अन्तरजातीय विहे गर्दा कुटियो दलित परिवार
सुर्खेत, २७ भदौ । गैरदलितकी छोरी विहे गरेकै कारण सुर्खेतमा एक दलित परिवारमाथि आक्रमण भएको छ । जिल्लाको बराहताल गाउँपालिकास्थित दमारमा गैरदलितले मध्यरातमा दलित परिवारमाथि आक्रमण गरेका छन् । आक्रमणपछि गम्भीर घाइते भएका दुई जनाको अहिले मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।
आइतवार राती १२ बजे चार जनाको संख्यामा आएका व्यक्तिहरूले गैरदलितकी छोरी भगाउने स्थानीय बलबहादुर विक, उनका बाबु भक्तबहादुर र आमा अमृतामाथि आक्रमण गरेका हुन् । उक्त समूहले भक्तबहादुर र अमृतालाई घरको माथिल्लो तलाबाट खसालेका थिए । यस्तै उनीहरूले आफूहरूको हात बाँधेर कुटपिट गरेको पीडितले बताएका छन् । गम्भीर घाइते भएका भक्तबहादुर र अमृतालाई उपचारका लागि सोमवार दिउँसो क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरूका छोरा बलबहादुरको अवस्था भने अज्ञात रहेको छ ।स्थानीयका अनुसार आक्रमण गर्ने समूहले नै बलबहादुरलाई हात बाँधेर लगेको छ । उनको अवस्था हालसम्म पनि सार्वजनिक भएको छैन । पीडितका आफन्तले भने कुटपिटपछि बलबहादुरलाई बेपत्ता बनाइएको जनाएका छन् ।
गत असार १४ गते बलबहादुर विकले दैलेखको तल्लो डुङ्गेश्वर निवासी रम्मा शाहीलाई भगाएर विहे गरेका थिए । भागेर विहे गरेका उनीहरू माइती पक्षले खोस्ने त्रासका कारण लुक्दै आएका थिए । तर केही दिन पहिला उनीहरू घरमा पुगेको जानकारी पाएपछि केटी पक्षले शनिवार राती रम्मालाई खोसेर लगेका थिए । छोरी फिर्ता लिएको भोलिपल्ट आइतवार राती केटा पक्षको घरमा आक्रमण भएको हो ।बलबहादुरका दिदी कृष्णा सुनारले आफ्नो भाइलाई केटी पक्षले बेपत्ता बनाएको बताइन् । उनले भनिन्, ‘मध्यरातमा घरमा आक्रमण गरे, बुबा र आमालाई मरणासन्न हुनेगरी कुटे । मेरो भाइलाई पनि उनीहरूले नै बेपत्ता बनाएका छन्, तल्लो जातसँग विहे गरेको भन्दै बुहारीलाई पनि खोसेर लगे ।’ कुटपिटका कारण भक्तबहादुर र अमृता बेहोस भएका थिए । उनीहरूले रगत वान्ता गरेको र शरीरभरी घाउ रहेको अस्पतालले जनाएको छ । अमृता अहिले पनि बेहोस अवस्थामा छिन् । स्थानीय बासिन्दाले उनीहरूलाई उपचारका लागि अस्पताल ल्याएका हुन् । घटनापछि दलित परिवार थप त्रसित बनेको छ ।
अन्तरजातीय विवाह गरेकै कारण दलित परिवारमाथि मध्यरातमा आक्रमण भएको भन्दै दलित अधिकारकर्मी बसन्त विकले दोषीमाथि कडा कारबाहीको माग गरे । साथै उनले पीडकविरुद्ध उजुरी दिने तयारी भइरहेको बताए ।घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेको छ । यस्तै घटनाको बारेमा थप अनुसन्धान भइरहेको र दोषीको खोजी कार्य पनि जारी रहेको प्रहरीको भनाइ छ । यता केटी पक्षले आफ्नो छोरी फिर्ता ल्याएको भए पनि कुटपिट नगरिएको दाबी गरेको छ । केटीका दिदी विष्णुकुमारी शाहीले केटाको घरमा पुगेर बहिनीलाई ल्याएको स्वीकार गरिन् । तर भोलिपल्ट कुटपिट भएको भन्नेबारे आफूहरूलाई थाहा नभएको उनको भनाइ छ । केटाले आफू थापाको छोरा भन्दै बहिनीलाई फसाएकाले आफूहरूले बहिनीलाई घरमा फिर्ता ल्याएको उनको दाबी छ । जिल्लामा पछिल्लो समय जातीय विभेद र कुटपिटका घटनाहरू बढ्दै गएका छन् ।
प्रकाशित मितिः २७ भाद्र २०७४, मंगलवार ११:४१
साझा बिसौनी ।