सुर्खेती शिक्षाको विकासक्रमलाई नियाल्दा

साविकको दैलेख प्रशासित सुर्खेतको सदरमुकाम गोठीकाँडामा हुलाक, मालपोत र आयुर्वेदको स्वास्थ्यचौकी सञ्चालित थिए । वि.सं. २००६ सालको हिउँदतिर सुर्खेती शिक्षाका अग्रज महानुभावहरूले समयानुकूलको एक भाषा पाठशाला खोल्नका लागि मागपत्र लेखेर हुलाकमार्फत् काठमाडौं पठाउनुभएछ । उक्त मागपत्र दैलेख–सल्यान–पाल्पा हुँदै पोखराबाट काठमाठौंमा पुगेपछि तत्कालीन शिक्षा निर्देशक कृष्ण शमशेर जवराले पाठशाला खोल्ने ऐन सदनमा नभएको जानकारी गराएपछि सुर्खेती जनताको सांगठनिक विद्यालयमार्फत् शिक्षा पाउने अभिलाषामाथि तुषरापात भएको इतिहास जीवन्त छ । २००७ सालको परिवर्तनसँगै फागुन–चैत महिनातिर सुर्खेती शिक्षा प्राप्तीको तीव्र आवश्यकताले घरसारमा विद्यालय खोली पठनपाठन भएको र शिक्षा लिएको कुरा बुढापाकाहरू बताउँदै आएका छन् । यस्तो सत्कार्य थालनीको ठीक एक वर्षपछि वि.सं. २००८ साल चैत्र ८ गतेका दिन साविकको पब्लिक मिडिल स्कुल गोठीकाँडा र तीन वटा राष्ट्रिय प्राथमिक विद्यालयहरू तेलपानी, पण्डितकाल्ना गुमी र खलाकाटे मेहेलीमा गरी चार वटा विद्यालयहरू सुर्खेतमा पहिलोपटक एकैपटक स्वीकृति भइ सञ्चालनमा आएका हुन् । सुर्खेत उपत्यकामा औलो उन्मूलन नहुन्जेलसम्म हिउँदमा तल फाँट र वर्षामा माथि काँढ (गोठीकाँडा) मा चलेको पब्लिक मिडिल स्कुल २०२१ सालपछि पहिले खार्खोली र पछि हालको जन माध्यमिक विद्यालयका रूपमा सञ्चालित छ भने पण्डितकाल्नाको राष्ट्रिय प्राथमिक विद्यालय आनन्द मावि गुमीको रूपमा छ । खलाकाटे अहिले पनि आठ कक्षासम्म स्वीकृति पाएको रूपमा छ भने तेलपानी अस्थायी निमावि भन्दा माथि उक्लिन सकेको छैन ।
पब्लिक मिडिल स्कुल स्वीकृति पाएपछि सुवेदार स्वर्गीय देवीदत्त कोइरालाले पहिलो हेडमास्टर, मदन भट्टले दोस्रो र लिलाधर गौतमले तेस्रो मास्टरको पदका रूपमा ग्रहण गरी नेतृत्व दिन पुगेका छन् । तत्कालीन गोठीकाँडाको टुँडिखेलको खरीको रुखमुनीबाट शिक्षा सिञ्चन गर्न लागेको सुर्खेती निमाविको शिक्षाको सोपान अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नाममा छ र अनेक विवाद, अख्तियार, आलोचनाका बीच धङधङी गर्दैछ । २०१९ सालमा जुनियर हाइस्कुलको तहमा उचालिएको मिडिल स्कुल २०२२ सालमा हाइस्कुलका रूपमा स्वीकृत भएपछि पहिलोपल्ट सर्खेतमै पढेर डीपी समदर्शीसहित चार जना प्रवेशिका तह उत्तीर्ण गरेर एउटा सुस्पष्ट बाटो कोरेका छन् । यद्यपि प्रवेशिका परीक्षा उत्तीर्ण हुने पहिलो सुर्खेती भने देवप्रसाद पन्त(ठूले पन्त) हुन् । सुर्खेतमै प्राथमिक तह र निमावी तहको शिक्षा पाइ उनले भारतीय बोर्डबाट वि.सं. २०१३ सालमै प्रवेशिका परीक्षा उत्तीर्ण हुने सफलता पाएका हुन् । यसबीच बलभद्र भारती, तुलाराम भारती, प्रजापति थानी, ओमबहादुर जिसी, युद्धबहादुर कार्की, ज्ञानबहादुर जिसी लगायतका केही युवाहरूले २०२२ साल अघि नै प्रवेशिका परीक्षा दिइसकेका थिए ।
सुर्खेती शिक्षाको समृद्धिमा २०१३ सालदेखि २०२६ सालसम्मको नर्मल तालिम कार्यक्रमले महत्वपूर्ण योगदान गरेको छ । ठूले पन्त, मदन भट्टद्वारा प्रारम्भ गरिएको २०१३ सालको नेपालगन्जको नर्मल तालिम २०२६ सालमा आएर बसन्त थापाहरूबाट किनारा लागे पनि तालिमका अवधिमा प्रशिक्षित स्रोता, साधारण हिसाब–किताब, पीटिपरेड, विद्यार्थी शिक्षण जस्ता पाठ्य सामग्रीहरूद्वारा नेपालगन्ज, दैलेख र सल्यानमा घुम्ती रूपको नर्मल तालिमद्वारा सयभन्दा बढी युवाहरू प्रशिक्षित भइ तत्कालीन दुर्गम सुर्खेत, दैलेखमा शिक्षाको पिलपिल दियोलाई बलाउने उल्लेख्य कार्यहरू गरी अशिक्षाका अध्यारो फुटाउने काम गरेका छन् । यसबीच भारत लगायत काठमाडौंमा तथा लाहुरेका छोराछोरीहरूले पठन–पाठन गर्ने अवसर पाउँदै आएका छन् ।
तत्कालीन पहिलो सुर्खेत राष्ट्रिय पञ्चायत सदस्य इन्द्रबहादुर घर्ती क्षेत्रीको सक्रियतामा थिरथिरे पब्लिक हाइस्कुललाई त्यसबेला काठमाडौंैमै अध्ययनरतः जो सुर्खेतमै पहिलो विज्ञानमा स्नातक गरेका पद्मकेशर खनाललाई नृतेत्व दिएपछि पब्लिक हाइस्कुल (पछिसम्म बजार स्कुलका नामले पनि परिचित) सफल नेतृत्व दिएकाले, उक्त स्कुल पश्चिममै उत्कृष्ट नमुना विद्यालय बन्न पुगेको छ । खिचातानीकै कारण खनालले हाइस्कुलबाट विदाइ लिएपछि सुर्खेती शिक्षाको विकास विस्तारै ओरालो लागेको छ र लामो समयपछि झण्डै २०५१–०५२ सालतिर विद्यालयले पूरानै लय पकडेको देखिन्छ । अहिले उक्त विद्यालय नमुनामा पर्न सफल भएको छ ।
पब्लिक मिडिल स्कुल, जुनियर हाइस्कुल, पब्लिक हाइस्कुल, जन व्यावसायिक माध्यमिक विद्यालय जस्ता विभिन्न नाम र काम पाएको जन उच्च माध्यमिक विद्यालयले चिसापानी स्कुल, डाँडास्कुल र सुब्बाकुना स्कुलको विकासमा सक्दो सहयोगमात्र गरेन, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आधारस्तम्भ तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसको प्रारम्भिक सञ्चालनका लागि भवन दियो । बहुमुखी क्याम्पसको आफ्नै भवन चक्रपाणी पथमा निर्माण नहुन्जेलसम्म २०२८ सालदेखि २०४२ सालसम्म क्याम्पस जीवन जन माध्यमिककै भवनहरूमा चले । यतिमात्र होइन पञ्चायतकालीन विभिन्न सरकारी तालिम, गोष्ठी, सेमीनार बैठकका लागि जन माध्यमिकले अतिथ्यता दियो, कालक्रममा केन्द्र र उपकेन्द्र दियो ।
२०२५ सालमा स्थापित आनन्द मावि गुमी र भानु मावि बजेडीचौरको स्थापनाले माध्यमिक शिक्षा विस्तारमा सक्दो योगदान गर्दै आएका छन् । वि.सं. २०२८ सालदेखि सुर्खेतमै सञ्चालित प्रवेशिकाको पहिलो केन्द्रका रूपमा स्वीकृत दिएपछि यसअघि नेपालगन्ज गइ परीक्षामा सामेल हुने झण्झटको अन्त्य भएको मात्र छैन, यसैवर्षदेखिको राष्ट्रिय शिक्षा परियोजनाले नेपालभित्रका सबै शैक्षिक संस्थान, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक, विद्यार्थी विषयमा सुर्खेतमा पनि एकीकृत, सही र सम्मान नीति लागू भइ सुर्खेती विविध शैक्षिक प्रक्रियालाई एउटै प्रणालीमा ल्याउन महŒवपूर्ण योगदान पु¥याएका हो । यसपछिमात्र सुर्खेतको विद्यालय जीवनमा, शिक्षामा, सेवामा, विद्यार्थीहरूबीच समानता आएको छ । यस परियोजनासँगै आएका कुखुरापालन, काष्ठकला, पशुपालन, दुग्ध व्यवसाय सम्बन्धी नयाँ शैक्षिक शिक्षण क्रियाकलाप सुर्खेती सन्दर्भमा नयाँ विषयहरू हुन् । यसै पृष्ठभूमिमा २०३५ सालमा जन व्यवसायिक विद्यालयबाट मात्रै १०२ जना भन्दा बढी विद्यार्थी प्रवेशिका उत्तीर्ण हुने पहिलोपटक सफल भयो । यो नतिजा सुर्खेतकै पहिलो शिक्षाको पहिलो क्रान्ति थियो । २०२२ सालदेखिको प्रवेशिका ढोकामा सयजतिले पार गर्न सकेको पृष्ठभूमिमा २०२४ सालले छलाङ्ग हानेको छ भने यही विद्यालयको नतिजा २०२७ सालमा प्रवेशिकामा उत्तीर्ण विद्यार्थी संख्या जम्मा दुई मात्र रहेर शिक्षा विकासलाई आश्चर्यमा परेको छ ।
२०३२ सालदेखिको सुर्खेतबाटै दिइएको बी लेवलको महिला र पुरुष शिक्षाले लगभग एक दशक यात्रा गरेर खासगरी महिलालाई शिक्षिका बानाउने काम ग¥यो । २०३५ सालमा पहिलोपटक सुर्खेतको सामुदायिक चिकित्साशास्त्रको अध्ययन सञ्चालन कार्यक्रमले यस क्षेत्रका विद्यार्थीहरूलाई सामुदायिक स्वास्थ्य सम्बन्धी समस्या, निराकरण तथा प्राथमिक उपचारका विषयमा स्वास्थ्य शिक्षा दिने महŒवपूर्ण तथा आधारभूत काम भयो । यस संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरू डाक्टर डम्बर खड्कालगायत थुप्रै चिकित्सकहरूले ठूला–ठूला अस्पतालको कुशल नेतृत्व गर्न पुगेका छन् । यसरी विभिन्न आधार र विशेषताबाट सुर्खेतको शिक्षाको विकासमा सकारात्मक योगदानहरू रहेका छन् ।
माध्यमिक शिक्षाको विस्तारको क्रममा विद्यापुर, दशरथपुर, अवलचिङ लेखगाउँ, मेहेलकुना, काप्रिचौर, सहारे माविको स्थापना स्वीकृति र पठनपाठनले सुर्खेती कुना–कुनाका जनताहरू शिक्षित साक्षर र उद्यमी बन्न पुगेका छन् । समयक्रममा खुलेको विभिन्न तहका, धारका, विद्याका शैक्षिक संस्थाले सुर्खेती अन्धकारलाई सक्दो प्रदिप्त पारेको छ । २०३२ सालयता खासगरी शिक्षहरूलाई स्थायी गराउने प्रक्रिया चलेपछि शिक्षकहरूको सेवा र सुविधा, सेवा अवधि, तह, औषधि उपचार, अधिकारको सुनिश्चितता भइ सुर्खेती शिक्षकहरूको सुस्पष्ट दिशा दिएपछि शैक्षिक पेसाप्रति आकर्षण बढ्न गएको छ । विभिन्न समयमा चलेका खासगरी राजनैतिक, शैक्षिक, प्रशासनिक आन्दोलनहरूले सुर्खेती शिक्षालाई विस्तारित रूप दिन महŒवपूर्ण काम गरेका छन् ।
धनीराम उपाध्याय, तुल्सीप्रसाद शर्मा, चन्द्रबहादुर बुढा, घोगे सार्की, दामोदर उपाध्याय जस्ता व्यक्ति विशेषले पनि सुर्खेती शिक्षाको विकासलाई व्यक्तिगत रूपमा योगदान मात्र दिएका छैनन्, दिवंगत यामलाल कँडेल, नेत्रबहादुर खत्री, नहकुल बस्नेत, अरुणकुमार सिंहको पनि खास खास महŒव छ । महेन्द्रप्रसाद शर्मा, देवेन्द्र बिसी, भक्तबहादुर केसी, हरिबहादुर कोइराला, श्यामकृष्ण शर्मा, घनश्याम कोइराला, लिलाधर गौतम, रविलाल सुवेदी, तुल्सीदेवी श्रेष्ठ, कालिप्रसाद पाण्डे, हरिबहादुर कोइराला, जनकराज शास्त्रीरेग्मी, तुलाराम भारती जस्ता सुर्खेती शिक्षकहरूले पनि समयक्रममा सकभर सक्दो योगदान गरेका छन् । कृष्णबहादुर रेग्मी सुर्खेती आदर्श गुरु हुन्, दुर्गाकेशर खनाल पनि प्रतिनिधि आदर्श गुरु हुन् ।
यहाँको शैक्षिक विकासका क्रममा कतिपय विकृति पनि देखा परे । सुर्खेती संकिर्ण मानसिकताले, क्षेत्रीयताले र समाजले सुर्खेती शिक्षाको वास्तविक विकासमा नकारात्मक प्रभाव पारेको छ । यहाँ राम्रा चरित्र चाहिन्न, हाम्रा चाहिन्छ । यहाँ ज्वाइँ, इष्टमित्र, आफ्ना चहिन्छ । समकालीन समाजमा देखिएका शैक्षिक संस्थागत अपचलनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयदेखि जिल्ला शिक्षा कार्यालय तथा विद्यालयहरूमा भएका अर्थिक अपचलन, भ्रष्टाचार तथा स्वेच्छाचारिताप्रति जनताका प्रतिनिधि पार्टीहरू प्रायः मौन रहनु सुर्खेती समाजको प्रतिनिधि चरित्र हो । यो चरित्र कुनै पनि हालतमा सैह्य छैन, प्रगतिशील र द्रुतगामी हैन ।
२०१९ सालमा स्वीकृति पाइ नेपालगन्जमा मुकाम कायम गरेको सुर्खेत क्याम्पस शिक्षाले सुर्खेतमा २०४२ सालमा आउने अवसर पायो । बेवारिसे अवस्थाको यस क्याम्पसले भाडामा एक दशक भन्दा बढी बितायो । २०४९ सालको क्याम्पसको बी.ए.को स्तरोन्नतिसँगै सुर्खेतमै शिक्षामा स्नातकको पठनपाठन पाउनु अघिसम्म सुर्खेतमा स्नातक आवश्यक स्नातक संख्या नपुगेर तत्कालीन माविहरूमा आइ.ए. वा आइ.एड. गरेका शिक्षकहरू प्राधानाध्यापक भइ काम गर्न बाध्य भए । जबकी यसअघि नै २०२४ सालमै दिवंगत श्यामबहादुर घर्तीले सुर्खेतबाटै पहिलो पटक बी.एड. गरेका थिए र शिक्षाको आधारभूत विशेषज्ञ बनिसकेका थिए ।
नरेन्द्र कोइरालाले खोलेको रोजल्याण्ड, हेमराज भुसालको इगरब्रिज, सीताराम कार्कीको आदर्शराज, सागर भुसालहरूको उषा बालबाटिका जस्ता निजी बोर्डिङ्गले खासगरी सुर्खेती अंग्रेजी माध्यमको पठनपाठनद्वारा शिक्षामा उज्यालो किरण छर्ने महŒवपूर्ण काम गर्ने क्रममा हालसम्म सुर्खेतमा एक सय २३ भन्दा बढी निजी स्कुलहरूले स्वरोजगार र शिक्षाको विकासमा सकारात्मक भूमिका खेलेका छन् । कुमार पुनको छिन्चुको बोर्डिङ्ग अहिले प्रदेशमै पहिलो निजी विद्यालय बन्न पुगेकै छ । यस प्रकारका नमुना विद्यालयहरूले विज्ञान तथा वाणिज्य विषयमा प्लसटूसम्म चलाएका छन् र स्तरीय शिक्षा दिँदै आएका छन् । सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी प्रा.लि. (सेडा) यस क्षेत्रकै विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूको झण्डै ३० करोड बराबरको मूल्यको सबैभन्दा ठूलो शैक्षिक संस्था हो । तिनाउयता यस प्रकृतिको शैक्षिक प्रा.लि. विकल्पमा छैन । सुर्खेती शिक्षामा सेडा प्राप्ती हो । २०४५ सालदेखिका एसओएस हर्मन माइनर विद्यालयद्वारा प्रतिनिधिमूलक शिक्षा दिइदै छ भने विशेष क्षमताका जनताका लागि सिद्धबहिरा स्कुल लगायत थुप्रै संस्थाले उनीहरूबीच शिक्षा छर्ने काम गरेका छन् । सैनिक आवासीय विद्यालयले प्रचूर संभावना बोकेर शिक्षा शिक्षण गर्दैछ ।
२०४९ सालदेखि प्रारम्भ गुमी र विद्यापुरको विद्यालयको उच्च माध्यमिक तहको शिक्षा सुरु भएयता सुर्खेतमा पहिलो पटक जन माध्यमिकमा विज्ञान विषयको पठनपाठनले निमावि तहको विज्ञान विषयका धेरै शिक्षकहरू उत्पादन गर्ने प्रशंसनीय कार्यलाई अमरज्योति लगायत विभिन्न विद्यालयले योगदान दिँदैछन् । बड्डीचौरको जनज्योती माध्यमिक विद्यालयले सिर्जनशील भिन्न धारलाई प्रतिनिधित्व गर्दैछ । सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख टंकप्रसाद आचार्यका अनुसार २०४५
सालतिरबाट सञ्चालित सेदुपछि तालिम केन्द्रले, शिक्षा कार्यालय, शिक्षा निर्देशनालय तथा जेसीज, संघसंस्थाद्वारा प्रायोजित कार्यमूलक परियोजनाहरूले सुर्खेती शिक्षालाई व्यवहारिक बनाउने काम गरिरहेका छन् । उनका अनुसार सुर्खेत क्याम्पस शिक्षाले आफूलाई २०५७ सालदेखि स्नातकोत्तर तहमा परिवर्तन गरेपछि दुई हजार भन्दा बढी विभिन्न जिल्लाका विद्यार्थीहरूलाई स्नातकोत्तर तहको प्रमाणपत्र मात्र दिएको छैन, उच्च माविहरूमा शिक्षा, गणित, नेपाली, जनसंख्या जस्ता विषयविशेषज्ञ उत्पादन गरिसकेको छ । बी.एड. विज्ञान तथा आइसीटी प्रोग्रामद्वारा तदनुकुलका जनशक्ति उत्पादन गर्ने काम गरेको छ । यतिमात्र हैन शिक्षा शास्त्रको पहिलो ब्याचका शरद पौडेलले भर्खरै सम्पन्न त्रिवि सेवा आयोगमा उपप्राध्यापक पदमा सर्वश्रेष्ठ स्थान मात्र प्राप्त गरेनन्, शिक्षा क्याम्पसमा प्राध्यापनरतः अधिकांश शिक्षकहरूले नाम निकाल्न सफल भए । गत शिक्षक सेवामा शिक्षा क्याम्पसमै अध्ययन गरेका विद्यार्थीहरू माविको १० सीटमध्ये नौ वटामा नाम निकाल्न सफल भएबाट सुर्खेती शिक्षाको विकास सकारात्मक छ भन्ने निश्कर्ष निकाल्न सकिन्छ ।
चन्द्रा भारतीले तय गरेको सुर्खेती महिला स्नातकोत्तरको लयलाई सयभन्दा बढी सुर्खेती महिलाहरूले पार गरेर स्नातकोत्तर तह पूरा मात्र गरेका छैनन् दीपा हमाल लगायत थुप्रै महिलाहरूले विभिन्न क्षेत्रमा कुशल नेतृत्व दिएका छन् । श्याम श्रेष्ठ, खगेन्द्र थापा र गेहेन्द्र दहाल(हाल सेवानिवृत्त)हरू सवेरै विद्यालय पुग्ने र भरे अवेर घर फर्किने चलनले सकारात्मक सूचकांकहरू देखाए पनि अझै सिर्जनशीलताको आवश्यकता छ । वातावरणीय समृद्धिलाई यिनीहरू जस्ताले जोड दिनुपर्छ । रामसिंह ठकुरीद्वारा प्रारम्भ गरिएको जिल्ला शिक्षाको नेतृत्वमाथि हरिलाल ढकालले सुद्धिकरण ल्याए भने अहिलेको जीतबहादुर शाह बौद्धिक मानिएका छन् । नैनसिंह धामीले बिगारेको बाहेक अरुहरूले सकारात्मक योगदान गरे । सुर्खेती भूमिमै सक्रिय रहेको रामप्रसाद उपाध्याय हालै क्षे.शि.नि.मा निवृत्त भएका छन् र वर्तमान क्षे.शि.नि. डा. हरिप्रसाद गौतमले बौद्धिकता प्राज्ञिकता र प्रशासनिक कार्यशैली पोखेका छन् ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतका शाखा अधिकृत नाराण पौडेलका अनुसार सुर्खेतमा चार सय ४६ बालविकास केन्द्र विभन्न तहका पाँच सय विद्यालयका लगभग तीन हजार शिक्षक त्यही अनुपातका विद्यार्थी, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सात वटा प्राइभेट क्याम्पसद्वारा सुर्खेती शिक्षाको व्यवहारिक सञ्चालन भइरहेको छ । २०५४ सालमा सुर्खेतबाट पहिलो पटक विद्यावारिधि गरेका डा. पदमलाल देवकोटा लगायत झण्डै पाँच दर्जन सुर्खेतीले विद्यावारिधि गरेको छन् । जन माध्यमिक विद्यालयले थालनी गरेको दीपक गौतम र चन्द्रबहादुर केसीको विशेष योगदानमा प्रकाशित जन उमावि स्वर्ण जयन्ती स्मारिकाले सुर्खेतको स्मारिका प्रकाशनमा सुस्पष्ट मार्गदर्शन गरे पनि त्यसलाई अनुशीलन गरिएको छैन । जनकदेव शास्त्रीको सक्रियतामा प्रकाशित जुनकीरी भानु माविको मुखपत्रले इतिहास रचे पनि जन माविले सुर्खेती र पछि जनपुष्प निकाले पनि मुखपत्र प्रकाशनमा गतिशीलता अउन सकेको छैन । जनताको बलद्धारा स्थापित मध्यपश्चिमाञ्चल विश्वविद्यालय २०६८ सालदेखि मूर्तरूप लिए पनि प्रारम्भदेखि अहिलेसम्म अख्तियारको निगरानीबाट बाहिर जान सकेका छैन र जनताको आलोचना खेपिरहेको छ । गंगा केसीले साहित्यका माध्यमले विशिष्टता पु¥याएका छन् भने सबैभन्दा लामो समयसम्म विव्यस बनेर काम गरको रामबहादुर खत्रीका आफ्नै अनुभवहरू छन् यी कुराहरूलाई आत्मसात् गरी अगाडि बढेको खण्डमा सुर्खेती शिक्षा समृद्ध बन्न सक्ला ।

प्रकाशित मितिः   २३ भाद्र २०७४, शुक्रबार १६:१५