फेसबुकमार्फत् रकम जुटाएर सूचना केन्द्र
पञ्चपुरी, ३० भदौ ।
सामाजिक सञ्जाल फेसबुकको उपयोग गरी पञ्चपुरी नगरपालिकाको बावियाचौरमा सूचना केन्द्र स्थापना हुने भएको छ । सूचना केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगिसकेको छ ।
असोज महिनाभित्र सञ्चालनमा ल्याइसक्नेगरी सूचना केन्द्रको भवन निर्माणको काम सञ्चालन भइरहेको छ । यहाँका युवाहरूको सक्रियतामा सूचना केन्द्र स्थापना गर्न लागिएको हो । फेसबुकमार्फत् सूचना केन्द्र स्थापनामा सहयोग अपिल गर्दै युवाहरूले रकम संकलन गरेका
थिए । सोही रकमबाट सूचना केन्द्रको भवन निर्माण थालिएपछि अन्य निकायबाट पनि सहयोग प्राप्त भएको जनाइएको छ ।
सूचना केन्द्रका लागि पाँच कोठाको भवन निर्माण गरिएको छ । भवन निर्माण गर्न पञ्चपुरी–४ डाबका मानबहादुर बिकले जग्गा उपलब्ध गराएको भवन निर्माण समितिका संयोजक प्रकाश न्यौपाने जानकारी दिए । करिब १० लाख बराबर खर्च लाग्ने अनुमान गरिएको भवन को ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । भवन निर्माणपछि शान्ति घर निर्माणको अभियान, बृहत
पुस्तकालय, कम्प्युटर कक्षा, ईमेल इन्टरनेट लगायतका सुविधा सूचना केन्द्रबाट दिइने
छ । त्यसैगरी आयोगका तयारी कक्षा, युवा तथा बालबालिकाको लागि क्षमता विकासका कार्यक्रम, व्यवसायमूलक कार्यक्रम, सहकारी सञ्चालन, सार्वजनिक सुनुवाइ, भ्रष्टाचार न्यूनीकरण, समाजिक सवालकाविरुद्ध अभियान, तालिम, गोष्ठी, छलफल, बहस, रेडियो कार्यक्रम, पुस्तक प्रकाशन जस्ता कार्यक्रम सञ्चालन गरिने क्षेत्रीय युवा सञ्जालका अध्यक्ष एवम् जिल्ला युवा सञ्जालका सचिव अमर कार्कीले जानकारी दिए ।
भवन निर्माण गर्ने काम आफैमा चुनौती रहेको र सामाजिक सञ्जाल फेसबुकमा सूचना गर्दा अमेरिकामा बस्ने होमबहादुर भण्डारी, कतारमा कार्यरत मानदेव भण्डारी, चक्रबहादुर थापा, नगेन्द्र शाही, मलेसियामा कार्यरत बमबहादुर नेपाली, भारतमा कार्यरत घनश्याम शाहीले सहयोग प्रदान गरेको उनले जानकारी दिए ।
त्यसैगरी नेपालमा रहेका विभिन्न व्यक्ति तथा संघ–संस्थाले पनि फेसबुकमार्फत् सहयोग उपलब्ध गराएको बताइएको छ । बालबालिका र युवाको समेत कार्यालय रहने गरी स्थापना निर्माण गरिएको भवनलाई सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले क्षेत्र विकास कोषबाट एक लाख र पञ्चपुरी नगरपालिकाको कार्यालयबाट दुई लाख, एकता फाउन्डेसन नेपालबाट एक लाख नौ हजार रकम सहयोग गरिएको छ । भवनको सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टद्वारा आगामी असोज २४ गते उद्घाटन गरिने जनाइएको छ ।
स्थानीय क्षेत्रमा रहेका सामुदायलाई सुशासन, समान पहुँच, जवाफदेही, पारदर्शीता ल्याउनका लागि सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ । सूचनाको माध्यमबाट युवा, बालबालिका, महिला, ज्येष्ठ नागरिक लगाएतलाई क्षमता विकास, आत्मनिर्भर गराउने सूचना केन्द्रले लक्ष्य लिएको छ । समुदायका कुनै पनि नागरिक सूचनाको पहुँचबाट टाढा नरहोस र शान्ति घर निर्माणमा समुदाय लागेर समृद्ध समाज निर्माण गर्ने उद्देश्यका साथ ग्रामीण एकता युवा सञ्जाल बावियाचौरका युवाहरूले सूचना केन्द्रको अवधारणा ल्याएको सञ्जालका सचिव कार्कीले
जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।