लुकेका कुरा
प्रत्येक मानिसहरूसँग, प्रत्येक चिजवस्तुहरूसँग केही न केही कुरा, कुनै न कुनै कुरा लुकेको हुन्छ । अथवा कारणवश लुकाइएको हुन्छ वा लुकाउन बाध्य पारिएको हुन्छ । ती लुकेका वा लुकाइएका कुरा खोतल्न अरुले प्रयास गर्दैनन् । र गर्नेहरूले बुझ्दैनन् । बुझ्नेहरूमध्ये आधाले बुझेर पनि नबुझेजस्तो गरिदिन्छन् । आधाले वेवास्ता गर्छन् । अनि यसरी नै कलिलो प्रतिभा मर्न बाध्य हुन्छ, फूल बन्नु अगावै मरेको कोपिलाझैं । उड्न नपाउँदै खोल्यासबाट खसेको चरा जस्तै ।
मान्छेको चाहनाहरू अनेकन हुन्छन्, स्वभाविक वा अस्वभाविक दुवै । कमैले मात्र अर्थात् हजारौंमा सय, लाखौंमा हजार र करोडौंमा लाखले मात्र चाहेको कुरा पूर्ति गर्ने अवसर पाउँछन् । अर्थसँग सम्बन्धित चाहनाहरू पूँजीबाट पूर्ति हुन्छन् । अन्य कुरासँग सम्बन्धित चाहनाहरू कुनै न कुनै पूर्वाधारबाट पूर्ति भएका हुन्छन् । तर यो संसारमा चाहेका कुराहरू पूर्ति गर्न सक्ने धन सबैसँग छैन । सबै धनी पनि छैनन् । मानौं धनी हुनेले पूर्ति गर्न सक्ला तर नहुनेले के गर्ला ? यो त भयो सक्ने र नसक्ने कुरा ।
हाम्रो समाजमा यस्तो परिपाटी पनि विद्यमान छ । यस्तो दलदल पनि छ । रेगिस्तानको तातो अनि सुख्खा बालुवा पनि छ कि सबै चिज, पूँजी, पावर भएर पनि चाहनाहरू चाहनामै सीमित छन् । जिउँदो मानिस बन्द बाकसभित्र निस्सासिएको जस्तै निस्सासिएका छन् । यसैले पैसा, पावर मात्र चाहना पूर्ति गर्ने पूर्वाधारहरू होइनन् । परिवारको साथ र समर्थनविना सबै हात्ती अगाडिको कमिला जस्तै हुन् । बाबाको बात्सल्य, आमाको ममता, दिदीबहिनीको आस्था, भाइको भरोसा सबैभन्दा ठूला पूर्वाधारहरू हुन् । यसैको अभावमा मान्छे शून्य अस्तित्वमा बाँचिरहेको हुन्छ । त्यसैले जबसम्म परिवार साथमा छ, पावर तपाईंको हातमा छ ।
पूर्वाधारहरू नभएर चाहनाहरू पूर्ति नहुनु बेग्लै कुरो हो । तर भएर पनि नहुनु एकदमै गम्भीर विषय हो । अस्वभाविक चाहनाहरूको कुरा म गरिरहेको छैन । स्वभाविक चाहनाहरू जो पूर्ति गर्न एकदमै जरुरी हुन्छन् तिनीहरूको कुरा गरिरहेको छु । जस्तैः कुनै विद्यार्थीको चाहना डाक्टर बन्ने होला । तर अपसोच परिवारको दबाबमा ऊ अर्कै विषय पढिरहेको हुन्छ । कसैको साहित्यतर्फ रुचि होला जो प्रतिभावान पनि छ तर उसको परिवारले साथ दिएको हुँदैन । र, ऊ भित्रको प्रतिभा यत्तिकै मरेर जान्छ । सडेर जान्छ । विना कदर हारेर जान्छ ।
अहिले हाम्रो समाज झुठको, स्वार्थको अनि अविश्वासको खाडल खन्नमा निकै व्यस्त छ । मानिसहरू एकपछि एक गर्दै साथ र समर्थनको नारा जुलुस लगाउँदै खाडल पुर्न होइन झन् गहिरो खन्नतर्फ लागिपरेका छन् । यो खाडलमा अरु कोही पनि होइन आफ्नै बच्चाबच्चीहरू एक पछि एक गर्दै खस्दै छन् । खसिरहेका छन् । कतिपय त खस्ने तयारीमा छन् । मानिसहरू आफ्नो बच्चाको इच्छा, चाहना, रुचि नबुझी फलानाको छोरोले यो ग¥र्यो, यति नम्बर ल्यायो, यस्तो छ, उस्तो छ भन्ने आधारमा, देखासिखीमा डाक्टर पढ्ने चाहना भएको हरि इन्जिनियर कक्षामा बस्न बाध्य छ । कानुन पढ्ने चाहना भएकी विचरी वर्षा नर्सिङ्गको कक्षामा सुतिरहेकी हुन्छे । राम्रो क्रिकेट खेल्ने लक्ष्मण एमबीबीएसको कक्षामा लेक्चर सुनिरहेको हुन्छ । चाहना एक छ, प्रतिभा अर्कै छ, पुग्ने मन्जिल फरक छ, सोचाइ बेग्लै छ, रुचि अनेक छ, प्रश्न एकातिर छ, उत्तर अर्कैतिर छ । यस्तोमा वा चाहना नभएको क्षेत्रमा व्यक्ति सफल भए पनि के अर्थ ? केही गरी सुखी होला तर खुशी कदापी हुन सक्दैन ।
नारायण गोपालको हातमा बन्दुक र ओसाविन लादेनको हातमा माइक राखिदिएको भए के हुन्थ्यो ? पेलेको खुट्टालाई नाच्न लगाइदिएको भए अनि माइकल ज्याक्सनको खुट्टालाई फुटबल खेल्न लगाइदिएको भए के हुने थियो ? रेखा थापालाई राजनीतिमा अनि केपी ओलीलाई कलाकारितामा लगाइदिएको भए के हुन्थ्यो होला ? के आज यिनीहरू आ–आफ्नो क्षेत्रमा जति चर्चित छन्, जति सफल छन्, सन्तुष्ट छन्, खुशी छन्, सुशी छन् त्यति हुने थिए होलान् ? अहँ पटक्कै हुने थिएनन् । यी नामहरू जन्मकुण्डलीमा मात्र सीमित हुने थिए । यी नामहरूको सट्टामा अरु कसैको अर्कै नाम सुनिने थिए । हामी अरुलाई नै चिन्ने थिएनम् । त्यसैले चाहना पूर्ति गर्न सके स्वर्ग छ । नत्र नर्क छ ।
एउटा विद्यार्थीबाट धेरैले ठूला ठूला सपना देखेका हुन्छन् । र आफ्नो पूरा हुन नसकेको सपना उनीहरू उसैबाट पूरा गर्ने मनसायमा हुन्छन् । परिवारले एक सपना देखेको हुन्छ । शिक्षकले अर्को सपना देखेको हुन्छ । यस्तै उसले पनि आफ्नो निजी सपना देखेको हुन्छ । तर जब उसले एसईई पास गर्छ सुरु हुन्छ झै–झगडा । जतिसुकै नम्बर आए पनि यदि मनसाय साइन्स पढाउने छ भने परिवारले उसलाई एकचोटी पनि नसोधेर, उसको विचार नसुनी, उसको चाहना के हो भन्ने थाहा नपाएर पनि उसलाई सकि नसकी पढ्न बाध्य बनाइ छाड्छ । यसको परिणाम भविष्यमा भोग्नै पर्छ, जोसुकैले ।
यो सबैको जड देखावटी नक्कली कुराहरूको पछि लाग्नु र अविश्वासको भूमरीमा निकै गरी फस्नु हो । विश्वासविना कुनै अस्तित्वको कल्पना गर्नै दुरुह हुन्छ । दुस्साध्य हुन्छ । र आजसम्म यो संसारमा जे जति टिकेको छ एक अर्काप्रतिको विश्वासको तमाम देनको कारणले हो । परिवारको छोराछोरीमा, शिक्षकको विद्यार्थीमा, प्रेमीको प्रेमिकामा, खेलाडीको आफूमा र यस्तै–यस्तैमा विश्वास भएन भने मान्छे जति नै ठूलो बनोस, जति नै सफल बनोस् तर तुरुन्तै झरीहाल्छ । त्यसैले आज हामी जस्ता युवाहरूले आफ्नो चाहना एकातिर छोडेर, सोच्दै नसोचेको चाहनाको पछि दौडिन पुग्नुको मुख्य कारण परिवारले तपाईंलाई विश्वास नगर्नु हो । एकरति पनि विश्वास नगर्नु हो । यसले गर्न सक्ला र ? पच्चीस वर्षको छोरालाई पनि आमाको ममातामय आँखाले पाँच वर्षको बालक देख्छ । बाबाको बातसल्यले सक्षम छोराछोरीलाई असक्षम देख्छ । प्रतिभावानलाई लफङ्गो देख्छ । यसले मरिगए यो गर्न
सक्दैन । गफाडी भएछ । अरु कसले जोस्यायो । कसैको देख्यो होला अनि भूत चढेको होला यस्तै के के सोचेर वेवास्ता गर्दछन् । आँखा चिम्म गरेर त्यो डुङ्गाको मूर्तिलाई विश्वास गर्ने रे । जो एक जनाको मात्र होइन सारा संसारमा बाँडिएको छ । उसैको लागि भनेर मरिमेट्ने रे । सबथोक त्याग्न तयार रे । जबकि त्यो ढुङ्गाको मूर्तिले न पहिले केही गरेको थियो न भविष्यमा केही गर्ला भन्नू । तर छोराछोरीमा शून्य विश्वास किन ? जो आफ्नै हुन् । अरु कसैमा नि बाँडिदैनन् । छोराछोरीले आफ्नो घरको इज्जत, परिवारको नाम राख्छ भन्ने थाहा पाइपाइ पनि खै किन विश्वास गर्दैनन् ?
आजसम्म यो संसारमा जो जति पनि सफल भएका छन् ती सबै आफ्नो चाहना अनुरूप गरेर भएका हुन् । त्यसैले हाम्रो नेपाली अभिभाकहरूले यस कुरामा दिव्यदृष्टि दिनुहोला र छोराछोरीको भविस्य उज्वल गराउनतर्फ लाग्नुहोला । र यो नै यस लेखको मुख्य आशय हो ।
अन्तमा, परिवारको सपना एकातिर हुन्छ, आफ्नो सपना अर्कातिर हुन्छ, खोलीको दुई किनारा जस्तै । कहिले पनि मिलन नहुने । तैपनि तपाईं सोच विचार गरेर भन्नुहोस् कि कसको सपना वा चाहना पूरा गर्ने परिवारको जो तपाईंको विपरित छ । आफ्नो जो ठीक तपार्इंकै जस्तै छ ?
(दैलेखको चामुण्डाविन्द्रासैनी स्थायी घर भएका लेखक हाल वीरेन्द्रनगरमा अध्ययनरत छन् ।)
साझा बिसौनी ।