भाडादर निर्धारण गर्ने सहमति
सुर्खेत, २९ भदौ ।
प्रहरीले नियन्त्रणमा लिएका अटोरिक्सा दुई दिनपछि छोडेको छ । वीरेन्द्रनगरमा आफूखुशी सञ्चालन भइरहेका अटोरिक्सालाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको थियो । तर अटोरिक्सा र टेम्पो व्यवसायीहरू यसलाई व्यवस्थित गर्न सहमत भएपछि नियन्त्रणमा राखिएका सबै अटोरिक्सा बिहीवार छोडिएको हो ।
अटोरिक्सा गैरकानुनी रूपमा सञ्चालन भएको र भाडा पनि आफूखुशी लिने गरेको जनगुनासो आएपछि प्रहरीले वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका तीन सय २६ वटा अटोरिक्सा नियन्त्रणमा लिएको थियो । अटो सञ्चालक र जिल्ला यातायात समितिबीच बिहीवार सम्पन्न वार्तामा चार बुँदे सहमति भएको छ । सहमतिमा व्यवसायीहरू सबै शर्त मान्न तयार भएपछि कागज गराएर अटोरिक्सा छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला यातायात समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको अध्यक्षतामा वार्ता भएको हो । वार्तामा अब अटोरिकसा र टेम्पोलाई व्यवस्थित गर्ने सहमति भएको छ । यस्तै व्यवसायीहरू पनि अटोरिक्सालाई व्यवस्थित बनाउन सहमत भएका छन् । छलफलपछि चार बुँदे सहमति भएको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख कविराम सेन्चुरीले
बताए । उनका अनुसार अब व्यवसायीहरूले २० दिनभित्रमा अटोरिक्सा यातायात कार्यालयमा दर्ता गर्नुपर्नेछ । हाल जिल्लामा अधिकांश अटो निजी नम्बर प्लेटका रहेकाले तिनलाई सार्वजनिक भाडाको नम्बर प्लेटमा दर्ता गर्न निर्देशन दिइएको छ ।
‘अधिकांश रातो प्लेटका छन्, अब भाडाको प्लेटमा दर्ता गर्न भनेका छौं’ सेन्चुरीले भने, ‘अबको २० दिनभित्र उहाँहरूले दर्ता गर्नुपर्नेछ, यस्तै रुट परमिट पनि लिन भनेका छौं । उहाँहरू यसमा सहमत हुनुभएको छ, सहमति नमाने हामी फेरि कारबाही गर्न बाध्य हुनेछौं ।’ यस्तै आफूखुशी भाडा असुल्ने कार्यलाई रोक्न पनि निर्देशन दिइएको छ । यो सहमति अनुसार अब अटोरिक्साको वैज्ञानिक भाडादर निर्धारण गरिनेछ । त्यसको जिम्मा वीरेन्द्रनगर नगरपालिका कार्यालयलाई दिइएको छ । अब नगरपालिकाले नै भाडादर निर्धारण गर्नेछ । सोही अनुसार भाडादर कायम गर्न अटो सञ्चालकहरू सहमत भएका छन् । हाल व्यवसायीहरूले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका छन् । अब यो कार्य रोकिने अपेक्षा गरिएको छ ।
अटोरिक्सा छोड्नुपर्ने माग गर्दै व्यवसायीहरू बिहीवार जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । अधिकांश अटो चालकसँग लाइसेन्स नै नभएको पाइएको छ । स्थानीय प्रशासनको रोहवरमा भएको छलफलपछि सवारी चालक अनुमतिपत्र तत्काल खुलाउनका लागि यातायात व्यवस्था कार्यालय भेरीलाई आग्रह गर्ने निर्णय गरिएको छ । यस्तै अब जिल्लामा स्थानीय रुट पहिचान गर्ने, भाडादर निर्धारण गर्ने, निश्चित पार्किङ्ग स्थल तोक्ने र जिल्लामा अटोरिक्साको संख्या निर्धारण गर्ने सहमति भएको छ ।
सार्वजनिक सवारी साधनहरूको कानुन बमोजिम नियमित अनुगमन पनि गरिनेछ । छलफलमा प्रमुख जिल्ला अधिकारी कार्कीले नगरमा सवारीको चाप बढेको भन्दै अहिलेबाटै उचित व्यवस्थापन आवश्यक रहेको बताए । यही दरमा सवारी साधनको संख्या भित्रिदै गए व्यवस्थापनमा समस्या आउने चिन्ता व्यक्त गरे । सो अवसरमा अटो चालक र व्यवसायीहरूले तत्काल लाइसेन्स खुलाउनुपर्ने माग गरे । लाइसेन्स नखुलेका कारण समस्या भएको भन्दै उनीहरूले सहमति पालना गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
साझा बिसौनी संवाददाता ।