‘स्वार्थ पूरा गर्ने थलो नबनोस् विश्वविद्यालय’

सुर्खेत, २५ भदौ । पछिल्लो समय विवादमा तानिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारमा अवरोध नगर्न सरोकारवालाले आग्रह गरेका छन् । लामो संघर्ष र पसिनाको बदलामा स्थापना भएको विश्वविद्यालयलाई स्वार्थ पूरा गर्ने थलोको रूपमा प्रयोग गरिएको भन्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् । ऐन र नियमअनुसार सम्पन्न भएका कामलाई आफ्नो स्वार्थ अनुसार परिभाषित गर्न नहुने बताए ।

‘हाम्रो पसिनालाई बन्धक नबनाइयोस्, विश्वविद्यालयमा हाम्रो पनि योगदान छ’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले भने, ‘विभिन्न षड्यन्त्रहरू भइरहेका छन्, यसले विश्वविद्यालयको प्रगतिमा नै बाधा गरेको छ । हामीले पनि पसिना बगाएका छौं, आफ्नो स्वार्थका लागि विश्वविद्यालयमा ताला लगाउने काम तत्काल बन्द होस् ।’ विश्वविद्यालय स्थापनाका लागि यस क्षेत्रका व्यवसायी र निजी क्षेत्रको योगदानलाई कदर गर्न समेत उनले आग्रह गरे ।

मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका चुनौती र समाधानका उपाय सम्बन्धी रफत सञ्चार क्लबले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरसंवादमा अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् । विश्वविद्यालय स्थापनामा नेतृत्व गर्ने राजनीतिक दलहरू यसको विकासमा गम्भीर नबनेको उनको आरोप छ । उनले भने, ‘विश्वविद्यालयको पहँुच र सेवाक्षेत्र विश्वभर विस्तार हुनुपर्छ, सुर्खेतमा मात्र खुम्चिएर हुँदैन । ऐनमा भएको व्यवस्था अनुसार नै आङ्गिक र सम्बन्धन दिइएको छ, तर यसको विरोध किन ?’ आफ्ना स्वार्थ पूरा गर्नका लागि आन्दोलन गर्ने भन्दा पनि विश्वविद्यालयको विकासमा एकताबद्ध हुन उनले सबैलाई आग्रह गरे । गतिरोध कायमै रहे आफूहरू चुप लागेर नबस्ने उनको चेतावनी छ ।

यस्तै विश्वविद्यालयका स्ववियु अध्यक्ष झक्कबहादुर शाहीले विभिन्न बहानामा विश्वविद्यालयको साख घटाउने क्रियाकलाप भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘केही व्यक्तिहरूले आन्दोलनको हल्ला फैलाएका छन्, तर विश्वविद्यालयमा आन्दोलन नै भएको छैन । विश्वविद्यालयको माया भए रचनात्मक सहयोग गरौं, स्वार्थ पूरा गर्नका लागि अनावश्यक घुर्की नदेखाउँदा हुन्छ ।’ उनले अब आङ्गिक क्याम्पसको क्षमता विस्तार र गुणस्तर वृद्धिमा ध्यान दिन पदाधिकारीहरूलाई सुझाव दिए । कार्यक्रममा उप–प्राध्यापक प्रचण्ड पोखरेलले राजनीतिक गुटहरूका स्वार्थहरू विश्वविद्यालयमा पोखिएका कारण समस्या देखिएको बताए । राजनीतिक स्वार्थहरू त्यागेर विश्वविद्यालयको हितलाई प्राथमिकता दिए उच्च शिक्षाको सपना पूरा हुने उनको दाबी छ ।

विश्वविद्यालयको व्यवस्थापन संकायका डीन मस्तबहादुर गंरजाले आफूहरूले विश्वविद्यालयको ऐन अनुसार नै सम्बन्धनको प्रक्रिया अगाडि बढाएको बताए । आफूहरूको स्वार्थ विश्वविद्यालयलाई गतिशील बनाउनु मात्र रहेको भन्दै उनले विस्तारमा अवरोध गर्न खोज्नु दुखद् भएको बताए । सम्बन्धन र आङ्गिक क्याम्पसको विस्तारसँगै अब विश्वविद्यालयले आफ्नो आकार लिन थालेको उनको दाबी छ । उनले भने, ‘कसैको अनुहार मन नपर्ला, कोही व्यक्ति मन नपर्ला । तर विश्वविद्यालय सबैको हो, सामूहिक प्रयासबाट नै यसको विकासमा लागौं ।’ सो अवसरमा सहभागी सरोकारवालाहरूले छाक कटाएर दुःखले स्थापना भएको विश्वविद्यालयको विस्तार अवरोध हुनु राम्रो पक्ष नभएको बताए । साथै उनीहरूले आफ्ना स्वार्थहरू त्यागेर विश्वविद्यालयको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिस्टार डा. महेन्द्रकुमार मल्लले अब विश्वविद्यालयले थप गति लिने बताए । स्थापनाकालदेखि नै विभिन्न चुनौती र अवरोध भइरहेको भन्दै उनले उच्च शिक्षाका लागि गम्भीर हुन सबैलाई आग्रह गरे । अबको तीन वर्षभित्र विश्वविद्यालयको भौतिक र शैक्षिक विकासले फड्को मार्ने भन्दै मल्लले भने, ‘हिजोसम्म वामे सर्दै थियो, आजबाट हिँड्न सुरु गरेको छ । तीन वर्षभित्र विश्वविद्यालयले शैक्षिक र भौतिक सुधारमा काँचुली नै फेर्नेछ, त्यसका लागि हामी प्रयासरत छौं ।’ उनले विश्वविद्यालयको विकासमा सहयोग गर्न समेत राजनीतिक नेतृत्व र यस क्षेत्रका बासिन्दासँग आग्रह गरे । सम्बन्धनको बारेमा नबुझेर केही विरोधका आवाजहरू सुनिए पनि विस्तारै सबैले वास्तविकता बुझ्ने उनको दाबी थियो । रफत सञ्चार क्लबका जिल्ला अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २५ भाद्र २०७४, आईतवार १२:३७