म यस्तो सहर खोजिरहेछु

उही घाम हो नुतन बिहानी बोकेर उदाउने । उही सहर हो, यो मैले मेरा पैतालाहरू खियाइरहेको । अस्ताएपछि आकाशमा मुस्कुराइरहेको जून । रित्तिएपछि अँध्यारो रात । र, आउँछ बिहान । उस्तैगरी उही समयमा आउने विहान त्यही हो । तर फेरिएको छ बिहानीमा देखिने यो सहरको दृष्य ।

बिहानीमा मानिसहरूलाई ब्यूँझाउन भालेको ‘कुखुरी काँ’ को सट्टामा गाडीका ठूला–ठूला आवाजहरू सक्रिय बनिदिने गर्छन् । बाटोहरूमा कुकुर डो¥याउँदै ठूलाबडा मानिसहरू बडो गज्जवका साथ ‘मर्निङ वाक’ गरिरहेका हुन्छन् । यस्तो देख्दा त कहिले कहीं लाग्छ, मान्छेहरू निकै ठूला भइसके, एकले अर्कोलाई चिन्ने फुर्सद छैन । बोल्ने त झन् टाढाको कुरा हो । एक–अर्काको कानमा हेडफोन वा इयरफोन लगाए दौडिए । भजन किर्तन त पूराना भइसके, ¥याप गीतले दौडिन इनर्जी दिन्छ, अचेल । मानिसहरूका बिहानीपखहरू त यसैगरी बित्छन्, अचेल ।
अब मान्छेहरूका दैनिकहरू त सहरका महलहरूमाथिका सटरसँगै खुल्ने गर्दछन् । पसल चाहे, खाद्य, मेडिकल, कपडा, इलोक्ट्रोनिक्स जे हुन् सबसँग एउटा भगवानको पोस्टर हुन्छ, हातमा घण्टी बजाउँदै माग्न थाल्छन् ‘हे भगवान् आज मेरो यो होस्, ऊ होस्…’
दैनिकीको रेसमा अब सबै दिनभर दौडिन्छन्, कोही केहीमा, कोही–केहीमा । यद्यपी दौडिरहन्छन् हरकोही । मानौं, यो कुनै स्वर्णपदक जित्नैपर्ने म्याराथुन हो, र उनीहरू त्यसका प्रतियोगी धावक ।
अस्ताउन लागेको सूर्य क्षितिजमा पुग्दा, मानिसहरू बन्द गर्न थाल्दछन् आ–आफ्ना दैनिकीहरू । बाकसभरी भरिएका पैसा, दिनभरी घटेका घटना, नाफा–नोक्सान । आ–आफ्ना थकानहरू गफसँगै मेट्न थाल्छन् ।
म ठ्याक्कै उही किरायाको घरको छतमा उभिएर नियाल्न थाल्छु यी मान्छेहरू, बिहान, दिउँसो अनि अँध्यारा क्षितिजहरू । म पनि भिन्न त होइन यी सहरहरूदेखि तै पनि अपरिचित नै छु । मलाइ याद छ, म यस सहरमा पुग्नुभन्दा अघि पनि यी सहरहरू यति नै व्यस्त देखिन्थे रे । अचेल पनि उस्तै छन् । मानिसहरूका यात्रा कति सकिए या लम्बिए त्यो म आँकलन गर्न सक्दिन ।
यो सहर रातमा उस्तै झिलमिल देखिन्छ जति दिउँसोमा देखिन्छ । ‘थ्री इडियट’ फिल्ममा एउटा डाइलग छ ‘लाइफ एक रेस है, जित्ना चाहो दौडो बरना तुम्हे कुचलकर और कोही आगे चलाजाएगा’ बस त्यस्तै ‘फरमुला’ लागू छ । यो सहरमा पनि ।

साथी यस्ता भेटिन्छन् जो साथी हुँदै हुन्नन् । ‘म मर्दैछु’ भन्ने खबर सुने भने पनि म विजी छु, भोलि आउँछु है’ भन्न बेर
लाउँदैनन् । भित्र त थ्री इडियटको अमिर खान जस्ते हुनुप¥यो, त्यति नभए पनि अरु दुई जस्ता भएन पुग्थ्यो । तर यहाँ त आफूलाई पर्दा भगवान् बनाइदिन्छन् उसैलाई केही भएमा छिट्टै लत्याइदिन्छन् ।

यो सहरमा ठूला–ठूला विकासका काम भएका छन् । प्रत्येकका घर अगाडि सिमेन्टले टल्किएका चिल्ला बाटोहरू बनेका छन् । घर–घरमा पानीका धारा छन् । बाटो भरी अटि नसक्ने गाडी, स्कुटी, मोटरसाइकल गुडेका छन् । ठूला–ठूला मानिएका पहाडहरू अहिले जमिनमा सम्मै पारेर चिल्ला बाटो बनिसके । बच्चा–बच्ची, युवायुवती, बुढापाखा सबै फेशनको दुनियाँमा छन् । यो दुनियाँमा अट्न नसकेकाहरू कोही अनाथालयमा छन्, कोही बुद्धाश्रममा
छन् । फटाहहरू बस्न बनाएका जेलहरूमा ठाउँ नपुगी बेवारिसे सहरमा छोडिएका छन् ।
के छैन र सहरमा ?

हिजोसम्म छोरा–छोरी सहर पढाउन छ भन्दै गाउँमा टन्टलापुर घाममा हलो जोत्ने रामेका ‘बा’ आजभोलि सहर पसेका छन् । अब छोराछोरीले सही बाटो लागे त ठीकै छ, गलत भयो भने नि के होला ?
अनेकौं रहर बोकी सहर पसेकी छिमेकी दिदीलाई खोइ कसले हो बलात्कार गरेर मा¥यो रे ? पैसा कमाउन आएका दाई खै के–के गरेर जेलमा छन् रे ? अस्ती प्रेममा धोका खाएकी त्यहीँ परकी बैनीले आत्महत्या गरिन् रे । त्यस्तै कस्को भान्जाले धोका खाएँ भनेर विषै खाएर आत्महत्या ग¥यो रे ।
के गर्न हुन्छ ? के गर्न हुन्न ? के बन्नु छ ? के बन्न छैन ? के राम्रो ? के नराम्रो ? अझै पीडाको कुरा कसरी मर्लान ? मान्छेहरू अरुलाई सुनाउने भए पनि असफलताका कहानीहरू बनाउँछन्, बेसरी डराइदिन्छन् । सैतानी दिमागहरू सक्रिय देखिन्छन् ।

झिलिमिली सहरसँगै मानिसहरूको सोच पनि प्रष्ट, उज्याला, सकारात्मक भैदिँदा हुन त कति राम्रो हुँदो हो । जहाँ सफलता र प्रेरणाका कुराहरूले बास पाउँदा हुन त कत्ति राम्रो हुँदो हो । बुबा–आमाका सपना अनि छोराछोरीका चाहानाहरू मेल खाँदा हुन त कत्ति राम्रो हुँदो हो । बाटोमा दाइ भनी जोडिएका सम्बन्धहरू दाइ भाई, दिदीबहिनीमै रहँदा हुन त कत्ति राम्रो हुँदो हो । साना भनिएका भाइ–बहिनीहरूले प्रेमका नाममा अनेकौं खराब काम नगर्दा हुन त कति राम्रो हुँदो हो । जसलाई प्रेमको सुरुवात नै थाहा छैन उनीहरू नै अन्त्येष्टि गर्न भन्दै पासो नलगाउँदा हुन त कति राम्रो हुँदो हो ।
हो, राम्रो हुँदो हो, ती बुढा आमाबाका आँखाका आसु पुछिदिने छोराछोरी बनिदिँदा हुन् त । प्रेमलाई प्रेम मानिदिने मनहरू हुँदा हुन त । पैसा–पैसा भन्नेहरूले सम्बन्धलाई जानीदिँदा हुन् त । तब यो शहर शहरजस्तै हुनेथियो । बदनाम हुनेथिएन ।

म पुनः नियाल्न सकुँ यो झिलिमिली सहरलाई खुल्ला आँखाले र भन्न सकुँ ‘साँच्चै सहर बनिसकेछ, हामी बस्ने जस्तै । मैले खोजेजस्तै ।’

प्रकाशित मितिः   ३१ भाद्र २०७४, शनिबार १४:१३