अटो रिक्सा प्रहरीको नियन्त्रणमा

सुर्खेत, २८ भदौ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सञ्चालन गरिएको अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । लाइसेन्स र ब्लुबुकविना सञ्चालन गरेको, मनपरी भाडा लिएको लगायतका गुनासो नागरिकबाट आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बुधवार करिब सात सय अटो रिक्सा नियन्त्रणमा लिएको हो । उनले अटो रिक्सा चलाउन आवश्यक कागजपत्र विना चलाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अटो व्यवसायीहरूले आफूखुशी भाडा असुल गर्ने गरेको, सवारीको रुट परमिट नभएको, सवारी चालक अनुमतिपत्र विना चलाएको, आवश्यक भन्दा तीव्र गतिमा चलाएको लगायतका गुनासो आएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले जानकारी दिए ।
‘सीमित एक दुई जनाबाहेक अरु कसैसँग पनि सवारी चालक अनुमतिपत्र रहेनछ’ एसपी आचार्यले भने, ‘मनपरी भाडा असुल्दै लापरबाही तरिकाले सञ्चालन गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।’ उनले रिक्सा चालकहरूलाई सचेत बनाएर छोडिने जनाए । व्यवसायीहरूले भने अनुमतिपत्र वितरण कार्य रोकिएकाले लाइसेन्स लिन ढिलाइ भएको जनाएका छन् । साथै उनीहरूले अटो रिक्साका लागि लाइसेन्स लिने र रुट परमिटका बारेमा कुनै पनि निमावली नभएको जनाएका छन् ।

प्रकाशित मितिः   २९ भाद्र २०७४, बिहीबार १६:०६