तीन महिनापछि पुग्यो जीप

चौकुने, २९ भदौ ।
वर्षासँगै अवरुद्ध भएको सडक स्थानीयले मर्मत गरेपछि चौकुने गाउँपालिकाको लगाम र बेतानमा नियमित सवारी सञ्चालन हुन थालेको छ । तीन महिनादेखि अवरुद्ध सडक पुनः सुचारु भएपछि स्थायीबासी हर्षित भएका छन् ।
गत असारदेखि सडक अवरुद्ध थियो । सडक अवरुद्ध हुँदा स्थानीयबासी दिनभर पैदल हिँडेर यात्रा गर्न बाध्य थिए । केही समय अगाडि स्थानीय युवाहरूको पहलमा बिजौरादेखि लगामसम्मको सडक मर्मत गरे पनि एक केही ठूला खाल्डाहरूको कारण नियमित जीप चल्न सकेको थिएन । गत सोमवार युवा जुनियर रेडक्रस लगामको पहलमा सडकका खाल्डा पुरेपछि नियमित रूपमा जीप सञ्चालन हुन थालेको हो । रेडक्रसका संयोजक जीतबहादुर तिरुवाको अनुगवाइमा युवा सञ्जाल, स्थानीय व्यापारी, शिक्षक, जनप्रतिनिधि, विद्यार्थी, प्रहरी लगायतको टोलीले सिमलखेतबाट लगामसम्म खाल्डाखुल्डी पुरी बाटो मर्मत गरेको हो । अहिले लगामसम्म जीप नियमित सञ्चालन हुन थालेको छ ।
सडक मर्मतका लागि स्थानीयले पटक–पटक सम्बन्धित निकायसँग माग गरे पनि आलटाल गरेपछि उनीहरू आफै सडक मर्मतमा जुटेका हुन् । सम्बन्धित निकायले बेवास्ता गरेपछि आफै एकजुट भएर सडक मर्मत गरेको बताउँछन् चौकुने–२ लगामका मोतिसिंह बोहोरा । असार महिनायता सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती त भएकै थियो । यसको थप असर स्थानीय व्यवसायीहरूले भोगिरहेका थिए । यातायातका साधन सञ्चालन नहुँदा व्यापारका लागि सामग्री लिन नपाएको स्थानीय व्यापारीहरूले बताएका छन् । लगामका स्थानीय व्यवसायी रूपसिंह राम्जालीले सवारीका साधन सञ्चालन नहुँदा बिजौराबाट भरियाद्वारा चर्काे रकम तिरेर सामान ढुवानी गर्नुपरेको गुनासो गरे । यसले गर्दा व्यापारमा नोक्सानी भएको उनको भनाइ थियो । अब नियमित सवारी चल्ने भएपछि भने आफूहरूलाई सहज हुने उनले बताए ।
लगाम र बेतानमा सञ्चालन हुने यातायातका साधन भनेकै एकमात्र जीप हो । वर्षायामसँगै बिजौरा–लगाम सडकखण्ड अवरुद्ध हुँदा यहाँका स्थानीय कष्टकर यात्रा गर्न बाध्य थिए । सामान्य ज्वरो, पखाला, सुत्केरी व्यथा जस्ता अन्य जटिल बिरामीलाई पनि एकदिनभर स्टेचर वा डोकोमा बोकेर गाडि चढ्न बिजौरा पुग्ने गरेको पीडा स्थानीयसँग छ ।
लगामका स्थानीयकै करिब ३१ लाख लगानीमा १० वाट क्षमता भएको बेदखोलिपिको जलविद्युत आयोजना पनि सडक अवरुद्ध भएकै कारण निर्माणमा ढिलाइ भएको थियो । यही भदौ महिनामा नै सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य थालिएको आयोजनाका लागि आवश्यक सामग्री ढुवानी हुन नसक्दा ढिलाइ भएको आयोजना उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर पौडेलले बताए । तत्कालका लागि जीप सञ्चालन हुनसक्ने गरी सडक मर्मत गरिए पनि गाउँपालिका र सडक डिभिजन कार्यालय लगायतका सम्बन्धित निकायले उक्त सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्ने माग स्थानीयबासीले गरेका छन् ।

प्रकाशित मितिः   ३० भाद्र २०७४, शुक्रबार ०८:३०