‘केराको पातमा निगालाले लेखेर पढें’
बालकृष्ण बिसी जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति हुन् । वि.सं. २००६ जेठ २७ गते बुबा हरिशंकर बुढा र आमा इन्द्रकुमारी बुढाको कोखबाट सुर्खेतको खानीखोलामा जन्मिएका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । नेकपा एमालेको राष्ट्रिय परिषद्का सदस्य रहेका बिसीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
मेरो जन्म तत्कालीन खानीखोला गाविस (अहिलेको सिम्ता गाउँपालिका)मा भएको हो । हामी तीन भाइ र दुई बहिनी छौं । म घरको माइलो छोरा हुँ । म जन्मिने बेला गाउँमा अहिलेका जस्तो विद्यालयहरू थिएनन् । पढ्नका लागि बाहिर जाने वातावरण थिएन । गाउँ–गाउँमा स्वास्थ्य संस्था थिएनन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार गर्न पनि पाइदैन्थ्यो । बाटा थिएनन्, बजारहरू थिएनन्, गोरेटो र घोरेटो बाटो हिँड्नुपथ्र्यो । खाली खुट्टा हिँड्नुपथ्र्यो । हिँडेर हाट बजार जानुपथ्र्यो । त्यसबेलामा नेपालगन्ज जानुपथ्र्यो । नेपालगन्ज जान र आउन करिब २० दिन जति लाग्थ्यो । कपडा सिलाउने ठाउँ पाइदैन्थ्यो । चाडपर्वमा मात्र नयाँ कपडा लगाउने गथ्र्यौं । त्यतिबेलामा हामीले काठमाडौंलाई मात्र नेपाल भन्थ्यौं । संसारमा के भइरहेको छ केही थाहा हुँदैन्थ्यो ।
म १३ वर्षको पुगेपछि विद्यालय जान थालेको हुँ । त्यसभन्दा अघि विद्यालयहरू हुन्छन् भन्ने हामीले कल्पना पनि गरेका थिएनौं । गाउँघरमा खेती किसानी गर्ने भएको कारणले हामीले खेती किसानी नै गर्नुपर्छ भन्ने थाहा थियो । मेरो बुबाले गुरुकुल शिक्षा अध्ययन गर्नुभएको थियो । समान्य लेखपढ गर्न मैले घरमै सिकेको थिएँ । बुबाले नै हामीलाई अक्षर चिनाउनुभयो । १३ वर्षसम्म त हामीले घरकै काममा बितायौं । वि.सं. २०१८ सालमा गाउँमा विद्यालय स्थापना भयो । नेपाल राष्ट्रिय भगवती प्राइमेरी स्कुल स्थापना भएपछि म सिधैं कक्षा चारदेखि पढ्न सुरु गरें । त्यसबेलामा हामी चार जना मात्रै पढ्ने विद्यार्थी थियौं । गाउँघरमा पढ्नुपर्छ भन्ने भावना सबैमा आएको थिएन् । २ घण्टा जंगलको बाटो हिँडेर विद्यालय जानुपथ्र्यो । बीचमा खोला तर्नुपर्ने । कहिले काहीं बुबाआमा पु¥याउन जानुहुन्थ्यो । पछि म कुटीमा बसेर पढें । त्यसबेलामा मेरो गुरु चेतानन्द शर्मा हुनुहुन्थ्यो । कुटीमा मेरो आफन्तहरू पनि बस्नुहुन्थ्यो । मलाई पढ्न धेरै मन लाग्ने । बुबाआमाले पनि सहयोग गर्नुभयो ।
घरमा खेतीकिसानी गर्ने भएको कारण मेलापात जाने, गाइगोठालो जानुपथ्र्यो । मैले त्यहाँ कक्षा पाँचसम्म पढें । त्यसबेलामा अंग्रेजी विषय कक्षा ४ देखि पढ्नुपथ्र्यो । गणित र नेपाली विषयलाई धेरै नै महŒव दिने गरिन्थ्यो । गणित किताब भारतमा लेखेको पाइन्थ्यो । किताबहरू हिन्दी भाषामा नै हुने गर्थे । अंग्रेजी किताब त पाइदैन्थ्यो । पढाउने शिक्षक त झन् पाउनै मुश्किल हुन्थ्यो । त्यसबेलामा अहिलेको जस्तो कलमले लेख्न पाएनौं हामीले । केराको पातमा कटुसको पातको मसी बनाएर निगालाले लेख्थ्यौं । पछि खरी बनाएर पाटीमा लेख्थ्यौं । मैले महोत्तरीमा कक्षा ८ मा पढ्ने बेलामा मात्र कलमले लेखेको हुँ । त्यसबेलामा समय र अहिलेको समय धेरै फरक छ । अहिले त कम्प्युटरको जमाना आइसकेको छ ।
बाहिर पढाउन पठाउने वातावरण थिएन् । बाहिर जाने भएपछि की आफन्तको घर हुनुपथ्र्यो । मेरो फुपाजु लोकबहादुर खत्री महोत्तरीमा जागिरे हुनुहुन्थ्यो । म उहाँसँगै पढ्न महोत्तरी गएँ । गाउँमा कक्षा पाँच पास गरेको थिएँ । त्यहाँ गएर म एकै पटक आठ कक्षामा भर्ना भएर पढें । दुईवर्षपछि फुपाजुको सरुवा सल्यान भयो । मैले त्यहाँबाट कक्षा नौ पास गरेको थिएँ । म पनि उहाँसँगै सल्यान आएँ । म त्यहाँ पढ्न सकेन । १० बजे स्कुल जानुपर्ने । त्यहाँ पानीको धेरै समस्या । बिहान तीन बजे उठेर पानी लिन जानुपर्ने । १० बजे मात्र पानी लिएर आइन्थ्यो । त्यसकारण म घर आएँ । वि.सं. २०२२ देखि २०२४ सालसम्म नेपालभर विद्यालय स्थापना खोल्ने अभियानै चलेको थियो । २०२४ सालमा म सल्यानबाट घर आएको थिएँ । मेरो मामा घर वीरेन्द्रनगरमा कटकुवामा थियो । हालको जन मावि पहिले पब्लिक हाइस्कुल थियो । उक्त स्कुल वीरेन्द्रनगर सरिसकेपछि म कटकुवा मामाको घर बसेर पढ्न भनेर घरबाट आए । माथि कटकुवाबाट हिँडेर नै वीरेन्द्रनगर पढ्न आउँथे । साँझ उकालो हिँडेर जानु पथ्र्यो । मैले चौबीस सालमा जन माविबाट एसएलसी पास गरें । त्यसपछि मैले कृषि विषय नै लिएर पढें ।
म सानोमा धेरै नै मिलनसार, अनुशासित थिएँ । बुबाआमाको आज्ञाकारी थिएँ । उहाँहरूले भनेको सबै मान्थें । त्यसकारण पनि बुबाले मलाई पढाउन जोड गर्नुहुन्थ्यो । बुबाआमाले गर्नु भनेको काम सबै गर्थें । ढिक्की कुट्दा हातमा चोट लागेको दाग अझै पनि छ । बुबासँगै नेपालगन्जबाट नुन बोकेर पनि ल्याए । त्यतिबेला खाजा खानाको लागि होटलहरूको व्यवस्था थिएनन् । करिब २० दिन जतिलाई पुग्ने खाना घरबाट आफै बनाएर लैजानुपर्ने हुन्थ्यो ।
सानो छँदा साथीभाइहरूसँग रमाइलो पनि गरिन्थ्यो । कपडा मोजामा हालेर भकुण्डो गराएर खेलको सम्झना अझै पनि छ । एक पटक साथीहरूसँग गाइगोठमा झगडा परेर साथीले मेरो टाउँकोमा आसीले गहिरो गरी काट्यो । त्यसबेलामा गाउँमा स्वास्थ्य संस्था थिएनन् । बुबाले पहिले गाँजा घाउमा हाल्नुभयो सन्चो नभएपछि खशीको पित्त लगाइदिनुभयो । त्यहाँबाट सन्चो भएको अहिलेसम्म केही असर गरेको छैन । त्यसबेलाको पानी, हावा वरिपरिको वातवरण त्यति स्वच्छ थियो । धेरै वर्ष त भएको छैन तर पहिलेका त्यो समय सम्झदा अहिले धेरै नै परिवर्तन भएको छ । पहिले रुख, भिरबाट लडिन्छ कि ? भन्ने चिन्ता बुबाआमा हुन्थ्यो । अहिले छोराछोरीलाई सवारी दुर्घटनामा पर्छन्की कतै दुव्र्यसनीमा फस्छनकी भन्ने चिन्ता हुन्छ । छोराछोरीको भविष्य कस्तो गराउने बुबाआमाको हातमा हुन्छ । बालबालिकाको पहिलो पाठशाला भनेको घर हो । घरमा राम्रो संस्कार दिनुपर्छ ।
समाजको वातावरणले मान्छेलाई प्रभावपार्ने रहेछ । समाज जता गयो, मान्छे पनि त्यतै जाने रहेछ । पहिले सबैले खेती किसानी गर्थे । मलाई पनि कृषक नै बन्छु । कृषि क्षेत्रमा नै केही गर्छु जस्तो लाग्थ्यो । मैले पनि कृषि विषयमा नै बीएस्सी गरें । पछि मैले १४ वर्षसम्म कृषि विषयमा पढाएँ पनि । २०२६ सालदेखि भूमिगत भएर पार्टीको राजनीतिमा लागेको हुँ ।
वि.सं. २०५१ देखि २०५३ सम्म नेकपा एमाले सुर्खेतको सचिव भएर काम गरें । भेरी अञ्चल कमिटीको सदस्य भएर काम गरें । किसान संघको केन्द्रीय सदस्य भएँ । अहिले म पार्टीको राष्ट्रिय परिषद् सदस्य र प्रदेश सदस्य छु । वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सुर्खेतको जिल्ला सभापति थिएँ ।
साझा बिसौनी संवाददाता ।