प्रचण्ड गर्मीमा छमछमी

सुर्खेत, ८ भदौ ।
हिन्दु महिलाहरूको महान् पर्व हरितालिकाको तीज सुर्खेतसहित देशभर मनाइएको छ । बिहीवार गाउँ तथा सहर जताततै तीजको रौनक थियो । चर्को गर्मीको प्रवाह नगरी महिलाहरूले तीजका भाकामा नाचेर यो पर्व मनाएका छन् ।


तीजकै अवसरमा हरेक वर्ष जस्तै यसवर्ष पनि बागीना समूह सुर्खेतले वीरेन्द्रनगरको खुला मञ्चमा तीज मेला आयोजना गरेको थियो । उक्त मेलामा सहभागी महिलाहरू आ–आफ्नो समूह बनाएर तीजका भाकामा कम्मर मर्काउँदै नाचेका थिए । जिल्ला समन्वय समिति सुर्खेतका उपाध्यक्ष देवी भट्टराई र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल पनि समूह–समूहमा पुगेर अन्य महिलाहरूसँगै नाचेर उनीहरूलाई हौसला प्रदान गरेका थिए । समूहमा नृत्य प्रस्तुत गर्नेहरूलाई मूल्यांकन गरी पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित मितिः   ९ भाद्र २०७४, शुक्रबार १५:१५