सुर्खेतमा दसैंदेखि छठसम्म सस्तो मूल्यमा चामल पाइने

सुर्खेत, ३० भदौ ।
यसपालीको दसैंदेखि छठसम्म सुर्खेतमा सस्तो मूल्यमा चामल पाइने भएको छ । ठूला चाडपर्वलाई लक्षित गर्दै सस्तो मूल्यमा चामल बिक्री गर्न लागिएको हो । नेपाल खाद्य संस्थानको सुर्खेतस्थित कार्यालयले दसैं, तहार र छठ पर्वका लागि भन्दै सस्तो मूल्यमा चामल उपलब्ध गराउन लागको हो ।


भोलि आइतवारदेखि आउँदो कात्तिकसम्म ९ गतेसम्म सर्वसाधारणका लागि सस्तो मूल्यमा चामल उपलब्ध गराउन लागिएको हो । त्यसका लागि वीरेन्द्रनगरमा रहेको संस्थानको गोदामलाइनस्थित कार्यालयमा सुपथ मूल्यको पसल सञ्चालन गर्न लागिएको छ । उक्त पसलबाट दसैं, तिहार र छठ पर्वभरी सस्तो मूल्यमा चामल बिक्री गरिनेछ । बजारमा पाइने भन्दा कम मूल्यमा चामल उपलब्ध गराइने संस्थानले जनाएको छ ।
कर्णालीका जिल्लामा मात्र अनुदानमा चामल ढुवानी गर्दै आएको खाद्य संस्थानले यो वर्ष सुर्खेतमा पनि चामल बिक्री गर्न लागेको हो । ठूला चाडपर्वलाई लक्षित गर्दै सुर्खेतमा पनि सस्तो मूल्यमा चामल बिक्री गर्न लागिएको संस्थानले जनाएको छ । चाडपर्वमा नुन र चिनी सहुलियतमा उपलब्ध हुँदै आएकोमा यसपाली चामलमा पनि सर्वसाधारणलाई सहुलियत दिन लागिएको हो । आइतवारबाट आउँदो कात्तिक ९ गतेसम्म संस्थानको सुपथ मूल्यको पसलबाट सस्तो मूल्यको चामल खरिद गर्न सकिनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको संस्थानले जानकारी दिएको छ ।
खाद्य संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाले कात्तिक ९ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालनमा रहने बताए । सुपथ मूल्यको पसलबाट सहुलियत दरमा चामल वितरण गरिने भन्दै उनले यसबाट सर्वसाधारणले राहत महसुस गर्ने विश्वास व्यक्त गरे । ‘बजारको मूल्यभन्दा हामी सस्तोमा बिक्री गर्नेछौंै, यसले कालोबजारी नियन्त्रण हुनेछ’ उनले भने, ‘ठूला चाडबाडको बेलामा बजारमा कालोबजारी हुन्छ, हामी सर्वसाधारणलाई सहज रूपमा सस्तोमा चामल उपलब्ध गराउने छौं । दसैं, तिहार र छठमा कसैले पनि चामलको अभाव भोग्नुपर्ने छैन, सुपथ मूल्यको पसलबाट धेरैलाई राहत मिल्नेछ ।’ हालका लागि एक स्थानबाट मात्र चामल बिक्री गर्न लागिएको भन्दै उनले आगामी वर्षमा भने जिल्लाका अन्य स्थानमा पनि बिक्री गर्ने जानकारी दिए ।
अघिल्ला वर्षहरूमा संस्थानले खाद्यान्न वितरण गर्दै आएको थियो । तर यो वर्ष भने सुपथ मूल्यको पसल नै सञ्चालन गरेर उपभोक्तालाई सस्तोमा चामल बिक्री गर्न लागेको हो । संस्थानका अनुसार प्रतिव्यक्ति ३० किलोका दरले चामल बिक्री गरिनेछ । यस्तै जिरा मन्सुली चामल भने प्रतिव्यक्ति ४० किलोसम्म उपलब्ध गराइने छ । सार्वजनिक बिदाको दिनमा बाहेक अन्य दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पसल खुला रहनेछ । चाडवाडको बेलामा बजारमा मूल्य बढ्ने भएकाले आफूहरूले सस्तो मूल्यमा बिक्री गर्न लागको संस्थानको भनाइ छ । ‘प्रति क्वीन्टल पाँच सय रूपैयाँसम्म छुट हुनेछ, बजारभन्दा हामीकहाँ जनताले सहुलियतमा चामल पाउनेछन्’ थापाले भने, ‘बजारमा तीन हजारमा बिक्री भइरहेको चामल, हामीकहाँ दुई हजार पाँच सयमा पाइनेछ ।’
संस्थानका अनुसार बजारमा प्रति बोरा तीन हजारमा बिक्री भइरहेको बंगलादेशको चामल अब दुई हजार पाँच सय रूपैयाँमा पाइनेछ । यस्तै बर्दियाको मकवानपुरे र वीरगन्जको सोना मनसुली चामल बजारमा प्रति किलो ४० रूपैयाँ पर्ने भएकोमा संस्थानले ३५ रूपैयाँमा उपलब्ध गराउने छ । संस्थानका अनुसार लाहानको जीरा मसिनो चामलको बजार मूल्य प्रति किलो ६० रूपैयाँ रहेकोमा संस्थानले ५५ रूपैयाँमा बिक्री गर्नेछ । त्यसैगरी
वर्षेनी चाडवाडमा खाद्यान्न अभाग झेल्दै आएको कर्णालीका पाँच जिल्लामा पनि संस्थानले खाद्यान्न वितरणलाई तीव्रता दिएको छ । त्यहाँका विभिन्न २५ डीपो र अन्य वितरण केन्द्रहरूमासमेत खाद्यान्न वितरण भइरहेको छ ।
कतिपय स्थानहरूमा खाद्य सामग्री पु¥याउने काममा तीव्रता दिएको संस्थानका प्रमुख थापाले जानकारी दिए । हुम्लामा सुर्खेत र नेपालगञ्ज दुवै स्थानबाट हवाई मार्गबाट खाद्यान्न पु¥याउने काम भइरहेको छ ।

प्रकाशित मितिः   ३१ भाद्र २०७४, शनिबार १४:१८