आइपुग्यो सुरुङ्ग खन्ने मेसिन

जडान गर्नै दुई महिना लाग्ने, खन्ने काम मंसिरबाट, दुई वर्षमा सक्ने लक्ष्य


सुर्खेत, २७ भदौ ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा सुरुङ्ग खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) आइपुगेको छ । चीनबाट ल्याइएको यो मेसिन दुई महिना लगाएर निर्माण स्थलमा ल्याइएको हो । मेसिन आएसँगै अब आयोजनाको पहिलो र महŒवपूर्ण मानिएको सुरुङ्ग निर्माणको कामले गति लिनेछ ।
हालसम्म मजदुरबाट डेढ सय मिटर सुरुङ्ग खनिएको छ । सुरुङ्गको बाँकी भाग अब मेसिनले नै खन्नेछ । भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमानामा रहेको बबई नदीमा खसालेर विद्युत उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले यो आयोजनाको काम सुरु भएको हो । चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर लामो सुरुङ्ग खनेर भेरी नदीको पानी बबईमा खसाल्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ । टीबीएम मेसिन आएसँगै अब सुरुङ्ग खन्ने काम उक्त मेसिनले नै गर्नेछ ।
मेसिनसहितको ५५ कन्टेनर सामान आयोजना निर्माण स्थलमा आइसकेको छ । यस्तै मेसिनको मुख्य भाग बुधवार बिहानसम्म आयोजना स्थलमा पुग्नेछ । पाँच वटा ट्रकमा लोड भएको उक्त सामान ढुवानीका लागि मंगलवार रातीबाट बुधवार बिहानसम्म रत्नराजमार्ग अन्तर्गत कोहलपुरदेखि बबईसम्मको खण्डमा अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ । मेसिनको भार धेरै भएको र सडकको क्षमता कमजोर भएकाले मेसिनको ढुवानीमा असर नहोस् भन्दै अन्य सवारीलाई रोक लगाइएको हो । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार बुधवार बिहानसम्ममा मेसिनको मुख्य भाग पनि निर्माणस्थलमा पुग्नेछ । मेसिनमा जडान हुने अन्य सामानहरू भने निर्माणस्थलमा पुगिसकेको छ ।
यो आयोजनाको पहिलो काम नै सुरुङ्ग निर्माण
हो । सुरुङ्ग निर्माण स्थलमा टीबीएम मेसिन स्थापनाका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । नेपालमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेसिनमार्फत् सुरुङ निर्माण गर्न लागिएको हो । आयोजना प्रमुख बस्नेतले भने, ‘आयोजनाको मुख्य काम नै सुरुङ्ग निर्माण हो, त्यसका लागि सबै पूर्वाधार तयार पारेका छौं । अब मेसिन पनि आइपुग्यो, यो जडान हुन कम्तीमा दुई महिना समय लाग्नेछ ।’ उनका अनुसार यो मेसिन जडानका लागि इटलीबाट प्राविधिकहरू आउनेछन् । आउँदो मंसिर पहिलो साताबाट मात्र मेसिनले खन्ने काम सुरु हुनेछ । ‘मेसिनले मंसिरदेखि खन्ने काम गर्नेछ, सुरुङ्ग निर्माणको काम अबको दुई वर्षभित्र सम्पन्न हुनेछ’ बस्नेतले भने, ‘सुरुङ्ग निर्माण भएपछि मात्र अन्य काम हुनेछन्, त्यसपछि मात्र आयोजनामा विद्युत उत्पादन र सिँचाइको काम हुनेछ ।’
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङ्गमार्फत् प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य रहेको छ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ उपलब्ध गराइनेछ । आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले पहिलो चरणमा सुरुङ्ग निर्माण, दोस्रो चरणमा विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा मात्र भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजना रहेको जानकारी दिए । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको यो आयोजनामा १७ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यो आयोजनाको २०७१ चैत १९ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । शिलान्यास भएपछि आयोजना निर्माणको काम चलिरहेको छ । तर मेसिन आउन समय लागेपछि आयोजनाको मुख्य कामको रूपमा रहेको सुरुङ्ग निर्माणको काम रोकिएको थियो । अब सुरुङ्ग निर्माणको गति बढ्ने र यो काम सकिने वित्तिकै ड्याम र विद्युतगृह पनि तयार हुने आयोजनाले जनाएको छ । चुरो पहाड रहेकाले बीचमा कुनै समस्या नआए अबको दुई वर्षभित्र सुरुङ्ग खन्ने काम सम्पन्न हुने अनुमान गरिएको छ । कडा चट्टान नभए तोकिएकै अवधिमा काम सक्ने दाबी ठेकेदार कम्पनीले गरेको छ ।

प्रकाशित मितिः   २८ भाद्र २०७४, बुधबार १६:४२