वीरेन्द्रनगरलाई ‘छोरीमैत्री’ बनाइने
भ्रुण हत्या गर्नेलाई कारबाही गरिने, सात जना छोरीको बैंक खाता खोलियो
सुर्खेत, १८ भदौं ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अब छोरीमैत्री नगर हुने भएको छ । प्रदेश नम्बर ६ को प्रस्तावित राजधानीका रूपमासमेत चर्चामा रहेको वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्न लागिएको हो । छोरीमैत्री नगरका रूपमा विकास गर्न नगरपालिकाले विभिन्न योजनाहरू अगाडि सारेको छ ।
छोराको मोहका कारण वीरेन्द्रनगरमा गर्भ परीक्षण गरेर भ्रुण हत्या गर्नेक्रम बढेको छ । गर्भमा छोरा भए जन्माउने र छोरी भए भ्रुण हत्या गर्नेको संख्या बढेपछि नगरपालिकाले यसलाई रोक्न विशेष योजना ल्याएको हो । शिक्षित व्यक्तिहरू बस्ने नगरभित्रै पछिल्ला दिनमा छोरीमाथि गर्भमै विभेद भइरहेको भन्दै नगरपालिकाले अब वीरेन्द्रनगरलाई छोरीमैत्री (छोरीले पनि बाँच्न पाउने) सहरका रूपमा विकास गर्न लागिएको जनाएको छ ।
नगरमा छोरा जन्माउनेको संख्या बढेपछि छोरीको संख्या कम हुँदै गएको छ । विभिन्न गैरसरकारी संस्थाहरूले गरेको अध्ययनमा यो तथ्यांक बाहिर आएको हो । छोरीमाथि भइरहेको विभेद रोक्नका लागि नगरकार्यपालिकाले प्रोत्साहन स्वरूप नगरभित्र छोरी जन्मनेबित्तिकै छोरीको नाममा बैंकमा खाता खोलिदिने निर्णय गरेको छ । हालसम्म नगरभित्र जन्मिएका सात जना छोरीको नाममा नगरपालिकाले स्थानीय बैंकमा खाता खोलिदिएको
छ । खाता खोलेर सुरुवातमा नगरपालिकाले नै एक हजार रूपैयाँ जम्मासमेत गरिदिएको छ । यसले छोरीलाई नगरभित्र सम्मानपूर्वक बाँच्ने वातावरण निर्माणका लागि प्रोत्साहन हुने नगरपालिकाको दाबी छ ।
‘विकास भनेको भौतिक निर्माण मात्र होइन, पूर्वाधारले मात्र हाम्रो नगर समृद्ध हुन सक्दैन’ वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदी भन्छन्, ‘पूर्वाधारको विकाससँगै हामीले सामाजिक रूपान्तरणमा पनि ध्यान दिएका छौं, छोरा मोहका कारण गर्भमै छोरीको हत्या बढ्दो छ । भ्रुण हत्याले सामाजिक संरचना नै खल्बलिने अवस्था आयो, यसलाई रोक्न हामीले वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास
गर्दैछौं ।’ छोरा र छोरीबीचको विभेद रोक्नका लागि आफूहरूले छोरी जन्मनेबित्तिकै बैंकमा खाता खोल्न सुरु गरेको उनले जनाए । यसले पनि छोरी जन्माउनलाई प्रोत्साहन मिल्ने उनको विश्वास छ । उनले भने, ‘छोरा र छोरी दुवै समान हुन्, अब गर्भमै छोरीको हत्या गर्नेलाई कारबाही हुनेछ । हामी स्थानीय प्रशासनसँग मिलेर कडा अनुगमन गर्नेछौं, छोरी भएकै कारण अब गर्भपतन गर्ने व्यक्ति, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले छुट पाउने छैनन् ।’
लिंग पहिचान गरेर भ्रुण हत्या गर्नेक्रम बढ्दै गएपछि नगरपालिकाले यसतर्फ गम्भीर भएको जनाएको हो । स्थानीय मेडिकलहरूमा अवैध रूपमा गर्भपतन हुने गरेको सूचना पाएको भन्दै मेयर सुवेदीले अब तिनलाई कानुनी दायरामा ल्याउने जानकारी दिए । यस्तै नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा छोरीका लागि गर्भदेखि बाँचुञ्जेलसम्म सम्मानजनक वातावरण सिर्जना हुने बताइन् । उनले भनिन्, ‘वीरेन्द्रनगरलाई देशकै नमुना नगर बनाउने सपना छ, भौतिक रूपमा सबै विकास गर्न तयार छौं । सामाजिक रूपमा पनि हाम्रो नगर अब्बल बन्नेछ, अब वीरेन्द्रनगरमा छोरीले सम्मानपूर्वक बाँच्न पाउनेछन् ।’ अबको पाँच वर्षभित्रमा नगरभित्र हुने भ्रुण हत्याको समस्यालाई पूर्ण रूपमा बन्द गर्ने योजनासमेत उनले सुनाइन् । स्थानीय सरकारबाट जनताले धेरै आश गरेको भन्दै उनले भ्रुण हत्यालाई न्यूनीकरण गर्न सम्पूर्ण निकाय परिचालन गर्ने उल्लेख गरिन् ।
यता अधिकारकर्मीहरूले भने शिक्षित व्यक्तिबाटै सुनियोजित ढंगले भ्रुण हत्या गर्ने कार्य भइरहेको जनाएका छन् । साथै उनीहरूले यसलाई रोक्न अब स्थानीय सरकार र प्रशासनिक निकायले अनुगमन र कारबाहीको दायरा बढाउनुपर्ने सुझाव दिए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पनि पछिल्लो समय जिल्लामा छोरीको संख्या घट्दै गएको छ । छोरा मोहका कारण भ्रुण हत्या बढेको र छोरा मात्र जन्माउन थालेपछि छोरीको संख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७२÷०७३ भएको सर्वेक्षणमा जिल्लाभर एक वर्षको अवधीमा एक हजार आठ सय ८९ बालकको जन्म भएकोमा बालिका जम्मा एक हजार सात सय ४० थियो । त्यस्तै वीरेन्द्रनगरमा एक वर्षको अवधिमा एक हजार सात चार जना बालकको जन्म भएकोमा जम्मा एक हजार चार सय १८ जना मात्र बालिका जन्मेका छन् । यसले पनि छोरीको संख्या घट्दै गएको देखाउँछ ।
बालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएको सीवीन नेपालका अनुसार नगरभित्रै छोरीको गर्भमै हत्या हुने क्रम बढ्दै गएको छ । संस्थाका कार्यक्रम अधिकृत संगीता वलीले लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध भए पनि सहरी क्षेत्रमा नै यो समस्या विकराल बन्दै गएको बताइन् । यस्तो अवस्थामा नगरपालिकाले थालेको अभियान सकारात्मक हुने उनको भनाइ छ । यसैबीच भु्रण हत्या न्यूनीकरणका लागि आइतवार मिडिया संवाद कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्वास्थ्यकर्मी उदय थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्य, शिक्षक मन्जु सुनार, पत्रकार महासंघका उपाध्यक्ष ललित बसेल, वडा नागरिक मञ्चका अध्यक्ष माधव भट्टराई लगायतले गर्भमा लिंग पहिचान गरी छोरी भ्रुणहत्या गर्दा छोरीको जन्मदर कम हुँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरे ।
साझा बिसौनी संवाददाता ।