देउडा गीतको काया
गुनगुनाउन, दोहोरी, बसी–बसी वा उठी, पूर्ण घेरा वा अर्धघेरामा साथी संगतीका हात र साथ भेलामा वा मेलामा वा वनपाखा–कुनाकन्दरामा सर्वसाधारण वा विशिष्ट व्यक्ति समेतलाई स्वतन्त्र रूपमा देउडाकला र गलाले समर्थन वा विरोध, सूचना वा सन्देश दिन आधुनिक वा ठेट शब्दहरू रचेर गीतलाई देउडा लोक भाकामा गाउने कला नै देउडा गीत हुन् । बढीमा १६ अक्षर जुन संग्लो हुन्छन् । देउडा गितीगाथालाई नेपालका हकमा सबैभन्दा पूरानो गीतका रूपमा स्वीकार गरिन्छ । देवी देउताका प्रसंशा गर्नसमेत यो लोक संस्कृति प्रयोग गरेको इतिहास छ । नयाँ जमाना भनेर पुरानो संस्कृति नबुझ्ने अनि देउडाका अनेक अर्थ लगाइ हेला गर्ने पक्षलाई नेपाली भाषामा ठेट शब्दको ज्ञान लिन सुझाव प्रस्तुत गर्न सकिन्छ । नबुझ्नेले बुझ्ने प्रयास र प्रयत्न गर्दा राम्रो हुन्छ । देउडा आफैमा बांगो अर्थात् घुमाउरो पारामा हुने हुँदा कसैकसैको जीवनशैलीमा मेल खान जाने हुँदा त्यो मेल वा बेमेल एउटा संयोग मात्र हो । तर्सिनु र झस्किनु पर्दैन ।
माया मेरी मान्नामी जेल्ली, कायाले चोखै छु ।
एक भन्ना दुई भान्सा बस्या, अझै म भोकै छु ।।
नयाँ जमानाको सामाजिक सञ्जाल (फेसबुक) मा उपस्थिति हुँदा दुईलाईन देउडा पस्किने मन लाग्यो र गयो । मेरा गुरु केसर सिं माझीले सवाल फर्कानु भयो ।
खरोः मेरी त सञ्जालै थिन, बल्ल दर्शन पायाँ ।
त्यै रणकी सेटकँ लिन, पाणेगाली खायाँ ।।
माझीः राँडको सेटकी छोट्टी, पोइल जान्या भै’र ।
क्याअरी खोजाखोज पड्यो कतातिर गै’र ।।
खरोः मेरी त घरीना धेरै, मोबाइलकी सेट ।
अड्डा छोड्या बड्डा हाकिम, फेसतिर देख ।।
माझीः कोइँकोइँले जागिर छोड्या, कोइले पत्रकारी ।
ट्यामपास त अर्नै त पडो, लटरपटर अरी ।।
खरोः युद्धकी मैदानबीच कलम चलाउँनै छु ।
यै देशकी माया लागि, दियो बलाउँनै छु ।।
देउडा गीतकारको मनोभाव दोस्रो पक्षले नबुझ्ने अवस्थामा गीतबाटै बुझाउँनु पर्ने हुन्छ । देउडा गीतबाट गाली आएमा पनि तालिले स्वागत गरी पुनः गीतबाटै गाली फिर्ता गरी तालि कमाउन देउडा गीतको प्रमुख विशेषता हो । देउडा गीतको विकल्प पनि देउडा गीत नै हुन् । देउडाको गुरु बन्ने सवाल सामान्य होइन । देउडा कला र गला भएको पुरानो व्यक्तित्व नै देउडाका गुरु हुन् । जीवन भोगाइको उकाली ओरालीमा थुप्रै अनुभव संम्हालेका महिला पुरुष दुवै जात यसका गुरु हुन सक्छन् । नेपाली ठेट शब्दको भकारी नै हो देउडा गीतहरू । यस्ता गीतहरू स्वयम् आफैमा घुमाउरो, बांग्रो र सरल स्वभावका हुन्छन् । राजनीतिक, माया पीरती, आर्थिक घोटालासमेतमा असाध्यै मार्मिक र चोटाला शब्दबाटै प्रहार गर्ने कला र गला नै हाम्रो देउडा संस्कृति हो । समाजमा व्याप्त रहेको विकृति र विसंगतीमा तिखो प्रहार गर्ने क्षमता राख्ने र मै हुँ भन्नेको घमण्डसमेत खसाल्ने कला नै देउडा गीतको मूल सन्देश हुँदा पीडक पक्षलाई नराम्रो लाग्नु र मानुलाई पनि स्वभाविकै लिन सकिन्छ ।
कलम भन्दा हात हतियारमा विश्वास गर्ने र शक्ति प्रदर्शन गरिरहेका शक्तिशाली मुलुकहरू अमेरिका, चीन, भारत, बेलायत र रुससमेतको यो आणविक शक्ति प्रदर्शनलाई लक्षित गरेर शक्तिको घमण्डलाई ठेगान लगाउन हतियार भन्दा कलम नै ठूलो हुन्छ भन्ने सन्देश दिइएको छ ।
निगालो काटीकँ ल्याया, टुप्पा बानी ध्वजा ।
अल्का लेक मालिकामा, लिउँला हामी मजा ।।
सुन लैगै घरखेत लैगै, गै अर्को पोइल ।
आफू त बाबुको छोरा, म जान्या नाइँ जोइल ।।
भीरपाखा कन्दरामा, देउडागीत गाया ।
निकी चोखी काया साची, लालअ जोडी पाया ।।
सुदूर–पश्चिमतिर यइभाका भकारी ।
देउडा आफै बांगो हुनो, नबोल्या हकारी ।।
क्या मिठो रोपाइँका रोटा, झन् मिठो तरकारी ।
आउन्या रोपाइँ मनथियि, मान्छे त सरकारी ।।
दाम निको सरकारी, खाना निको रोपाइँ ।
निर्दोषलाई यै देशमा, दिन्छौ किन टोकाइ ।।
नेपालै निल्दिन खोज्दो, उता हवा दवाउनो ।
सुनाथाली लुटीलिन, काँइकतै सघाउनो ।।
लागिगै असार मैना, सम्झ सम्झ बैना ।
खेतका डिलमा बसी, देखौं आम्नी ऐना ।।
मेरी त टुप्पी नै ठाडी, देउडा गीत गाउँना ।
कन्दनी र जनै छिपी, आङ लुगा लाउँना ।।
कूल देउता ल्याउन्या कै ले, साताला विनायिकी ।
सातालाकी पैठ छँदा, सबैकँ चिनाइकी ।।
सोझो होस् वा बांगो, आङ लुगा लगाएको होस् वा नांगो, धनी होस् वा गरीब, कलम होस् वा हतियार, झगडिया होस् वा मतियार, अनुभवी होस् वा लेख्या पढेको जो जे भए पनि साहित्यका सबै रसमा रसाउँनै पर्छ । अन्य साहित्य मध्ये लोक साहित्य देउडाकी माया भन्ना पनि काया चोखी निकी हुन्छे ।
नौ दर्नी बिसौली मान्नो, देउडाकी माया ।
सप्पैले सम्मान अरौं, कठ हाम्री काया ।।
साझा बिसौनी संवाददाता ।