‘फेरि आयो तीज, फर्किएन हाम्रो खुशी’

सुर्खेत, ८ भदौ । हरेक वर्षजस्तै यस वर्ष पनि तीज आयो । तर धनसरी कामीको मनमा भने रौनक पटक्कै छैन । बरु साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । ‘बस्नलाई गतिलो बासछैन, खानलाई गास छैन’ अघिल्लो वर्षजस्तै यस वर्ष पनि उनले दुखेसो पोखिन, ‘फेरि आयो तीज र फर्किएन हाम्रो खुशी ।’

गत वर्ष तीजकै अघिल्लो दिन वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा रहेको बाढीपीडितको अस्थायी शिविरमा भेट्दा धनसरीको मुहारमा जुन वेदना र निराशा थियो एक वर्ष बित्दा पनि त्यसमा कमी आएको छैन । बुधवार त्रिपालले बारेको उनकै झुप्रोछेउ भेटिएकी उनलाई तीजको रौनकले पटक्कै छोएको थिएन । ‘अहिलेसहित चार वर्ष भयो तीज मनाउन नपाएको’ उनले भनिन्, ‘हाम्रा लागि तीज आउनु र नआउनु उस्तै भएको छ बाबु ।’

तीन वर्षअघि ईत्राम खोलामा बाढी आयो । धनसरीको घर बगायो । घरसँग आफ्नो खुशी र रहर पनि ईत्रामले बगायो भन्छिन् उनी । ‘त्यहीबेलै खोसिएछ हाम्रो त खुशी’ उनले भनिन्, ‘फर्की–फर्की तीज आउँछ तर हाम्रो खुशी आजसम्म फर्केर आएन ।’ २०७१ को साउनमा आएको बाढीले उठीबास लगाएपछि अस्थायी शिविरमा बस्दै आएका छन् धनसरी जस्तै ‘खुशी खोसिएका’ बाढीपीडितहरू । जसलाई विगत तीन चार वर्षदेखि कुनै चाडपर्वले खुशी दिन सकेको छैन ।

यतिबेला जताततै तीजको रौनक छ । दर खाने, खुवाउने र नाचगानमा व्यस्त छन् अन्य महिलाहरू । तर आफन्तलाई बोलाएर दर खुवाउने त परको कुरा आफ्नै पेट कसरी भर्ने भन्ने चिन्ताले पिरोलिएका छन् बाढीले खुशी खोसिएका महिलाहरू । रंगीविरंगी कपडामा सजिएका महिलाहरू आँगन छेउबाट ओहोर–दोहोर गरेको देख्दा धनसरीको मुटुमा गाठो पर्छ । आँखामा बादल मडारिन्छ र छिनमै वर्षिन्छ । धनसरीका लागि मात्र होइन धनसरी जस्तै बाढीपीडित महिलाहरूका लागि आँशु बनेर आयो यस वर्ष पनि तीज । सरकारले पुनर्वासमा ढिलाइ गरेपछि दुई वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका महिलाहरूमा तीजको कुनै उमंग छैन ।

बुधवार वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रस्थित अस्थायी शिविरमा पुग्दा धनसरी जस्तै वेदनामिश्रीत अनुहारमा भेटिइन् बसन्ती विक । उनलाई पनि रहर नभएको होइन, नयाँ लुगा लगाउन । मिठो खान । घरभरी आफन्त राखेर दर खुवाउन र नयाँ लुगामा कम्मर मर्काउँदै नाच्न । तर ईत्राम खोलाले खोसेको खुशी अहिलेसम्म फर्किन नसकेको बताउँछिन् उनी । ‘झुपडी नै भए पनि आफ्नै घरमा आफन्त बोलाएर दर खुवाउन र रमाइलो गर्ने त मन छ नि हामीलाई पनि’ उनले रहर खोलिन्, ‘तर रहर भएर मात्रै के गर्नु हाम्रो रहर त सपनामै सीमित छन्, खोलाले बगाएको खुशी अहिलेसम्म फर्किन सकेको छैन ।’

अस्थायी शिविरमा बस्दै आएका यहाँका बाढीपीडितहरूका लागि हरेक वर्ष पीडा बनेर आउने गरेको छ तीज । जताततै तीजको रौनक छाएको बेला यहाँका बाढीपीडितहरूका घरपरिवार समेत एक ठाउँमा छैनन् । कमाउनका लागि पुरुषहरू प्रायः सबै भारततिर गएका छन् । शिविरमा प्रायः महिलाहरू मात्रै छन् । उनीहरू दिनभरी मजदुरी गरेरै जीविकोपार्जन गर्दै आएका छन् । छोरीचेलीलाई तीजको बेला घरमा बोलाएर दर खुवाउन समेत नपाएको पीडा पोख्छन् उनीहरू ।

लामो समय बितिसक्दा पनि बाढीपीडितहरूको पूर्ण रूपमा पुनस्र्थापना हुन नसक्दा उनीहरूको जीवन सकसपूर्ण बनेको छ । शिविरको बासमा साँझ बिहानको छाक टार्नै मुस्किल परेको बेला तीजले आफूहरूलाई रुवाएको बताउँछन् पीडित महिलाहरू । सरकारको गैरजिम्मेवारीपनकै कारण आफूहरूले थप पीडा भोग्नुपरेको भन्दै बाढीपीडितहरूले दिनुपर्ने जति सबै राहत रकम एकमुष्ट दिएर त्रिपाल जिन्दगीबाट मुक्त गरिदिन सरकारसँग माग गरेका छ ।