लिफ्ट सिँचाइको सर्वेक्षण
गुर्भाकोट, २७ भदौ ।
गुर्भाकोट नगरपालिकामा लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि सर्वेक्षण गरिएको छ । गुर्भाकोटको वडा नम्बर १० र ११ का विभिन्न स्थानमा आयोजना सञ्चालनका लागि प्रारम्भिक सर्वेक्षण गरिएको हो ।
भेरीबबई आयोजनाका प्राविधिक ईन्जिनियर हरि पौडेल, इन्जिनियर बमबहादुर कार्की, गुर्भाकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष भीम केसी र स्थानीय मदनबहादुर खत्री लगायतको एक टोलीले मंगलवार स्थलगत अध्ययन तथा प्रारम्भिक सर्वेक्षण गरेको हो ।
सिँचाइको अभावमा वर्षौदेखि बाँझो रहेका जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले लिफ्ट सिँचाइ आयोजना सञ्चालनका लागि सर्वेक्षण गरिएको हो । आयोजना निर्माणका लागि भेरीबबई आयोजनाको आर्थिक सहयोग रहनेछ । मंगलवार प्रारम्भिक अध्ययन गरिएको र अब विस्तृत अध्ययनपछि चरणवद्ध रूपमा सिँचाइ आयोजना निर्माण गरी भेरीबबई डाइभर्सनका प्राविधिक इन्जिनियर हरि पौडेलले जानकारी दिए ।
उक्त आयोजना सञ्चालन हुने स्थानहरूमध्ये गुर्भाकोट नगरपालिका १० को भेडावारी पुलचौक, फूलवारी टोल, तल्लो र माथिल्लो झ्याँक्रेघारी टोल, भेडावारीकै लामिताले टोल, खरायचौर तथा वडा नम्बर ११ को आँपसोती टोल, वर्मागार टोल र अवलसुर्मासम्म प्रारम्भिक चरणको सर्वेक्षण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर १० का अध्यक्ष भीम केसीले जानकारी दिए । लिफ्ट सिँचाइ आयोजना निर्माण भएमा त्यसक्षेत्रमा सिँचाइको सुविधा सहजै प्राप्त हुने उनले जनाए ।
साझा बिसौनी संवाददाता ।