भ्रूण हत्या रोक्ने साझा अठोट

गर्भमा छोरा वा छोरी रहेको पहिचान गरेर भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहित गर्न मेडिकल सञ्चालकहरू सहमत भएका छन् । निजी मेडिकलहरूमा लिङ्ग पहिचान गर्दै छोरा भए जन्माउने र छोरी भए गर्भपतन गराउनेको संख्या बढेपछि मेडिकल सञ्चालकहरू यसलाई रोक्न तयार भएका हुन् । उनीहरूले अब लिङ्ग पहिचान गर्न आउनेलाई फिर्ता पठाइदिने बताए ।

लिङ्ग पहिचान गरेर भ्रूण हत्याको क्रम बढेपछि उनीहरूले अब यसलाई रोक्न सामूहिक प्रतिबद्धता जनाएका हुन् । गर्भमै हुने छोरीको हत्या रोक्नलाई अब आफूहरूले लिङ्ग पहिचानको कामलाई सहयोग नगर्ने उनीहरूको भनाइ छ । यस्तै अनुमति लिएका स्वास्थ्य संस्थामा मात्र गर्भपतनका लागि सल्लाह दिने उनीहरूले बताए । अवैध रूपमा हुने गर्भपतनले महिलाको स्वास्थ्यमा गम्भीर असर पुगेको र लिङ्ग पहिचानका कारण छोरीहरूको गर्भमै हत्या हुन थालेको भन्दै मेडिकल सञ्चालकहरूले अब यसलाई पूर्णरूपमा निरुत्साहित गर्ने लिखित प्रतिबद्धता जनाए ।
‘हामी छोरीको बाँच्न पाउने अधिकारप्रति सचेत छौं, गर्भमै छोरीहरू मारिनु हुँदैन’ नेपाल औषधि व्यवसायी संघका जिल्ला अध्यक्ष प्रेम भण्डारीले भने, ‘अब जिल्लाका कुनै पनि मेडिकलमा भ्रूणको लिङ्ग पहिचान हुनेछैन, यसलाई हामी पूर्णरूपमा निरुत्साहित गर्नेछौं । अवैध रूपमा हुने गर्भपतन रोक्न हामी प्रतिबद्ध छौं, छोरीले पनि सम्मानपूर्वक बाँच्न पाउनुपर्छ ।’ जनचेतनाको अभाव र छोरा मोहका कारण लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गरिएको भन्दै उनले अब जिल्लामा यसलाई निरुत्साहित गरिने उल्लेख गरे । गर्भमै हुने छोरीको हत्यालाई रोक्न आफूहरू प्रतिबद्ध रहेको भन्दै निजी मेडिकल सञ्चालकहरूले यसविरुद्धको अभियानमा पूर्ण साथ रहने बताए ।

यस्तै धर्मगुरुहरूले पनि भ्रूण हत्या रोक्ने वचन दिएका छन् । लिङ्ग पहिचानपछि हुने भ्रूण हत्याका कारण छोरीको जन्मदर घटेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे । आइतवार वीरेन्द्रनगरमा सम्पन्न लिङ्ग पहिचानको आधारमा हुने भ्रूण हत्या रोकथाम सम्बन्धी कार्यक्रममा विभिन्न धर्मका गुरुहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । सनातन धर्म सेवा समितिका दुर्गाप्रसाद गौलीले भने, ‘धर्मले छोरी मात्र चाहिन्छ भनेको छैन, छोरीलाई कुनै विभेद पनि गरेको छैन । तर धर्मको गलत प्रचार भयो, मान्छेहरूमा छोराले मात्र वंश थेग्छ भन्ने गलत भ्रम फैलियो ।’ हिन्दू धर्ममा छोरी अर्थात् महिलाको स्थान उच्च रहेको भन्दै उनले धार्मिक मान्यताले छोरा र छोरीलाई समान स्थान दिएको बताए ।

इसाई समाजका उपाध्यक्ष गुमानसिं बस्यालले बाईबलले पनि छोरीलाई विभेद नगरेको बताए । उनले भने, ‘हाम्रो बाईबलमा छोरा नै जन्माउने भन्ने छैन, छोराले मात्र धर्म जोगाउँछ भन्ने पनि छैन । समाजका गलत मान्यता स्थापित भयो, अब छोरीको जीवन रक्षाका लागि सबैले हातेमालो गरौं ।’ उनले छोरी भएकै कारण भ्रूणमा हुने हत्यालाई रोक्न आफूहरू चेतनामूलक अभियान सञ्चालन गर्न तयार रहेको जनाए । ‘मान्छेहरू नेपालगन्ज गएर लिङ्ग पहिचान गर्न थाले, छोरीहरूको त गर्भमै हत्या हुन थाल्यो’ महिला अधिकारकर्मी निशा पौडेलले भनिन्, ‘शिक्षित र
धनीहरूमा नै छोरा मोह बढी छ, उनीहरू नै गर्भपतन गराउँछन् । अब छोरीहरूले त जन्मनै नपाउने भए, यसले हाम्रो सामाजिक संरचना नै अस्तव्यस्त हुनेभयो ।’ चेतना भएकाहरूबाटै भ्रूण हत्या हुने गरेको भन्दै उनले कानुनी कारबाहीको दायरा बढाउनुपर्ने बताइन् ।

सो अवसरमा जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधिहरूले कानुनको कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनीहरूले छोरा र छोरीबीचको विभेद अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बालिकाको जीवन रक्षाको क्षेत्रमा काम गर्दै आएको सीविन नेपालका कार्यक्रम अधिकृत संगीता वलीले धार्मिक मान्यता, वंश सञ्चालन, कमाउने भरोसा र दाहसंस्कार गरिदिन्छ भन्ने भ्रमका कारण लिङ्ग पहिचान गर्दै छोरा मात्र जन्माउनेहरूको संख्या बढेको बताइन् । यसले भ्रूण हत्या बढेको र महिलाको स्वास्थ्यमासमेत गम्भीर असर परिरहेको उनले जानकारी दिइन् । भ्रूण हत्या रोक्नका लागि धर्मगुरु, मेडिकल सञ्चालक, सरकारी निकाय र निजी क्षेत्रको भूमिका समन्वयकारी हुनुपर्ने उनको भनाइ छ । छोरा मोहका कारण जिल्लामा छोरीको जन्मदर नै कमजोर बन्दै गएको उनले जानकारी दिइन् ।

प्रकाशित मितिः   २६ भाद्र २०७४, सोमबार ११:४१