परिषद्को प्रदेश भेला सम्पन्न

सुर्खेत, २५ भदौ । गणित शिक्षा परिषद्को प्रदेश भेला शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले रत्नप्रसाद पाण्डेलाई प्रदेश नम्बर ६ बाट केन्द्रीय उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको छ । त्यसैगरी तिलकबहादुर खत्रीलाई केन्द्रीय सदस्य तथा नविन कँडेल, सवराज बम र किरण भण्डारीलाई प्रदेश सचिवालय सदस्यमा मनोनित गरिएको छ ।

यसैगरी परिषद् सुर्खेतको आयोजनामा विद्यालय तहको गणित शिक्षण सिकाइमा देखिएका समस्या र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ३८औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा अन्तरक्रिया आयोजना गरिएको हो । अन्तरक्रियामा परिषद् सुर्खेतका उपाध्यक्ष प्रेमकुमारी ढकालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने उक्त कार्यपत्रमाथि डिल्लीप्रसाद उपाध्याय, सरोजकुमार केसी, शरद पौडेल, सवराज बम र जसवीर रोकाले टिप्पणी गरेका थिए ।

परिषद्का जिल्ला अध्यक्ष रत्नप्रसाद पाण्डेको अध्यक्षता एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्टार डा. महेन्द्रकुमार मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिषद्का राष्ट्रिय उपाध्यक्ष लोकबहादुर बस्नेत, सुर्खेत क्याम्पस शिक्षाका प्रमुख टंकप्रसाद आचार्यसहित प्रदेश नम्बर ६ का गणित विषयका शिक्षकहरूको सहभागिता रहेको गणित शिक्षा परिषद् सुर्खेतका सचिव भीम रोकायले जानकारी दिए ।

प्रकाशित मितिः   २५ भाद्र २०७४, आईतवार १२:१३