अटोरिक्सा कसरी व्यवस्थापन गर्ने ?

केही दिन पहिला ट्राफिक प्रहरीले अटोरिक्सा नियन्त्रणमा लियो । वीरेन्द्रनगरमा आफूखुशी सञ्चालन भइरहेका अटोरिक्साका कारण हैरान भएका नागरिकको गुनासोपछि तीन सय २६ वटा अटोरिक्सा नियन्त्रणमा लगियो । जसमध्ये अधिकांश अटोका चालकसँग लाइसेन्स थिएन । यस्तै अधिकांश अटो निजी नम्बरप्लेटका थिए । पछिल्लो समय भित्रिएका अटोका कारण यात्रुलाई केही सहज भए पनि उचित व्यवस्थापन नहुँदा समस्या बढ्दै गएको छ । आफूखुशी भाडा असुल्ने, तीव्र गतिमा सञ्चालन गर्ने, लाइसेन्सविना नै सडकमा कुदाउने र दुर्घटनाको जोखिम बढेपछि स्थानीय प्रशासनले अटोरिक्सा नियन्त्रणमा लिएको थियो । तर प्रशासन र व्यवसायीबीच चार बुँदे सहमति पछि अटोरिक्सा छोडिएको छ । जिल्लामा सञ्चालित अटोरिक्सालाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भनेर हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई सोधेकी थिइन् । प्रस्तुत छ, उनीहरूको जवाफ जस्ताको त्यस्तै ः

अमर नेपाली, वीरेन्द्रनगर–१२
अटोरिक्सा व्यवस्थापन राम्रोसँग गर्न नसक्दा बजार अस्तव्यस्त भएको छ । अटोरिक्सा व्यवस्थापनमा राज्य पक्षको ध्यान जानुपर्ने हो । अटोरिक्साको लाइसेन्स, कागजपत्र सबै छ कि छैन भनेर हेर्ने काम ट्राफिक र प्रशासनको हो । सुर्खेतमा अटोरिक्सा बढ्दो क्रममा छन् तर व्यवस्थापन भने राम्रोसँग हुन सकेको छैन । अटो धेरै हुनु हामी जनताको लागि राम्रो र सुविधा पाउने कुरा हो तर राज्य पक्षले यसको व्यवस्थापन नगर्दा जनताले सेवा र सुविधा पाउने नाममा ठगिनु परेको छ । यसतर्फ सम्बन्धित राज्य पक्षको ध्यान जान जरुरी छ ।

 

गणेशबहादुर थापा, वीरेन्द्रनगर–६
अटोरिक्साको व्यवस्थापनको लागि पहिलो काम भनेको सबै रिक्साहरूको भाडा दर एउटै बनाउन जरुरी छ । अहिले रिक्सा चालकहरूले छोटो र लामो दूरीको यात्राको भाडा एउटै लिने र रिक्सा चालकले मनोमानी रूपमा भाडा असुली रहेका छन् । यसको प्रत्यक्ष मारमा जनता नै परेका छन् । सेवा र सुविधा दिने नाममा जनता ठगिएका छन् । यसतर्फ प्रशासनको ध्यान जान जरुरी छ । पहिला अटोरिक्साको भाडादर एउटै निर्धारण गर्नुपर्छ । अर्काे कुरा अटोरिक्साहरूको अटो पार्क गर्ने निश्चित स्थान पनि प्रशासनले तोकी दिनुपर्छ । यसो गर्नसकेको खण्डमा अटोरिक्सा व्यवस्थापनमा सहयोग पुग्छ ।

 

उमा थापा, वीरेन्द्रनगर–२
अटोरिक्सा व्यवस्थापनको काम प्रशासनले गर्नुपर्ने हो । सुर्खेतमा अटोरिक्सा दिन प्रतिदिन बढ्दैछन् । तर व्यवस्थापनको पाटो राम्रो भएन । त्यसैले पनि रिक्सा चालकले आफ्नो मनोमानी रूपमा भाडा असुली गरिरहेका छन् । त्यसको प्रत्यक्ष मारमा जनता नै पर्छन् । राज्य पक्षले सवारीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा त सवारी साधन भिœयाउनु भन्दा पहिला नै कसरी व्यवस्थापन गर्ने भन्ने कुराको टुङ्गो लगाउनुपर्छ । यहाँ त जसले जे गरे नि भइरहेको छ । मनोमानी रूपमा रिक्सा चालकले भाडा असुल गरिरहेका छन् कारबाही खै कसले गरेको छ र ?

 

शरद खड्का, लेकवेशी नगरपालिका
अटोरिक्सा व्यवस्थापन गर्ने काम प्रशासनको हो । तर अटोरिक्सा व्यवस्थापन प्रशासनले अहिलेसम्म गरेको छैन । किलो मिटरको हिसाबले भाडाको निर्धारण गर्नुपर्ने हो । तर यहाँ त रिक्सा चालकले आफ्नो मनोमानी रूपमा भाडा असुली रहेका छन् । हामी बाहिरबाट वीरेन्द्रनगर आउने जनतालाई झन् अटो चालकले बढी भाडा लिने गरेका छन् । निश्चित भाडा कति दूरीको कति भाडा लिने भन्ने भाडाको मापदण्ड प्रशासनले बनाएर अटोरिक्सा सञ्चालन गर्नसक्यो भने राम्रै हुन्छ । प्रशासनको ध्यान त्यसतर्फ नजाँदा जनताले महँगो भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।

 

 

निर्मला केसी, वीरेन्द्रनगर–१२
यहाँ केही कुरा पनि नीति नियम अनुसार चलेको छैन । अटोरिक्सा झन् के चल्र्थे र ? यहाँको चलन अनुसार त चल्ने भए । न त कानुनी पक्ष कडाका साथ लाग्न सकेको छ नत नीति नियम बनाउने पक्षले ध्यान दिएको छ ? त्यसकारण नै हो अटोरिक्साको व्यवस्थापन हुन नसकेको । हाम्रो देशमा जसले जे गरे नि छुट हुन्छ । अनि अटोरिक्साहरू पनि त्यही नियमअनुसार चलिरहेका छन् । मनोमानी रूपमा जनतासँग भाडा असुल गर्छन् । समयमा यात्रुलाई सम्बन्धित ठाउँमा पुग्नैपर्छ जति महँगो भने पनि जानैपर्छ । यसतर्फ त प्रशासनको ध्यान जानुपर्ने हो खै के हेरेर बसेको छ प्रशासन ?

 

जयसरा खड्का, वीरेन्द्रनगर–१२
अब हामीले के भन्ने हो र ? अटोरिक्साले हामीसँग महँगो भाडा लिइरहेका छन् । यसको व्यवस्थापन गर्नुपर्ने काम त प्रशासनको हो भन्छन् हामी त पढ्न लेख्न नजान्ने मान्छे जसले जे भने पनि हो क्यारे भन्ने लाग्छ । रिक्सामा सवार गर्दा जति माग्यो त्यति दिनैपर्छ । सम्बन्धित निकायहरूले सबै रिक्साको भाडा एउटै तोकिदिएको भए हामीले सहज रूपमा यात्रा गर्न पाउँथ्यौं । सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । हामी जनताले जति बोले पनि केही लाग्ने होइन । रिक्साको भाडा निर्धारण चाहिँ गरिदिएको भए हुन्थ्यो ।

 

 

 

जयपुरा विष्ट, वीरेन्द्रनगर–४
सम्बन्धित निकायले काम गर्दैनन् । यसमा ध्यान दिदैंनन् । हामीले बोलेर के नै हुन्छ र ? जति बाले पनि बीचमा पेलिने भनेकै हामी जनता नै त हो । अटोरिक्सा आयो अब यात्रामा सहज होला भन्ने ठानेको जनता अहिले सेवा र सुविधाको नाममा महँगो भाडा तिर्न बाध्य छन् । कसैको ध्यान गएको छैन । हामीले त आवाज उठाइरहेका छौं भाडा महँगो भो यसको व्यव्सथापन गर्नुपर्छ भनेर अब सम्बन्धित निकाय नै सुतेको छ त हामीले के गर्नसक्छौं र ? हामीले भनेको लाग्ने भए अटोरिक्साको भाडा निर्धारण गरियोस् यति भए पुग्छ ।

 

पानसरा शाही, वीरेन्द्रनगर–७
बढ्दो अटोरिक्साका कारण बजार पनि अव्यवस्थित बन्दै गएको छ । अटो रिक्साको पार्क गर्ने निश्चित ठाउँ पनि तोकिनुपर्छ । अनि अर्काे कुरा एक किलोमिटर यात्रा गरेको ५० रूपैयाँसम्म माग्छन् अटो चालकहरू । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अटोरिक्साको भाडा निर्धारण गर्दा किलोमिटरको हिसाबले भाडा निर्धारण गर्नुपर्छ । यदि तोकिएको भाडा भन्दा बढी भाडा असुल गरेको पाइएमा अटो चालकलाई कारबाही गर्नु पनि जरुरी छ । यसो गर्न सकियो भने अटो व्यवस्थापन आफै हुन्छ । त्यसतर्फ प्रशासनको ध्यान जान जरुरी छ ।

 

 

दिपक चपाईं, वीरेन्द्रनगर–२
अटोरिक्साहरूको व्यवस्थापन त अस्तव्यस्त नै छ । न अटोपार्क गर्ने ठाउँ छ नत निश्चित ठाउँको निश्चित भाडा नै तोकिएको छ । अटोरिक्साले झन् बजार अव्यवस्थित नै बनाएको छ । नीति नियम अनुसार अटोरिक्साहरू चलेका छैनन् । आफ्नो मनोमानी रूपमा जसलाई जति मन लाग्यो त्यति भाडा यात्रुबाट असुल गरिरहेका छन् । स्थानीय बासिन्दा भन्दा बाहिरबाट आउने यात्रुलाई अटोरिक्सा चालकहरूले बढी ठगिरहेका छन् । अब त्यसो हुन नदिनको लागि प्रशासनले रिक्साहरूको निश्चित भाडा निर्धारण गर्न जरुरी छ । र निर्धारण गरिएको भाडा भन्दा बढी भाडा असुल गरेको पाइएमा रिक्सा चालकलाई कारबाही समेत गर्ने व्यवस्था गर्नुपर्छ ।