जनताको भोक र जनप्रतिनिधिहरूको दायित्व

म कक्षा सातमा पढ्दै गर्दा एकहुल मानिस विद्यालयमा आए । पहिलो पटक देखिएका ती मानिसहरूले हेडसरलाई के–के भने कुन्नी थाहा भएन तर केही समयपछि हामीलाई विद्यालयको फिल्डमा जम्मा पारियो, थाहा भयो उनीहरू नेकपा माओवादीका कार्यकर्ता रहेछन् । फिल्डमा भाषण भयो भाषणमा अरु के–के भनियो त्यो थाहा भएन तर पहिलो दिन दिमागले टिपेको एउटा कुरा याद छ । ‘संसदीय व्यवस्थाको संसद र सरकार एउटा मासु पसल हो जहाँ खसीको टाउँको देखाएर कुकुरको मासु बेचिन्छ ।’


मैले यो कुरा त्यसपछिका द्वन्द्वकालको समयमा धेरै सुनें । उनीहरू तत्कालीन शान्ति प्रक्रियमामा आउँदा पनि त्यही भन्दै थिए । समय फेरिएको छ । परिस्थिति फेरिएको छ । देशमा राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रहरू फेरिएका छन् । त्यति मात्र होइन हिजो चुम्बकका उत्तर–दक्षिण जस्ता दुई धु्रवहरू कांग्रेस र माओवादीको राजनैतिक रसायन नै फेरिएको छ । कुन आणविक भट्टिमा तताएर यिनको चुम्बकीय राजनीतिक गुण फेरियो थाहा छैन । तर एउटा हिजोको घटनालाई झल्को दिने संसदीय चुनाव जस्तै स्थानीय निकायको दुई चरणको निर्वाचन भएको छ । सिंहदरवारको अधिकार गाउँ–गाउँमा आएको भनिन्छ तर, त्यो सँगै निर्वाचनका विकृति पनि आएका छन् । जसलाई स्थानीय जनप्रतिनिधहरूले अझ बढाउने काम गरेको देखिन्छ । यानिकी भाइ फुटाइ र राज गर भन्ने उक्तिका साथ स्थानीय जनप्रतिनिधिहरू ‘छोटे राजा’ बन्ने ध्याउन्नमा देखिन्छन् । अर्कोतर्फ जनतामा दुई कुराको वृद्धि भएको देखिन्छ ।
(१) समृद्धिको भोक
(२) अहमताको भावना
यी दुवै कुरा तेस्रो चरणको चुनाव र स्थानीय सरकार, प्रदेश र संघको चुनावमा कति माथि आउँछन् हेर्न बाँकी नै छ । तर यी दुई कुरा अझै बढेमा हामीलाई चाहिएको समतामूलक र न्याय पूर्ण समाज बन्ने आधार ध्वस्त हुनेछ ।
समाजमा समृद्धिको भोकसँगै अहमता पनि पढेको देखिन्छ । समाजमा चुनिएका जनप्रतिनिधिहरूको कार्य र कुशलताको बारे पार्टीगत टिकाटिप्पणी हुने गरेको देखिन्छ । जसले समाजमा राजनैतिक र वैचारिक खाडल बढाएको देखिन्छ । जसले उनीहरूलाई जिताए उनीहरू सम्झदै छन् कि अब उनीहरूले देवदुतलाई नै चुनेका छन् जसले उनीहरूको बर्षौंको तिर्खा मेटिदिनेछ । अर्काे पक्ष जसले उनीहरूलाई भोट हालेनन् उनीहरू, उसको हरेक पक्षलाई नकारात्मक टिप्पणी गर्दै बसेका छन् । जनप्रतिनिधि पनि के कम उनीहरू आफ्नो भोट बैंक सुरक्षित गर्ने प्रयासमा लागिरहेका देखिन्छ । उनीहरू सबैको प्रतिनिधि बन्नपर्ने ठाउँमा समाजका व्यक्तिबीचको सम्बन्धमा खाडल ल्याउने काम गरिरहेका देखिन्छ । अर्काे पार्टीको मानिस मर्दा मलामी नगएको मलाई भोट नदिनेलाई विकास दिन्न भनेको र भनेको मात्र हैन कुनै पार्टीको वाहुल्यता भएको बस्तीमा विकासका योजना नपरेको भन्ने गुनासो र समाचारहरू आइरहेका छन् । त्यतिमात्र हैन, आफ्नो चुनाव खर्चको जोहो गर्न विभिन्न तरिकामा कमिसनको खेल भइरहेको छ, विलासिताका वस्तुहरू किन्नका लागि खर्च निकासा गरेर दुरूपयोग भएको तथ्यहरू हामीसँग छन् ।
अर्कोतर्फ जनता पनि के–कम ? उनीहरूको समृद्धिको भोक प्रत्येक बिहानको चियासँगै चिया पसलमा सुरु हुन्छ । चिया पीउने र गफ गर्ने पनि एकै राजनैतिक विचारका व्यक्तिहरू देखिन्छन्, त्यसो गर्दा प्रत्येक चिया पसलमा प्रतिनिधि नेताका पक्ष विपक्षमा गरेका कुराहरू बढी देखिन्छन्, गफ गलत प्रक्रियाबाटै सुरु हुन्छ र गलत धाराणा मै सकिन्छ । त्यहाँ, हिजो भोट हाल्नेदेखि लिएर आफ्नो विकासका भोकहरू व्यक्त गरेको देखिन्छ । विकासको नाममा जनताको भोक यतिसम्म बढेको छ कि, निर्वाचित जनप्रतिनिधिले सबै कुरा पु¥याइदियोस् । पानीको धारादेखि धाराको पानी भान्सा कोठामा पु¥याउने पाइप, घर गोठ सुधार्ने, चर्पी बनाउन, कुल देवताको मन्दिर बनाउन र घरमा साइकलको व्यवस्था गर्ने विषयसम्म पनि जनताका भोकका विषय बनेका छन् । यसलाई जनताको नराम्रो पक्ष पनि नभनौं किनकी आश्वासनको पुलिन्दा बोकेर जनताबाट भोट मागेका नेताबाट केही आशा हुनेनै भयो तर समाजका जनप्रतिनिधिहरू कहाँ कसरी पुग्ने भन्ने जानकारी लिनु आवश्यक छ । यहाँ भन्न खोजिएको कुरा जनप्रतिनिधिहरू गलत भन्न खोजेको होइन, हो त केवल एउटा विकासको सही मार्गमा हिँड्न खोजेको नेता वा प्रतिनिधिको आवश्यकता छ ।
हिजोका मनोविज्ञानलाई भड्काउने खालको क्रियाकलाप बन्द गर्नुपर्ने आवश्यकता छ । नयाँ तरिकाले सबैको हितमा कार्य गर्नु जनप्रतिनिधिको दायित्व हो । सबैको साझा बन्नुपर्ने, सबैलाई समान आँखाले हेर्नुपर्ने अहिलेको आवश्यकता हो, आफूले जितेको भन्दा धेरै मत बाहिर छ भन्ने कुरा जनप्रतिनिधिले बुझ्नुपर्ने हो । तर विडम्बना सुरुवात राम्रो देखिएको छैन, कसरी हुन्छ सामाजिक संरचनामा प्रभाव जनाउने र हुँदा नहुँदाको क्रियाकलाप गर्ने जोशमा जनप्रतिनिधि देखिन्छन् । आफूले जितेको कुरा अर्को चुनावमा मतदाता थप्नको लागि हो भन्ने सोच एकदम दमदार रूपमा उठाउन खोजेको देखिन्छ । यसले कसैलाई पनि फाइदा गर्ने छैन । भन्नेले यसलाई लोकतन्त्र भन्लान् मलाइ त यो समाजको मनोविज्ञान विगार्ने एक अवसरको रूपमा रहनेछ । समाज सपार्ने अवस्था नआएमा हिजो माओवादीले भनेको ‘भाइ फुटाउ र राज गर’ भन्ने तरिकाले समर्थन गरेको देखिन्छ । सोचलाई संकिणतामा राखेर हिँडेमा न त जनताको भोक मेटिनेछ न त समाजले नयाँ निकास पाउनेछ । दुई चार विकास होलान्, नेता वा कर्मचारीका वा निर्वाचित प्रतिनिधिहरूका चम्चाले मस्ती लट्लान् तर समाजलाई पछाडि धकल्ने छ । विकास हुनका लागि, मानसिक, सामाजिक संवेगात्मक पक्षको सन्तुलन आवश्यक छ न कि भौतिक पक्षको मात्र । त्यसैले समाजलाई सही नियतमा बदल्न नसकेमा कोही पनि जनप्रतिनिधिले जनताको वास्तविक भोक मेट्न सक्ने छैनन् । हामी जनताहरू पनि निकै पाखण्डीपनमा छौं, त्यस्ता जनप्रतिनिधिले पूरा गर्ने भोक के हो र कसरी पूरा गर्न सकिन्छ त्यो हामीले बुझनुपर्ने छ । सबै प्रतिनिधिहरूलाई अन्तरमनबाट चिन्ने मौका दिनुपर्ने छ । अन्तरमनबाट चिन्नु आवश्यक छ तब मात्र समृद्धिको भोक मेट्ने ठाउँ स्थानीय ठाउँमा भेटिन्छ कि ?

प्रकाशित मितिः   १८ भाद्र २०७४, आईतवार १५:४४