दश वटा क्याम्पस बने आंगिक

सुर्खेत, २१ भदौ ।
स्थापनाकालदेखि एउटा क्याम्पसमा मात्र सीमित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सेवा क्षेत्र विस्तार गरेको छ । वीरेन्द्रनगरस्थित साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा मात्र खुम्चिदैं आएको यो विश्वविद्यालयले १० वटा आंगिक क्याम्पस थपेको हो । विश्वविद्यालयले यस क्षेत्रका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक मान्यता प्रदान गरेको छ ।


स्थापना भएको आठ वर्षपछि विश्वविद्यालयले १० वटा आंगिक क्याम्पस थप्दै आफ्नो पहुँच मध्यपश्चिमका विभिन्न जिल्लामा विस्तार गरेको हो । यस्तै यस क्षेत्रका अरु आठ वटा क्याम्पसलाई आंगिक बनाउने पक्रिया पनि जारी छ । हाल समुदायस्तरबाट सञ्चालनमा रहेका र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० वटा क्याम्पसलाई आंगिक बनाइएको मप विश्वविद्यालयले जनाएको छ । आंगिक मान्यता पाएसँगै अब मध्यपश्चिमका विभिन्न नौ जिल्लाका १० वटा क्याम्पसले पूर्णरूपमा सरकारी सेवा र सुविधा पाउनेछन् ।
विश्वविद्यालयले कर्णालीका दुई वटा क्याम्पसलाई आंगिक बनाएको छ । कालिकोटको तिला बहुमुखी क्याम्पस र मुगुको रारा बहुमुखी क्याम्पस अब मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस बनेका छन् । यस्तै सुर्खेतका जनता बहुमुखी क्याम्पस विद्यापुर र भेरी शिक्षा क्याम्पस गुमीले पनि आंगिक मान्यता प्राप्त गरेका छन् । विश्वविद्यालयका अनुसार बर्दियाको बबई बहुमुखी क्याम्पस, बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस, दैलेखको नारायण क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस, रुकुमको मुसिकोट बहुमुखी क्याम्पस र रोल्पाको जलजला बहुमुखी क्याम्पस पनि आंगिक बनेका छन् । हालसम्म स्थानीय समुदायबाट जेनतेन सञ्चालन हुँदै आएका यी क्याम्पसहरूले आंगिक मान्यता पाएसँगै अब सरकारी लगानी भित्रिने अपेक्षा गरिएको छ ।
‘हामीले १८ वटा आंगिक क्याम्पस छनौट गरेका थियौं, पहिलो चरणमा १० वटा स्वीकृत भएका छन्’ विश्वविद्यालयका रजिस्टार डा. महेन्द्रकुमार मल्लले भने, ‘सरकारले आठ करोड बजेट पनि उपलब्ध गराइसक्यो, अब यो रकम हाम्रा आंगिक क्याम्पसको पूर्वाधार विकासमा खर्च गर्नेछौं । हामीले क्याम्पसहरूबाट प्रस्ताव मागेका छौं, प्रस्ताव अनुसार उनीहरूले यसवर्षको बजेट प्राप्त गर्नेछन् ।’ आंगिक बनेका क्याम्पसहरूले यो वर्षभित्र नै शिक्षक तथा कर्मचारीको दरबन्दी पनि पाउने मल्लले जनाए । उनका अनुसार दरबन्दी मागसहितको प्रस्ताव अर्थमन्त्रालयबाट स्वीकृत हुन बाँकी छ । आंगिक क्याम्पसको विस्तारसँगै अब शिक्षाको गुणस्तर पनि वृद्धि हुने विश्वविद्यालयले अपेक्षा गरेको छ । आर्थिक अभावका कारण स्रोत र साधनको अभाव भेल्दै आएका यस क्षेत्रका क्याम्पसहरूले आंगिक भएसँगै अब सरकारी सहयोग प्राप्त गर्नेछन् ।
दोस्रो चरणमा विश्वविद्यालयले थप आठ वटा क्याम्पसलाई आंगिक बनाउने तयारी थालेको छ । विश्वविद्यालयका अनुसार आउँदो चरणमा कालिकोटको रास्कोट बहुमुखी क्याम्पस, डोल्पाको डोल्पो क्याम्पस, हुम्लाको हुम्ला क्याम्पस र प्युठानको स्वर्गद्वारी क्याम्पसले आंगिकको मान्यता पाउँदैछन् । यस्तै सल्यानको सल्यान बहुमुखी क्याम्पस, दैलेखको दोणाञ्चल शिक्षा क्याम्पस र दाङका राप्ती बबई तथा देउखुरी बहुमुखी क्याम्पसलाई पनि आंगिक बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको रजिस्टार मल्लले जानकारी दिए । यी क्याम्पसलाई पनि आंगिक बनाउने काम सम्पन्न भएमा विश्वविद्यालयले केही आकार लिने मल्लको दाबी छ । यसका लागि आफूहरू प्रयासरत रहेको भन्दै उनले शैक्षिक लगानीका हिसाबले पछाडि परेको मध्यपश्चिम क्षेत्रमा अब राज्यको प्रत्यक्ष लगानी भित्रिने बताए । सरकारी सुविधा पाएपछि शिक्षक र कर्मचारीको मनोबल बढ्ने भएकाले पनि अब गुणस्तर वृद्धि हुने उनको दाबी छ ।
यसअघि यो विश्वविद्यालयले तीन वटा निजी कलेजलाई सम्बन्धन दिइसकेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले नेपाल इन्जिनियरिङ्ग कलेज, काठमाडौंका प्रेसिडेन्सियल कलेज अफ बिजनेस र ग्लोबल कलेज इन्टरनेशनललाई सम्बन्धन दिएको थियो । विश्वविद्यालयले अब गति लिने भन्दै थप कलेजलाई पनि सम्बन्धन दिइने जानकारी दिएको छ । आंगिक क्याम्पसहरूको थप र निजी कलेजलाई सम्बन्धन दिएसँगै स्थापना कालदेखि वामे सर्दै आएको विश्वविद्यालय अब हिँड्न थालेको रजिस्टार मल्लको भनाइ छ । अब आफूहरूको मुख्य ध्यान गुणस्तर सुधारमा हुनेसमेत उनले बताए ।

प्रकाशित मितिः   २२ भाद्र २०७४, बिहीबार १५:००