प्रदेश नम्बर ६ को मुख्य प्राथमिकताः ठूला जहाज अवतरण
सुर्खेत, २२ भदौ ।
विमानस्थल साँघुरो हुँदा प्रदेश नम्बर ६ हवार्ई मार्गबाट सिधा काठमाडौंसँग जोडिन सकेको छैन । हाल यो प्रदेश अन्तर्गत रहेका विमानस्थलहरू साँघुरा छन् । जसका कारण ठूला जहाज अवतरण गर्न सम्भव नभएपछि यो प्रदेशबाट काठमाडौंसम्म सिधा हवार्ई उडान हुन नसकेको हो ।
काठमाडौंसँग सिधा हवाई सेवा नहुँदा यो प्रदेशका सर्वसाधारणले प्रदेश नम्बर ५ को नेपालगन्ज पुगेर जहाज चढ्नुपर्ने बाध्यता छ । प्रदेश ६ अन्तर्गत अहिले सुर्खेत, हुम्ला, मुगु, डोल्पा, रुकुम र जुम्लामा रहेका विमानस्थल अत्यन्तै साँघुरा छन् । अर्कोतर्फ दैलेख, जाजरकोट र सल्यानमा भने विमानस्थल नै छैनन् । यस्तै कालिकोटमा रहेको विमानस्थल पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । जसका कारण अहिले यो प्रदेशमा ठूला जहाज अवतरण गर्नसक्ने अवस्था छैन ।
ठूला जहाज अवतरण गर्नसक्ने एउटा पनि विमानस्थल नहुँदा सिंगो प्रदेश नम्बर ६ नै काठमाडौंसँगको सिधा हवाई उडानबाट वञ्चित हुन पुगेको हो । काठमाडौंसँग सिधा हवाई सेवा उपलब्ध नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । काठमाडौं जानका लागि कर्णालीका यात्रु जहाजमा चढेर नेपालगन्ज पुग्ने गरेका छन् । अन्य जिल्लाका यात्रुले पनि सडक मार्गबाट पुगेर नेपालगन्जबाटै काठमाडौंका लागि जहाज चढ्नुपर्ने बाध्यता छ । सिधा हवाई सेवा नहुँदा यहाँका सर्वसाधारणले समय र आर्थिक दुवैको नोक्सानी व्यहोर्नु परेको हो । ठूला जहाज अवतरण गर्नसक्ने विमानस्थल नहुँदा यो प्रदेशले यात्रामा सास्ती मात्र होइन, अन्य धेरै अवसरहरू पनि गुमाउँदै आएको छ ।
यहाँ रहेका विमानस्थलहरू विस्तार गर्नसक्ने अवस्था पनि छैन । साँघुरा विमानस्थल र नियमित उडानसमेत नहुने भएपछि प्रदेशले नयाँ विमानस्थलको विकल्प खोज्न थालेको छ । यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि र निजी क्षेत्रका अगुवाहरूलेसमेत अब ठूला जहाज अवतरण हुनसक्ने नयाँ विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन् । पछिल्लो समय ठूला जहाज अवतरण गर्नसक्ने विमानस्थलको खोजी र काठमाडौंसँगको सिधा हवाई उडान यो प्रदेशको साझा मुद्दा बन्दै गएको हो । ‘पर्यटकहरू सबै नेपालगन्जमै रहने भए, हामीले पनि जहाज चढ्न नेपालगन्ज नै पुग्नुपर्ने बाध्यता छ’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी भन्छन्, ‘अब त नयाँ विमानस्थलको विकल्प खोज्नैपर्छ, ठूला जहाज अवतरण नहुँदा हामीले धेरै गुमायौं । पर्यटन व्यवसाय फस्टाउनै सकेन, काठमाडौंसँग सिधा सम्पर्क नै हुन सकेन ।’
हवाई कम्पनीहरूले केही वर्ष पहिला साना जहाजबाटै सुर्खेत–काठमाडौं सिधा उडान सञ्चालन गरेका थिए । तर साना जहाजमा यात्रु कम हुने हुँदा खर्च नै नउठेको भन्दै उनीहरूले सेवा
नै बन्द गरे । भौगोलिक रूपमा कर्णालीका विमानस्थलहरू विस्तार गर्न सम्भव छैनन् । यस्तै मानव बस्तीका कारण अब सुर्खेत विमानस्थल पनि विस्तार गर्न सम्भव छैन । यो विमानस्थल पनि पछिल्लो समय कार्गोवेश विमानस्थलको रूपमा परिणत हुँदै गएको छ । त्यसकारण पनि यो प्रदेशले तत्काल अर्को विकल्प नखोजे ठूला जहाज चढ्ने सपना अधुरै रहने अध्यक्ष अधिकारी बताउँछन् । उनी भन्छन्, ‘अब विमानस्थलको विकल्प खोज्न ढिला नगरौं, प्रदेशमा एउटा मात्र भए पनि ठूला जहाज अवतरण हुने विमानस्थल निर्माण गरौं ।’ पछिल्लो समय विकल्पका रूपमा सुर्खेतको मदानेचौरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन भइरहेको छ । यद्यपि यो निर्माण हुने वा नहुने अहिले नै टुङ्गो छैन । तर सरोकारवालाहरू अब यसलाई नै विकल्पको रूपमा अघि बढाउनुपर्ने बताउन थालेका छन् ।
‘अब यो प्रदेशको पहिलो प्राथमिकता नै नयाँ विमानस्थल हो, सिधा हवाई उडानमार्फत् हामी काठमाडौंसँग जोडिनुपर्दछ’ वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदी भन्छन्, ‘प्रदेशमा कम्तीमा एउटा विमानस्थल अनिवार्य भयो, जहाँ ठूला जहाज पनि अवतरण गर्न सकुन् । यसका लागि स्थानीय सरकार गम्भीर छौं, प्रदेशका सबै राजनीतिक दलहरूले पनि यसलाई अब साझा मुद्दा बनाउनेछन् ।’ यो प्रदेशको समग्र समृद्धिका लागि भरपर्दो र नियमित उडान हुने विमानस्थल आवश्यक रहेको उनको भनाइ छ । तत्कालका लागि मदानेचौरमा प्रस्तावित विमानस्थल नै निर्माण गर्नुको विकल्प नरहेको भन्दै उनले यस विषयमा प्रदेशका सबै दल र जनप्रतिनिधिहरू एकमत रहेको जानकारी दिए । गत असार पहिलो साता वीरेन्द्रनगरमा भेला भएका यो प्रदेश अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरूले पनि काठमाडौंसँग सिधा हवाई उडान हुने विमानस्थल निर्माणका लागि भन्दै सामूहिक प्रतिबद्धता जनाएका थिए ।
साझा बिसौनी संवाददाता ।