दीपेन्द्रको दौड

‘काम गर्न लाज मानेकै कारण हामी नेपाली आज पछाडि छौं ।’ चिया गफमा होस् या त्यस्तै गिलासमा अर्कै तरल पदार्थ होस् यो वाक्य बारम्बार मानिसहरूको जमघटमा प्रायः आइरहने वाक्य हो । समाजमा विद्यमान अवस्था यसै वाक्यले प्रतिनिधित्व गरेको छ । सुन्नमा पनि आउँछ, ‘विदेशमा गरिने दुःखले देशमै आफ्नै बारीमा सुन फलाउन सकिन्छ ।’ आखिर मानिसको जन्म धन सम्पत्ति कमाउनकै लागि भएको त होइन नि ? परिवार समाज तथा आफूप्रतिको कर्तव्यहरू पनि छन् । स्वतन्त्रता, सम्मान तथा सुरक्षापूर्वक बाँच्न पाउनु सबै नागरिहरूको हकका कुराहरू हुन् । समाजमा कामप्रतिको सम्मान नभएकै कारण पनि हामी आडम्बर बनीरहेका छौं । हामी आडम्बर हुनु पनि एक बाध्यता नै हो नि है न र ? आडम्बर हुन समाज बाध्य बनाउँछ अनि फेरि त्यहीँ आडम्बरलाई समाज टुक्काको रूपमा प्रस्तुत पनि गर्दछ ‘पाँचको खाएर दशको शान ।’

कामप्रतिको सम्मान तथा कामभित्र लुकेर रहेका विषयवस्तुलाई लिएरै आज यो लेखमा कोट्याउँदैछु । यी आंैलाहरूले जीवनमा सफलता हाँसिल गरेका कैयौं व्यक्तिका बारेमा अक्षरहरू कोरे होलान् । कैयौं गरीब, अनाथ तथा असहायका लागि सहयोग जुटाउन मेरा शब्दले भाव बोकेका होलान् तर आज एउटा संघर्षशील व्यक्तिको बारेमा लेख्न मन लाग्यो । समाजसँग उनको नाम समेत सोध्नमा समय छैन । उनीसँग सवार व्यक्तिहरूका समस्याहरूका बीच उनका समस्या तथा बिलौना प्रस्फूटन नै हुँदैनन् । नागरिकहरूको चित्कार बाध्यताको घेरादेखि दुखेको मनलाई लुकाउँदै उनी सधैं नियाल्छन् । दैनिक समस्या नै समस्या देखिरहने मानिसको जीवन उद्देश्य के ? त्यो वातावरणले उनलाई कता तिर धकल्ने ?

पञ्चपुरी–५ का दीपेन्द्रबहादुर शाही । वर्षले ४४ काटेका दीपेन्द्र झट्ट हेर्दा कालो वर्णका रहेका छन् । हल्का मोटो तथा सरदर पुड्को शरीर भएका दीपेन्द्रलाई सायदै कसैले नियालेको छैन होला । पेशाले दीपेन्द्र एम्बुलेन्स चालक हुन् । एम्बुलेन्स चलाउन थालेको दुई वर्ष पनि पुगेको छैन उनको । तर जीवन भोगाईका कथाहरू उनीसँग प्रशस्तै मात्रामा रहेका छन् । हामी जो कोही पनि एम्बुलेन्स त पक्कै चढेका छौं । कहिले आफै चढेहौला त कहिले आफ्नालाई चढायौं, कहिले–कहिले हाम्रा सामाजिक क्रियाकलापले कसैलाई एम्बुलेन्स चढ्ने पनि बनायौं । प्रायः मानिसहरूको पीडाका समयमा नै मानिससँग भेट हुँदाको प्रसङ्गमा दीपेन्द्र सुनाउँछन्, पहिले पहिले त झ्याउ लाग्थ्यो, अहिले बानी नै भइसक्यो ।’ मानव जीवन सुख र दुखले भरिएको जीवन हो । सबैका आ–आफ्ना जीवन भोगाईका कहानीहरू रहेका छन् । हामी सबैले आफ्नो जीवनको कथा भोगेका छौं । जीवन संघर्षको अन्तरालमा चालकका पीडाहरू आफ्नै ठाउँमा छन् । चालकै सन्दर्भमा रहेर लेखिएको यस लेखको प्रमुख उद्देश्य जीवन भोगाइ, जीवन उद्देश्य तथा जीवनकै परिधिमा रहेर तयार पार्ने जमर्को गरिरहेको छु ।

दीपेन्द्र मझौला आर्थिक स्तर भएको परिवारमा जन्मिएका व्यक्ति हुन् । जीवन यात्राका क्रममा नेपाल लगायत छिमेकी मुलुक दीपेन्द्रले धेरै यात्रा गरे । जसको कारणमध्ये केही पारिवारिक थिए त केही सामाजिक पनि । रोजगारीको शिलशिला तथा पारिवारिक स्तर उन्नतिको लागि उनले जीवनमा धेरै भोगाइ भोगेका छन् । सायदै एक सामान्य नागरिकका लागि उनको भोगाइ सारा जीवनका लागि प्रशस्तै हुन्थ्यो । वर्तमान समयमा शिवधाम धार्मिक संस्था, कोटीहोम महायज्ञद्वारा सञ्चालित एम्बुलेन्स चलाइरहेका उनी, परिवारमा रहेका दुई छोरा, दुई छोरी, आमा र परिवार लगायत सात जनाको परिवार यसै जागिरबाट जीवनयापन गरिरहेका छन् । दीपेन्द्रको आर्थिक आयआर्जनको प्रमुख स्रोत एम्बुलेन्स हो भने दोस्रो खेतिपाती हो । परिवारहरू घरमा परम्परागत रूपमा खेतिपती गर्ने गरेका छन् । एम्बुलेन्सको जागिरले खेतिपातीमा दीपेन्द्रको प्रभावकारी संलग्नता रहदैन ।

पञ्चपुरीमा सम्पन्न धार्मिक महायज्ञद्धारा लिईएको एम्बुलेन्स चलाए वाफत दीपेन्द्रले मासिक रूपमा आठ हजार लिने गरेका छन् । नागरिकस्तरबाट आयोजित महायज्ञले एम्बुलेन्स खरिद गरी आफ्नै स्थानलाई सेवा गर्नु प्रशंसनीय काम हो । सरकार, सो सम्बन्धमा नागरिक सेवामा खटिएका संघसंस्था तथा सम्बन्धित निकाय नेपाललाई समानुपातिक रूपमा विकास गर्न नसकिरहेको अवस्थामा ‘आफ्नो घर आफै बनाउँ’ जस्ता योजनाहरू नागरिकस्तरबाट नै सुरुवात हुनुले हरेक नागरिकलाई आफ्नो कर्तव्यको बोध गराइरहेको पक्कै छ । उक्त स्थानमा एम्बुलेन्स खरिद सोच ल्याउने प्रथम अदृश्य व्यक्तिलाई यो पंक्तिकार सलाम गर्न चाहन्छ । महायज्ञद्वारा स्थानीय समाज आवश्यकतालाई मध्यनजर गर्दै नागरिक कल्याणको निमित्त खरिद गरिएको एम्बुलेन्स घटनालाई वर्तमान समयमा ‘सरकारले केही गरेन’ भन्ने नागरिकहरूका लागि पक्कै पनि उत्तर बनेको छ । यस घटना तथा परिस्थितिको सही सदुपयोगलाई नेपालका हरेक समाजले अनुशरण गर्न जरुरी छ । नागरिकमैत्री यस्ता योजना तथा योजनाकारहरूलाई सलाम । यस प्रकारका योजनाहरू नेपालका हरेक समाजमा हेर्न तथा सुन्न पाइयोस् ।

मानव जीवनको विषयमा सोचौ-हेरौं, आखिर के थियो मावन जीवन ? के रहेछ मानव जीवन ? एम्बुलेन्सका काम गर्दाको हालसम्मको अनुभवमा मात्रै तीन वयस्क र तीन बच्चाको ज्यान गइसकेको दीपेन्द्रको भनाइ छ । उनकै आँखा अगाडि, उनले नै चलाइरहेको गाडीमा मानिसहरूको ज्यान जानुमा कता कता ग्लानी महशुस भइरहने उनी बताउँछन् । मनमा ‘कतै आफ्नै कारणले पो हो कि ?’ ‘अलि चाँडै चलाउन सकेको भए, अस्पतालसम्म पु¥याउँदा ज्यान बच्थ्यो कि ?’ जस्ता भावनाहरू मनमा आइरहने दीपेन्द्रको अनुभव रहेको छ । चाडै अस्पताल पु¥याउने लक्ष्यको परिधिमा आवेगमा आउँदै कैयौंलाई गाली समेत गरेको उनको अनुभव छ । सडकमा ठाउँ नै नछोडी गाडी कुदाउने अन्य चालकहरू, अनि झन् बारम्बार सडक समयमा मर्मत तथा स्तरोन्नति नगर्ने सरकारलाई त उनी आवाजै निस्कने गरी गाली गरिरहने बताए । उनी भन्छन्, ‘यस्तो अवस्थामा हामी पनि कसरी चाँडै ब्रिामी पु¥याउन सक्छौं र ?’

‘अघिल्लो दिनसम्म पैसालाई नै ठूलो ठान्ने’ को मृत्युमा एक साधारण व्यक्तिले लासलाई काँध हाल्दछ, राम नाम सत्य भन्दै दुःखित हुँदै हिँड्ने साधारण व्यक्ति, उही साधारण व्यक्ति हो, जसलाई कुनै दिन आर्थिक कारणमै मृत्यु हुनेले मानवता समेत भुल्दै दबाउन चाहेको थियो । आखिर यस्तै रहेछ हाम्राको समाज ।’ दीपेन्द्रले खिन्न हुँदै अनुभव साटे ।

प्रकाशित मितिः   २५ भाद्र २०७४, आईतवार १२:४६