स्यालको टोकाइबाट घाइते भएकाहरुको उपचार

गुर्भाकोट, २५ भदौ । स्यालको टोकाइबाट घाइते भएका गुर्भाकोटका १७ जनाको उपचार गरिएको छ । गत भदौ २१ गते राती गुर्भाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का स्थानीय १७ जना स्यालको टोकाईबाट घाइते भएका थिए ।

गुर्भाकोट नगरपालिकाको पहलमा काठमाडौंबाट ईमुनो ग्लोबिन नामक भ्याक्सिन र चिकित्सक नै ल्याएर शनिवार मेहेलकुना अस्पतालमा घाइतेहरूको उपचार गरेको हो । स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंका जोनोसिस अधिकृत डा. अविनासप्रसाद सिंह, मेहेलकुना अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर विष्ट, वरिष्ठ डाक्टर शंकर अधिकारीले घाइतेहरूको उपचार गरेका हुन् ।

गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोग तथा गुर्भाकोट नगर स्वास्थ्य कार्यालय, मेहलकुना अस्पताल र गुमी स्वास्थ्यचौकी प्रमुख पूर्ण घर्तीको सक्रियता र पहलमा उक्त भ्याक्सिन गुर्भाकोटमै ल्याइएको हो । काठमाडौंबाट भ्याक्सिन गुर्भाकोटमा ल्याएर स–शुल्क उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य प्रमुख किरण वलीले जानकारी दिए ।

यसअघि पटक–पटक गरी गुर्भाकोट र भेरीगंगा नगरपालिका गरी करिब ५६ जना बढीलाई स्यालले टोक्दा घाइतेहरूलाई उपचारका लागि काठमाडौं पु¥याउने गरिएको थियो । यस पटक काठमाडौंबाट स्वयम् डाक्टर र भ्याक्सिन झिकाइ स्थानीय स्तरमै उपचार गरिएको वलीले जानकारी दिए । घाइतेमध्ये १७ जनाले मेहलकुना अस्पतालमा उपचार गरिएको र थप दुई जना भने सम्पर्कमा नआएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   २५ भाद्र २०७४, आईतवार १२:१५