक रौं पनि नहल्लिने । तर जब आफ्नो घरकी कुनै नारी माथी घट्यो भने संसार नै हल्लाइ दिने । आखिर किन ? अरु नारीचेली पनि आफ्नै दिदीबहिनी, आमा–हजुरआमा, फूपू भतिजी जस्तै त हुन् । नारी माथिको दमन जबसम्म आफ्नो आफन्त माथि घट्दैन र महसुस गर्दैनौं तबसम्म हामी वास्ता नै गर्दैनौं । त्यसैले सबै हामीले नारी माथिको दमन, शोषण, अन्याय, अत्याचार आफ्नै दिदीबहिनी माथिको अन्याय अत्यचार हो भनेर लागिपरे मात्र यसको अन्त्य हुन्छ । नत्र राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेजस्तै खोली रहन्छ । अन्त्य गर्नै कठिन हुन्छ । र परिणाममा पूरै समाज नै धमिलिन्छ । दुसितको कालो बादल लाग्छ डम्म, फेरि कहिले पनि नफाट्ने गरी ।
अन्तमाः हामी सबैले मानेका, पुजेका र सबैभन्दा बढी विश्वास गरेका भगवान कृष्ण र राम हुन् । तर मेरो एउटा प्रश्न छ हजुरहरूलाई । एउटी नारीलाई १२ वर्ष वनबास गराउने राम र हजारौं नारीहरूसँग विवाह एकै पुरुषले गर्ने हिम्मत राख्ने कृष्ण कुन कोणबाट, कुन दिशाबाट विशिष्ट भए ? के उनीहरू कृष्ण जस्तो वा राम जस्तो पतिदेव पाउँ भनि व्रत बस्न लायक छन् ?