कार्तिकभित्रै खुला दिसामुक्त

सुर्खेत, १९ भदौ ।
मध्यपश्चिममा खुला स्थानको दिसा लुकाउने अन्तिम कसरत भइरहेको छ । आउँदो कार्तिकभित्रै मध्यपश्चिमका सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी छ । त्यसका लागि यस क्षेत्रका बासिन्दा हिजोआज घरघरमा शौचालय निर्माण र त्यसको प्रयोगमा जुटेका हुन् ।
यस क्षेत्रका अधिकांश जिल्लाहरू यसअघि नै खुला दिसामुक्त भइसकेका छन् । अब हुम्ला, डोल्पा, मुगु र बाँकेलाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । यी जिल्लाका बासिन्दाहरू पनि दिसा लुकाउन भन्दै पछिल्ला दिनमा घरघरमा शौचालय निर्माण गर्ने काममा जुटेका छन् । आउँदो कार्तिकभित्रै यी जिल्लाहरूमा पनि खुला स्थानको दिसा लुकाइसक्ने तयारी छ । त्यसपछि मध्यपश्चिम क्षेत्रका कुनै पनि जिल्लामा खुला स्थानमा दिसा नदेखिने सरकारी दाबी छ ।
यस क्षेत्रका खुला दिसामुक्त घोषणा नभएका जिल्लामा सर्वसाधारणहरू दिसा लुकाउने भन्दै धमाधम शौचालय बनाउने काममा व्यस्त छन् । मध्यपश्चिममा सरसफाइ अभियानको नेतृत्व गर्दै आइरहेको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका अनुसार अब यस क्षेत्रका चार जिल्ला मात्र खुला दिसामुक्त घोषणा हुन बाँकी छन् । हिमाली जिल्लाहरू हुम्ला, मुगु र डोल्पा घोषणाका लागि अन्तिम चरणमा छन् । यी जिल्लामा अनुगमन गरिएको र सबैको घरमा शौचालय निर्माण भइसकेकाले असोजसम्म खुला दिसामुक्त हुने कार्यालयले जानकारी दिएको छ । यस्तै बाँकेमा भने अझैं १० प्रतिशत घरमा शौचालय बन्न बाँकी छन् । बाढी र डुबानका कारण बाँकेमा केही कठिनाइ भए पनि कार्तिकसम्म यो जिल्लामा पनि खुला स्थानको दिसा लुकाइने दाबी गरिएको छ ।
‘यस क्षेत्रका ११ जिल्ला खुला दिसामुक्त घोषणा भइसके, अब कार्तिकभित्रै बाँकी चार जिल्लालाई पनि घोषणा गर्दैछौं’ सुपरीवेक्षण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसैनले भने, ‘सबै जिल्लामा शौचालयको प्रयोग बढेको छ, खुला स्थानमा दिसा देखिन पनि छोडेको छ । हामी अन्तिम तयारीमा जुटेका छौं, अब कार्तिकपछि यो क्षेत्रमा खुला स्थानमा दिसा देखिने छैन ।’ भौतिक विकासमा पछाडि परेको मध्यपश्चिममा सरसफाइको अवस्था पनि कमजोर छ । जसका कारण वर्षेनी यस क्षेत्रका विभिन्न जिल्लामा झाडापखालाको महामारी फैलिने गरेको छ । विगत केही वर्षदेखि सञ्चालन भएको सरसफाइ अभियान अन्तर्गत अधिकांश परिवारले घरमा शौचालय निर्माण गरेका छन् । शौचालयको निर्माण र प्रयोगको दर बढेका कारण यही वर्षभित्र मध्यपश्चिमलाई खुला दिसामुक्त गर्न सम्भव हुने हुसैनले बताए ।
सरसफाइ अभियानले शौचालयको प्रयोगमा वृद्धि र साबुनपानीले हात धुने बानीको विकास भएको छ । दिसा लुकाउने अभियानमा विभिन्न गैरसरकारी संस्थाहरूले पनि हातेमालो गरिरहेका छन् । यसअघि खुला दिसामुक्त घोषणा भइसकेका जिल्लामा अब पूर्ण सरसफाइ अभियान सञ्चालनको तयारी भइरहेको छ । यसअन्तर्गत धुवाँरहित चुल्हो, भान्सा र आँगनको सरसफाइ र साबुन पानीले हात धुने बानीको विकास लगायतका क्रियाकलाप सञ्चालन हुन्छन् । खुला दिसामुक्त अभियान अन्तिम चरणमा पुगेको भन्दै सरोकारवालाहरूले अब यस क्षेत्रमा सार्वजनिक शौचालय निर्माणमा जोड दिएका छन् । घरमा शौचालय निर्माण भए पनि मानिसहरूको भीडभाड हुने र सार्वजनिक स्थलहरूमा शौचालय नहुँदा अभियानमा चुनौती थपिएको छ । यसका लागि अब आफूहरूले सार्वजनिक शौचालय निर्माणमा प्राथमिकता दिने क्षेत्रीय अनुगमन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यसअघि खुला दिसामुक्त भएको सुर्खेतमा अहिले सार्वजनिक शौचालयको निर्माण गर्ने काम भइरहेको छ ।
सिनियर डिभिजनल इन्जिनियर हुसैनका अनुसार सुर्खेतमा एक सय ६८ वटा सार्वजनिक शौचालय आवश्यक छन् । त्यसमध्ये वीरेन्द्रनगरको खुलामञ्च, हटियालाइन, बसपार्क र हर्रेमा शौचालय निर्माण भएका छन् । अब जिल्लाका अन्य सार्वजनिक स्थलमा पनि सार्वजनिक शौचालय निर्माण गर्ने उनले जानकारी दिए । शौचालय मात्र निर्माण गरेर नहुने भन्दै उनले पर्याप्त पानीको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले बजेट बढी आवश्यक पर्ने गरेको उनको भनाइ छ ।
यसका लागि दाताहरूसँग समन्वय भइरहेको भन्दै उनले अबको पाँच वर्षभित्र सार्वजनिक स्थलमा शौचालय निर्माण गरिसक्ने योजना सुनाए ।

प्रकाशित मितिः   २० भाद्र २०७४, मंगलवार १६:४५