प्रदेश ६ मा ४० सदस्यीय सभा

सुर्खेत, १६ भदौ ।
निर्वाचन क्षेत्र निर्धारण भएसँगै अब बन्ने प्रदेशसभाको आकार टुङ्गो लागेको छ । क्षेत्र निर्धारण आयोगको प्रतिवेदनले प्रत्येक प्रदेशसभामा प्रत्यक्षतर्फको क्षेत्र निर्धारण गरिसकेकाले त्यस आधारमा त्यहाँ समानुपातिक सीटबाट कति चयन हुन्छन् भन्ने करिब निश्चित भएको हो ।
भूगोलका हिसाबले सबैभन्दा ठूलो भएर पनि प्रदेश नम्बर ६ को प्रदेशसभा भने सबैभन्दा सानो बन्ने भएको छ । सबैभन्दा कम निर्वाचन क्षेत्र निर्धारण गरिएका कारण यो प्रदेशको सभा पनि सानो आकारको बन्ने भएको हो । १० वटा जिल्ला रहेको प्रदेश ६ मा प्रत्यक्षतर्फ २४ क्षेत्र निर्धारण भएका छन् । यस आधारमा समानुपातिकतर्फ १६ सीट हुने भएकाले ४० सदस्यीय सभा हुनेछ । यो देशका सात वटा प्रदेशहरूमध्येको सबैभन्दा सानो आकारको सभा हुनेछ ।


समानुपातिकतर्फ कुन प्रदेशका कति सिट हुन्छन् भन्ने क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा छैन र निर्वाचन आयोगले पनि भनिसकेको छैन । तर प्रत्यक्षतर्फको सीट निर्धारण भएकाले त्यस आधारमा समानुपातिक सीट प्रत्येक प्रदेशमा कति–कति पर्छ भन्ने हिसाब निकाल्न सकिन्छ ।
प्रतिनिधिसभाका लागि एक सीट बराबर प्रदेशसभामा दोब्बर सीट हुने व्यवस्था छ । संविधानमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने प्रावधान छ । यो प्रावधान अनुसार तीन सय ३० प्रत्यक्ष र दुई सय २० समानुपातिक गरी सातवटै प्रदेशसभामा पाँच सय ५० सांसद चयन हुन्छन् ।
आयोगले छुट्याएको प्रत्येक प्रदेशको प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रको संख्याका आधारमा तथ्यांक विश्लेषण गर्दा सबभन्दा ठूलो एक सय १० सदस्यीय सभा प्रदेश ३ मा बन्ने देखिन्छ । प्रदेश ३ मा प्रत्यक्षतर्फ ६६ सीट निर्धारण भएकाले समानुपातिकतर्फ ४४ सीट हुनेछ । दोस्रो ठूलो सभा प्रदेश २ मा बन्नेछ । यहाँ एक सय सात सदस्यीय प्रदेशसभा हुने अवस्था छ । प्रत्यक्षतर्फ ६४ सीट भएको यो प्रदेशमा समानुपातिकमा ४३ सीट हुने देखिन्छ । दोस्रो सानो सभाका रूपमा प्रदेश ७ रहनेछ । यो प्रदेशमा प्रत्यक्षतर्फ ३२ क्षेत्र निर्धारण भएकाले समानुपातिकमा २१ सीट गरी ५३ सदस्यीय सभा बन्नेछ ।
प्रदेश १ मा ९३ सदस्यीय सभा हुनसक्छ । प्रत्यक्षतर्फ ५६ सीट निर्धारण भएकाले यो प्रदेशमा समानुपातिकतर्फ ३७ सीट हुनेछ । प्रदेश ४ मा ६० सदस्यीय प्रदेशसभा हुनेछ । प्रत्यक्षतर्फ ३६ सीट रहेकाले समानुपातिकतर्फ २४ सीट निर्धारण हुनेछ । संविधानको धारा एक सय ७५ मा प्रत्यक्षतर्फबाट चयन हुने संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य निर्वाचित गर्नुपर्ने उल्लेख छ । त्यही आधारमा हाल प्रत्येक प्रदेशमा निर्धारित प्रत्यक्षतर्फको सीट संख्यालाई ६० प्रतिशत मानेर बाँकी ४० प्रतिशतका लागि समानुपातिकतर्फ हिसाब निकाल्दा प्रत्येक प्रदेशसभाको आकार पहिचान भएको हो ।
समानुपातिकतर्फको सीट विभाजनका लागि अझै वैज्ञानिक बनाउन ‘सेन्ट लग’ लगायतका गणितीय सूत्रहरू पनि प्रयोग हुन्छ । कुन प्रदेशमा कति सीट पर्छ भन्ने यो सूत्रबाट पनि निकाल्न सकिन्छ । साधारण सूत्रमा दशमलवपछि आउने अंक ५ भन्दा कम छ भने तल्लो अंकलाई नै मान्ने र दशमलवभन्दा पछि ५ भन्दा बढी अंक छ भने त्यसलाई माथिल्लो अंक मान्ने सूत्रबाट गणना गर्दा प्रत्येक प्रदेशका लागि पर्ने समानुपातिक सीटको संख्या निस्कन्छ ।
प्रदेशसभामा समानुपातिकबाट चयन हुने सांसदहरू पनि प्रतिनिधिसभामा जस्तै जनसंख्याका आधारमा छट्याइएका समूहबाट चयन हुनेछ । त्यसका लागि प्रदेशमा उम्मेदवारी दिँदा जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी मिलाएर बन्दसूची पेस गर्नुपर्नेछ ।
केन्द्रीय संसदको प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय हुन्छ । त्यसमा प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकबाट एक सय १० जना चयन हुनेछन् । मुलुकभर आएको कूल मतका आधारमा समानुपातिकतर्फको एक सय १० सीटमा विभाजन गरिनेछ ।

प्रकाशित मितिः   १७ भाद्र २०७४, शनिबार १०:०९