विपद् पूर्वतयारी आजैबाट

हिमाल, पहाड र तराई मिलेर बनेको र सयौं खोलानालाले सिञ्चित नेपाल एउटा सुन्दर देश हो, यद्यपि यो सुन्दरताभित्र कुनै बेला ‘चिहान ढुकेर बसेको छ’ कि भन्ने आशंका हुन्छ । साउनको अन्तिम हप्तातिरको अविरल वर्षाले नेपालभर नै प्राकृतिक विपद्को सिर्जना गरी एक सय ६० जना मानिसको ज्यानै लियो २९ जना बेपत्ता तथा ६४ जना घाइते र साथमा करिब २१ हजार ००० परिवारलाई विस्थापित हुन बाध्य बनायो । राष्ट्रिय आपतकालीन कार्यसञ्चालनको पछिल्लो तथ्यांक अनुसार करिब ४४ हजार ००० घर पूर्ण रूपमा क्षति भए भने करिब एक लाख साठी हजार घर आंशिक रूपमा क्षति भए । मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा बाढीका कारण बाँके, दाङ र बर्दिया जिल्ला बढी प्रभावित भए । दाङ जिल्लामा बाढी तथा बाढीजन्य विपद्बाट सात जनाको मृत्यु एक बेपत्ता तीन घाइते भए साथै करिब चार सय परिवार विस्थापित चार सय घर पूर्ण रूपमा क्षति र करिब पाँच सय घर आंशिक क्षति भए । अर्को बाढी प्रभावित जिल्ला बाँकेमा आठ जनाको मृत्यु भयो साथै सत्र सय परिवार विस्थापित हुन बाध्य भए । करिब तीन सय घर पूर्णरूपमा क्षति र १० हजार घर आंशिक क्षति भए । बर्दिया जिल्लामा चार जनाको मृत्यु, छ जना घाइते, १० हजार परिवार विस्थापित, छ हजार घर पूर्णरूपमा क्षति तथा १५ हजार घर आंशिक रूपमा क्षति भएका छन् । सुर्खेत जिल्लामा पहिरोका कारण तीन जनाको मृत्यु एक जना घाइते तथा एक घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै कालिकोटमा दुई जनाको मृत्यु एक घाइते, दैलेख जिल्लामा एक जनाको मृत्यु, रुकुम जिल्लामा एक जनाको मृत्यु र सल्यान जिल्लामा पनि एक जनाले ज्यान गुमाएका छन् । यसरी हेर्दा मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या अठ्ठाइस, बेपत्ता दुई र घाइते संख्या १६ जना पुगेको छ ।
बाढी तथा बाढीजन्य विपदको प्रकृति हेर्दा केही पूर्वतयारी र सावधानी अपनाएको भए यो क्षतिलाई अझ घटाउन सकिने थियो भन्ने लाग्छ । बर्दिया जिल्लामा एक जना व्यक्ति खोलाले बगाएर ल्याएका दाउरा तान्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ । अन्य जिल्लामा केही व्यक्तिहरूको खोला तर्नेक्रममा खोलाले बगाएर मृत्यु भएका घटनालाई केलाउँदा सावधानीको अभावले मानवीय क्षति बढको हो कि भन्ने भान हुन्छ । बाँके जिल्लामा एकै परिवारका तीनजना (आमा र दुई छोरीहरू) खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको घटना निकै संवेदनशील घटना हो । यी र यस्ता घटनाको प्रकृति हेर्दा सावधानी, सूचनाको अभाव, सचेतना आदिको कमीका कारण मानवीय क्षति बढ्दै गएको अनुभूति गर्ने पर्याप्त ठाउँ मिल्छ ।
जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सञ्चालनामा ल्याएको खोलाको बहाव जानकारी दिने बेवसाइटले पूर्वतयारी तथा सचेत रहनका लागि कोशे ढुङ्गाको काम गरेको छ । यो बेवसाइट मार्फत् देश भरका मूख्य नदीहरूमा पानीको बहाव, चेतावनीको तह र खतराको तहका बारेमा थाहा पाउन सहज भएको छ । साथै मुख्य नदीका जलाधार क्षेत्रमा राखिएका वर्षा मापन केन्द्रको सूचना पनि सो बेवसाइटमा देख्न पाउने भएकाले, खोलाको बाहव घट्ने वा बढ्ने क्रममा छ भन्ने कुराको पूर्वानुमान लगाउन सहज भइ सो अनुरूप तयारी गर्न गराउँदा फलदायी भएको छ । मध्यपश्चिम विकास क्षेत्रबाट बग्ने मुख्य तीन नदीहरू बबइ, कर्णाली र राप्ती नदीको विभिन्न स्थानमा राखिएका नदीको बहाव मापन गर्ने स्टेशनले दिएको सूचनाले गर्दा प्रभावमा पर्नसक्ने समुदायलाई सचेत बनाइ आवश्यकता अनुसार स्थानान्तरण गराउन सक्दा सम्भावित क्षतिलाई न्यून गराउन सकिएको छ । विशेष गरी बबई नदिले यो वर्षामा धेरै पटक सचेतनाको र खतरको तह पार गरेको थियो । बबईले चेपाङमा सचेतनाको र खतराको तह पारगर्दा तल्लो तटीय क्षेत्र (बर्दिया) मा प्रभाव पार्ने भएकाले सो क्षेत्रमा बसोबास गर्ने समुदायलाई सूचना प्रवाह गरी सचेत गराइयो तथा आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गराउँदा क्षति सीमित भएको हो । माथिल्लो जलाधार क्षेत्रको वर्षातले तल्लो क्षेत्र डुबानमा पर्ने र खोलामा बाढी आउने भएकोले सो क्षेत्रमा भएको वर्षाको मात्राको सूचना तल्लो क्षेत्रमा तत्काल पु¥याइ समदायलाई सचेत तथा पूर्व तयारी गर्न मद्दत पु¥याउनु सकिएमा पनि क्षति न्यून गर्न सकिन्छ । यी र यस्ता स्रोत तथा साधनहरूमा सरोकारवाला तथा प्रभावमा पर्नसक्ने समुदायको पहुँच पग्नुपर्ने जरुरी छ ।
सम्भावित विपदको सूचना तथा आवश्यक पूर्वतयारीको सूचना सम्प्रेशण गर्न सम्बन्धित जिल्लाका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र तथा क्षेत्रीय आपतकालिन कार्य सञ्चालन केन्द्रका कर्मचारीहरू चौबीसै घण्टा पहरेदारको रूपमा क्रियाशील रहने कार्य जारी रह्यो । आपतकालीन उद्धारको लागि हेलिकप्टर तथा अन्य उद्धारका सामग्रीहरू चुस्त दुरुस्त राखी सूचना संकलन तथा सम्प्रेशणको कार्य निरन्तर अगाडि बढिरह्यो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी तथा अन्य सामाजिक मानवीय सहयाताका संघ–संस्थाहरूले खोज तथा उद्धार र सुरक्षित स्थानान्तरणको कार्य तीव्र रूपमा अगाडि बढाइरहेका थिए । स्थलगत तथा हवाई मार्गबाट घाइते तथा प्रभावितहरूलाई उद्धार पश्चात् सुरक्षित स्थानमा राखी राहत, खाद्यान्न तथा बन्दोबस्तीका सामग्री दिने कार्य निरन्तर जारी रह्यो । तत्पश्चात स्वास्थ परीक्षण कार्यले गति लियो । प्रारम्भिक द्रुत (क्षतिको) लेखाजोखा गर्ने कार्य जोड तोडका साथ उगाडि बढ्यो, अन्तत डुबान तथा बाढीको खतरा टरी सकेपछि पुरानै स्थानमा स्थानान्तरण गराउने कार्य सुरु भयो । हाल राहत वितरण कार्य र बहु–क्षेत्रगत प्रारम्भिक द्रुत लेखाजोखाको कार्य अन्तिम चरणमा पुगेको छ । विषयगत क्षेत्रका निकायहरूको क्षति लेखाजोखाको अन्तिम प्रतिवेदन आएपछि एक पटक गम्भीर रूपमा विश्लेषण गरी आगामी रणनीति तय गरिनुपर्ने आवश्यकता देखिएको छ ।
विपद्लाई कसैले रोकेर तथा छेकेर छेक्न सकिदैंन, सकिन्छ त केवल आवश्यक तयारी गरी सम्भावित क्षतिलाई न्यून गर्न । पूर्वतयारी, सावधानीर द्रुत खोज तथा उद्धार आदि कार्यहरू तीव्र रूपमा अगाडि बढ्दा–बढ्दै पनि हामीले नसोचेको क्षति व्यहोर्नुप¥यो । यो निकै संवेदनशील तथा दुःखद् घटना हो । तथापि हरेक घटना तथा दुर्घटनाबाट मानिसले केही न केही पाठ सिक्ने गर्दछ । विकास निर्माणका हरेक क्रियाकलापहरू गर्दा विपद्लाई केन्द्रमा राखेर यसको संवेदनशीलता बुझेर गरिनुपर्ने आवश्यकता महसुस गरिएको छ । यो प्राकृतिक विपद्ले पनि हामीलाई हाम्रो पूर्वतयारीको अवस्था, सञ्चित स्रोत साधन,खोज तथा उद्धार र प्रतिकार्यको क्षमताका बारेमा ठूलै पाठ पढाएर गएको छ । अब आजैबाट हामीले हाम्रो समुदायको विपद् सम्मुखताको विश्लेषण गरी आउने वर्षायामको लागि पर्याप्त तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ । विपद् पश्चात् केही समय जाग्ने र अन्तत सेलाउने प्रवृत्तिले गर्दा हामीले चाहेजति विपदको क्षति न्यूनीकरण गर्न सकिरहेका छैनौं । समुदाय, सरकारी तथा गैरसरकारी सघं–संस्था, विपद् विज्ञ आदि सम्पूर्ण सरोकारवालाहरूबीचमा साझेदारी विकास गरी प्रभाकारी ढङ्गबाट विपद् जोखिम न्यूनीकरणका अपायहरू अवलम्बन गरिनुपर्ने देखिन्छ । प्रकोप नक्सांकन, जोखिम नक्सांकन, सुरक्षित स्थानको पहिचान, सहज तथा सुरक्षित बाटोको नक्सांकन, खाद्य तथा गैरखाद्य राहत सामग्रीको पर्याप्त भण्डारण, सरोकारवाला निकायको पहिचान, समुदायसम्म पूर्व सूचना प्रणालीको विकास र पहुँच आदि कुरामा पर्याप्त ध्यान दिन सकेमा क्षतिलाई न्यून गर्ने कुरामा दुई मत नहोला । प्रविधिको उपयोग, समुदायको सीप तथा क्षमताको विकास, निरन्तरको पूर्वतयारी तथा सावधानीमा ध्यान दियौं भने पक्कै पनि प्राकृतिक विपदको क्षतिलाई न्यून गर्न सक्षम हुनेछौं ।

प्रकाशित मितिः   २२ भाद्र २०७४, बिहीबार १४:५९