कर्णाली राजमार्गमा निरन्तर पहिरो, चार दिनसम्म खुलेन सडक

सुर्खेत, १७ भदौ ।
कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । सुर्खेतदेखि जुम्ला जोड्ने यो राजमार्ग पहिरो खसेपछि अवरुद्ध भएको हो । पहिरो पन्छाउने प्रयास जारी रहेको भए पनि सडकमा ठूलो पहिरो खेसेका कारण चार दिनदेखि गाडी सञ्चालन हुने सकेका छैनन् ।


हरेक वर्ष वर्षातमा पहिरोले अवरुद्ध हुने यो राजमार्गमा पछिल्लो समय सुख्खा पहिरो खसेको छ । । साना ठूला गरी एक दर्जन बढी ठाउँमा पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन निकै सास्ती भएको हो । राजमार्ग अन्तर्गत गोगने खोलामा करिब एकसय मिटर लामो पहिरो खसेको छ । जसका कारण चार दिनदेखि सडक अवरुद्ध बनेको छ । सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख अंगलाल रोकायाका अनुसार निरन्तर सुख्खा पहिरो खसेका कारण समयमै पहिरो पन्छाउन कठिन भएको छ ।
गत सोमवारदेखि परेको पानीका कारण गोगने खोलामा डेढसय मिटर बढी क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको छ । यस्तै कालिकोट सदरमुकाम मान्मभन्दा केही किलोमिटर तलतिर सुनारखोलामा पनि यसवर्ष नयाँ पहिरो खसेको छ । सुनारखोलामा पानीका मुलहरू देखापरेका कारण दैनिक पहिरो खसिरहने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सदरमुकाम पुग्न १५ मिनेट बाँकी रहँदा पनि हिलाम्य पहिरोका कारण घण्टौंसम्म सुनारखोलामै सवारीसाधन जाममा पर्नेगरेका छन् । सुनारखोलामा पहिरो खस्ने बित्तिकै गाडी आवत–जावतमा सहज बनाउनका लागि एउटा स्कोभटर तयारी हालतमा राख्नुपर्ने सडक कार्यालय बताउँछ ।
हाल गोगने खोलाको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटरले काम गरिरहेका छन् । एउटा जुम्ला र अर्को सुर्खेतबाट पुगेका स्काभेटरले काम गरिरहे पनि निरन्तर सुख्खा पहिरो खस्ने गरेका कारण कठिनाइ भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार पहिरो ठूलो भएपछि छिटो पन्छाउनका लागि नेपालगन्जबाट अर्को थप स्काभेटर झिकाइएको छ । यस्तै एक महिना अघि कालिकोटमा पल्टिएको सडकको नयाँ स्काभेटर पनि एक हप्तापछिबाट पुनर्निर्माण गरी सञ्चालनमा आउने बताइएको छ । रोकायाका अनुसार पहिरो खस्ने रोकिएमा आइतवार साँझसम्म सडक सुचारु हुनेछ । तर पहिरो नरोकिएमा अझै केही दिन लाग्नसक्छ । अहिले यात्रुहरूले तीन घण्टाजति हिँडेर गाडी साटासाट गरी गन्तव्यमा पुग्न बाध्य छन् ।
सञ्चालनमा आएको एक दशक बढी हुँदा कर्णाली राजमार्गमा वर्षेनी नयाँ स्थानमा पहिरो जाने गरेको छ । वर्षेनी नयाँ ठाउँमा पहिरो जाने र सडक हप्तौंसम्म अवरुद्ध हुने गरेको छ । केही ठाउँमा पहिलेदेखि पहिरो खस्ने भए पनि पछिल्लो दुई वर्षयता नयाँ ठाउँमा पहिरो खस्न थालेको हो । यसअघि राजमार्गको दहीखोला, खिड्कीज्यूला र सेरीघाट क्षेत्रमा निरन्तर पहिरो जाने गरेको थियो । तर गत वर्षदेखि नयाँ नयाँ स्थानमा पहिरो जान थालेको हो । यसवर्षको वर्षात् कर्णाली राजमार्ग गतवर्षभन्दा निकै सास्तीपूर्ण भएको छ । ‘यसअघि गोगने खोलामा कुनै पहिरो थिएन,’ निमित्त प्रमुख रोकायाले भने, ‘तर वर्षात सुरु भएसँगै सबैभन्दा ठूलो पहिरो त्यही खोलामा नै आयो, यसवर्ष मात्रै गोगने खोलामा तीन पटक भन्दा बढी ठूलो पहिरो खसेको
छ ।’ यसवर्ष मात्रै एसमोड, गोगने खोला, सुनारखोला र कालेखोलामा नयाँ ठूला पहिरो गइरहेका छन् । दहीखोला, घट्टेखोला, राँचुलीमा यसुअघि नै पहिरो खस्ने भए पनि त्यसक्षेत्रमा त्यति ठूलो समस्या नभएको सवारी चालकहरूको बताउँछन् । गोगने खोलाको पहिरोभन्दा माथिको गाउँनै खस्ने सम्भावना देखिएपछि बस्ती विस्थापन हुँदैछ । पहिरो नरोकिएमा गाउँ नै अन्यत्र सर्ने मनस्थितिमा रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । दशैं मुखैमा आएको बेला यात्रुहरूको चाप बढ्ने कर्णाली राजमार्ग हप्तौं बन्द भएपछि यहाँका स्थानीय र व्यवसायी मर्कामा परेका छन् ।
चाडपर्वलाई लक्षित गरी बिक्रीका लागि ल्याइएका सामानहरू बाटोमै थन्किएका छन् । यसले आफूहरूको व्यवसायमा असर पुगेको व्यवसायीको गुनासो छ । यस्तै सडक अवरुद्ध समयमै नखुलेमा कालिकोट, मुगु र जुम्लामा महंगीसमेत बढ्ने सम्भावना देखिएको छ ।

प्रकाशित मितिः   १८ भाद्र २०७४, आईतवार १५:५९