‘हाम्रो विवाह फिल्मी शैलीमा भयो’
उनीहरूको प्रेम प्रसंग टेलिभिजनमा देखाइने ‘सिरियल’ को दृश्य भन्दा कति फरक छैन । जीवन्त भट्ट जागिरको शिलशिलामा भारतको नयाँ दिल्लीको एक घरमा कोठा भाडामा लिन पुगे । त्यस समयमा उनी फाइनान्स कम्पनीमा जागिर गर्थे । उनी बसेकै घरबेटीकी छोरी सीमासँग उनको भेटघाट र कुराकानी बाक्लिदै थियो । उनीहरू बीचको भेटघाट र बाक्लिदै गएको कुराकानी विस्तारै मायामा परिणत भयो । दुवैले एकअर्काेलाई मन पराउन थाले । पाँच महिनाको दुईतर्फी कुराकानीले उनीहरू बीचको माया मौलाइसकेको थियो । हाम्रो समाजले अझै पनि आफ्नो देशभन्दा बाहिरको केटा वा केटीसँग बिहे गर्दा सहजै रूपमा स्वीकार गर्दैन । तर जीवन्त र सीमा बीचको मायाले समाजलाई चुनौती नै दियो ।
दुवैले एकअर्कोलाई मन पराउँर्थे तर, बाहिर व्यक्त भने गर्न सकेका थिएनन् । नयाँ दिल्लीको घुम्ने गेटमा पहिलो पटक डेटिङमा गएका जीवन्तले त्यहीं सीमालाई प्रेम प्रस्ताव राखे । सीमाले पनि जीवन्तलाई मन पराउने भएकाले उनको प्रेम प्रस्ताव नस्वीकार्ने कुरै थिएन । सीमाको खुशीको पनि सीमा नै रहेन । जीवन्त र सीमा दुवैले एकअर्काेलाई यतिसम्म मन पराउन थालेकी एकअर्काे विना छुटिनु परे के होला ? माया आखिर माया नै हो । मायाको अगाडि संसारका सबै कुरा फिक्का नै लाग्ने गर्छन् । यो जोडीको लागि पनि आफूहरूको मायाको अगाडि अरु कुरा सबै फिक्का नै थिए । चार वर्षसम्मको प्रेम सीमाको घरपरिवारले थाहा पाए । नेपालको केटासँग छोरीको बिहे नगर्ने अडान लिएपछि जीवन्तले सीमालाई भगाएर काठमाडौं ल्याए । उनीहरूको मायाको अगाडि समाज, घरपरिवार बाधक बने पनि उनीहरूले भने हरेस खाएनन् । तर सीमाको माइतीले सीमालाई घर फर्काउनको लागि काठमाडौं आए । छोरीको मायाका अगाडि उनका बाबुआमाले पनि घुँडा टेके । भारतको रिति र संस्कार अनुसार मागेर विवाह गरिदिने शर्तमा सीमालाई घर लिएर गए ।
भारतको संस्कारमा छोरी भागेर विवाह गर्न हुँदैन भन्ने भएका कारण सीमाका बुबाआमाले पनि उनलाई मागी विवाह गरिदिने भन्दै फिर्ता लिएर गए । छोरीको मायाको अगाडि बाबुआमाले हार खाए । छोरीले मन पराएको केटासँग विवाह गर्दिनौं भन्ने परिणाम छोरी भागेपछि उनीहरूले मागेर विवाह गरिदिने शर्तमा सीमालाई भारत लिएर गए ।
यता जीवन्तको घरपरिवारले पनि आफ्नै नेपालको केटी विवाह गर्नुपर्छ भन्दै जीवन्तलाई दवाव नदिएका होइनन् । तर जीवन्त र सीमाको माया कमजोर थिएन । उनीहरूको मायाको अगाडि दुवैको घरपरिवारले आफ्नो निर्णय त्यागेर छोरा–छोरीको निर्णय अनुसार विवाहको लागि राजी भए । सीमालाई लगेको पाँच महिनापछि भारतको विवाह संस्कार अनुसार जीवन्त र सीमाको २०७२ सालमा मागी विवाह भयो ।
पिता सुरेन्द्रकुमार भट्ट र माता टीकाकुमारी भट्टको कोखबाट सुर्खेतको भैरवस्थानमा जन्मिएका जीवन्त भट्टको बाल्यकाल रमाइलोसँग बित्यो । उनी बाल्यकालमा अलि चकचके स्वभावका थिए । यतिसम्म चकचके थिए की दशैंमा घरको लगाएको रंग माथी हिलो छ्यापेका थिए । दुई छोरा मध्येका कान्छा छोरा भएकाले पनि सबैको माया ममतामा हुर्के । उनको घरको माहोल नै पढ्नुपर्छ भन्ने भएकाले पढाइमा नै ध्यान थियो । उमेर बढ्दै गएपछि उनी पनि जिम्मेवारी बोध गर्दै गए ।
तीन वर्षसम्म भारतमा बसेका जीवन्त २०७० सालमा सुर्खेत फर्केर आफ्नै व्यवसाय सुरु गरे । सुरुमा च्याऊ खेती गरेका जीवन्तले विस्तारै त्यसैलाई बढाए । अहिले उनले प्रोपोटी डेब्लोमेन्ट सञ्चालन गरिरहेका छन् ।
पिता फुल सिंह र माता मेहेन्दी सिंहको कोखबाट २०४९ सालमा भारतको नयाँ दिल्लीमा जन्मिएकी सीमाको बाल्यकाल सुखद् र रमाइलोसँग बित्यो । बाल्यकालदेखि नै शान्त स्वभावकी सीमाले आफ्नो पढाइ भारतमा नै सकिन् । विवाहपछि पहिलो पटक सुर्खेत आएकी सीमालाई सुरुमा नेपाली भाषा बोल्न नआएर समस्या भयो । कसले के भनिरहेको छ उनलाई केही थाहा नै हुँदैनथ्यो । घरमा उनी बोलेको नबुझ्ने र घरका मान्छे बोलेको उनले नबुझ्दा समस्या भयो । अरुले केही सोधे भने पनि उनी खिसिक्क हास्थिन् मात्र । अरुले बोलेको नबुझेर हाँस्ने गर्थिन् । विस्तारै उनले नेपाली भाषा सिक्दै गइन् । जीवन्तले पनि सीमालाई नेपाली भाषा सिक्न सहज बनाउनका लागि पत्रपत्रिका पढ्न पठाउने, समाचार हेर्न लगाउने गर्थे । उनलाई नेपाली भाषा बोल्न र सिक्न डेढ वर्ष लाग्यो ।
सुविधा सम्पन्न सहरमा हुर्किएकी सीमाले विवाहपछि घरमा पनि माइतीको जस्तै माया पाइन् । माइतीमा पाँच बहिनी र दुई भाइ मध्येकी काइली छोरी घरको कान्छी बुहारी बनेर आइन् । बिहेअघि एक्लै सम्मालेका जीवन्तको व्यापारलाई सीमाले पनि सघाइन् । अहिले सीमाले आफ्नै नाममा छुट्टै म्याजिक टच सुरु गरेकी छिन् । दुवैले एकअर्कोको व्यापारमा सघाउने गर्छन् । उनीहरूको एकआपसमा सामान्य झगडा कहिले काहीं हुन्छ तर लामो समयसम्म नबोली बस्न पनि सक्दैनन् । एकै छिनमा सेलाइ हाल्ने झगडा श्रीमान्–श्रीमती बीचमा भइरहने उनीहरू बताउँछन् । यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । जीवन्तलाई सीमाको सबैसँग मिल्ने बानी मनपर्ने गर्छ । त्यस्तै सीमालाई पनि जीवन्तको आफूले भनेको कुरा सबै मान्ने बानी मनपर्ने गर्छ ।
यो जोडी एकअर्काेको जन्म दिन र विवाह गरेको वर्ष आउँदा केक काटेर घरपरिवारसँग रमाइलो गरेर मनाउने गर्छन् । एकअर्काेमा गिफ्ट पनि आदान–प्रदान गर्ने गर्छन् । विवाहपछि जीवन्तले सीमालाई नेपालको काठमाडौं, नेपालगन्ज, कैलाली, टिकापुर र सुर्खेतका सबै ठाउँमा घुमाइसकेका छन् । यो जोडीका लागि जीवन भनेको एउटा यात्रा हो । जीवनमा आफू मात्र सुखी हुन्छु भन्ने व्यक्ति कहिले सफल सक्दैन । व्यक्ति सुखी हुनको लागि पहिला परिवार सुखी बनाउन जरुरी छ । उनीहरूका अनुसार जीवनसाथी भनेको सुख दुःखमा साथ दिने साथी हुन् । एकअर्काेलाई दुःख पर्दा साथ दिने मनभित्रका कुरा शेयर गर्ने साथी हुन् । विवाहपछि दुई व्यक्तिको मात्र नभइ दुई परिवारबीचको पनि सम्बन्ध जोडिएको हुन्छ । वैवाहिक सम्बन्ध सँगसँगै परिवारबीचको सम्बन्धलाई पनि मजबुद बनाउनसकेमा मात्र सफल जोडी बन्न सकिने उनीहरूको भनाइ छ । उनीहरूले जोडी दुवै आत्मनिर्भर भएमा सम्बन्ध झन् दिगो हुने बताए ।
साझा बिसौनी संवाददाता ।