युवाहरूको पहलमा सडक मर्मत

चौकुने, १९ भदौ ।
दुई महिनादेखि अवरुद्ध रहेको पश्चिम सुर्खेतको लगाम–बेतान र बिजौरा जोड्ने सडक मर्मत गरिएको छ । लगाममा रहेको स्थानीय एकता युवा सञ्जालको पहलमा सडक मर्मत गरिएको हो ।

चौकुने गाउँपालिका वडा नं. १, २, ३ र ४ जोड्ने सडकखण्ड गत असारदेखि अवरुद्ध भएको थियोे । सुर्खेतबाट बेतान, लगामसम्म पुग्ने जीप वर्षायामको पहिरोले बाटो बिग्रिएपछि चल्नै छोडेको थियो । लगाम र बेतानबाट गाडी चढ्नका लागि यहाँका नागरिकहरू एक दिनभरी पैदल हिँडेर आउने गरेका थिए । गाउँपालिका, सडक डिभिजन कार्यालय लगायत सम्बन्धित निकायसँग सडक सुधारका लागि पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएपछि स्थानीय युवाहरू नै सडक मर्मतमा जुटेका हुन् ।
आफूहरूको मागलाई सम्बन्धित निकायले वास्ता नगरेपछि स्थानीय युवाहरूको संगठन एकता युवा सञ्जालले सडक मर्मतका लागि पहल थालेको हो । सञ्जालको पहल र व्यवसायी रवि शाहीको सहयोगमा बिजौरादेखि लगामसम्म सडक मर्मत गरिएको हो । यसरी सडक मर्मत गरेपछि अबको केही दिनमै लगामसम्म जीप चल्ने भएको छ । चौकुने गाउँपालिका वडा नम्बर ३ बेतानका कृष्ण कार्कीले युवाहरूको पहलमा सडक मर्मत भएपछि आफूहरूलाई सहज भएको बताए ।
जीप चलेपछि दिनभर हिँड्नु पर्ने झन्झट अन्त्य हुने र काममा सहजता आउने चौकुने गाउँपालिका वडा नं. २ का यामबहादुर रम्तेलले बताए । प्रत्येक वर्ष वर्षातको समयमा उक्त सडक यसैगरी अवरुद्ध हुने गर्दछ । गत वर्ष पनि सडक अवरुद्ध हुँदा युवा सञ्जालकै पहलमा मर्मत गरिएको थियो । एकता युवा सञ्जालका अध्यक्ष हरिचन्द्र भण्डारीले युवाहरू एकजुट भएमा कसैको मुख ताकेर बस्नुनपर्ने बताए । उनले गाउँको विकासमा युवाहरू सधैं सक्रिय भएर लाग्ने गरेको समेत जनाए । ‘गत वर्ष पनि बाटोको हविगत यस्तै थियो, सञ्जालले लगामदेखि बेतानसम्म सडक मर्मत गरी जीप पु¥याएका थियौं’ उनले भने, ‘सामाजिक विकासका लागि युवाहरूबाट सम्भव छ भन्ने कुरालाई यसले पनि पुष्टी गरेको छ ।’ व्यवसायी रवि शाहीले पनि युवाहरू सक्रिय हुने हो भने सानोतिनो कामका लागि राज्यको मुख ताक्न नपर्ने बताए । आफ्नो ठाउँको विकासका लागि हरेक युवाले सोचिदिए सबै काम बन्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   २० भाद्र २०७४, मंगलवार १६:४४