‘दुःखले संघर्ष गर्न सिकायो’

सोमना खड्का नेपाल राष्ट्रिय आधारभूत विद्यालय चिसापानी सुर्खेतकी शिक्षक हुन् । उनी वि.सं. २०४७ वैशाख १५ गते बुबा बेदबहादुर खड्का र आमा कली खड्काको कोखबाट दैलेखमा जन्मिइन् । रेष्ट संस्थाको उपाध्यक्ष र सुर्खेत नेत्रहीन संघकी सचिवसमेत रहेकी खड्काले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहर्मी मुना हमालसँग यसरी साटेकी छिन्ः

मेरो जन्म दैलेखको तत्तकालीन कट्टी गाविसमा भएको हो । म बाल्यकालमा जहिले जान्ने बुझ्ने भएँ त्यस बेलामा मैले यो संसार देख्न पाइन । म जन्मेको २ वर्ष पुगेपछि मेरो आँखा पाक्यो रे । घरमै औषधि गर्नुभएछ । घरमै गरेको औषधिले काम नगरेपछि म दृष्टिविहीन भएको भनेर आमाले भन्नुहुन्थ्यो । बुबा हुलाकमा काम गर्नुहुन्थ्यो । म दृष्टिविहीन भएपछि बुबाले अर्को विवाह गरेर जानुभएको मलाई याद छ । म भन्दा अघि दिदी हुनुहुन्थ्यो । दाई जन्मिएको ६ महिनामा बित्नुभएको रे । त्यसपछि म जन्मिएँ । अनि बहिनी । हजुरआमा घाँस काट्दा लडेर हिँड्डुल गर्न सक्नु हुन्थेन । आमाले हाम्रो हेरचाहको लागि धेरै दुःख गर्नु हुन्थ्यो । त्यसबेला आमाले मलाई उपचारको लागि काठमाडौंसम्म पु¥याउनुभयो ।
गाउँघरमा भिरपाखा हुने । मेरो लागि एक जना सहयोगी नभएसम्म म कही जान सक्दैन्थें । त्यो गाउँमा मलाई केहीले माया पनि र केहीले अपमान पनि गरे । मलाई विद्यालय जान धेरै रहर लाग्थ्यो । म बाटो छाम्दै–छाम्दै विद्यालय जान्थें । मलाई किताब दिँदैनथे । दिएर पनि के काम म हेर्न सक्दैन्थे । किताब नपाएको रिसमा अरुको किताब च्यातिदिन्थें । पछि शिक्षकहरूले पनि किताब दिन थाल्नुभयो । मैले त्यो किताब समात्ने मात्र काम हुन्थ्यो । साथीभाइहरूले ‘क’, ‘ख’ भनेर पढेको सुनेर नै मैले ‘क’, ‘ख’ जानेको थिए । म कतै लडिहाल्छुकी भनेर आमाले मलाई बाहिर कतै नगइदिएको भए हुन्थ्यो भन्नुहुन्थ्यो । हुन पनि म लडेर टाउकोमा अनुहारमा चोट लागेको हुन्थ्यो । बालापनमा त झन् जे नगर भन्यो त्यही गर्न मन लाग्ने रहेछ । जहाँ नजाउँ भन्यो त्यही जान मन लाग्ने हुने रहेछ । गाउँमा जात्रा मेला लाग्थ्यो । सबै जना जात्रा हेर्न जान्थे । मलाई पनि जान मन लाग्थ्यो । म कहिले एक्लै जान्थें भने कोही साथीहरूले लिएर पनि जान्थे । कोही साथीहरू आँखा देख्न सक्दैन भनेर बाटोमा ढुंगा राखिदिन्थे । सिस्नोको घारीतिर बाटो देखाइदिन्थे । साथीहरू गाइगोठालो जाँदा मलाई पनि जान मन लाग्थ्यो तर म गएर के नै गर्नसक्थे र । तर पनि साथीहरूले मलाई गाइगोठालो लिएर जान्थे । वनभोज खान साथीहरू मिलेर जान्थ्यो । त्यही चामल घरमा पकाएर खायो भने मिठो लाग्दैनथ्यो तर साथीहरूसँग चामल खोलाको किनारामा पकाएर खायो भने मिठो लाग्थ्यो ।
म ६ वर्षको उमेरसम्म मात्र त्यो गाउँ र आमासँग बिताएँ । सुर्खेतको रामघाटमा दृष्टिविहीनको लागि ब्रेललीपिबाट पढाइ हुने स्कुल छ भनेर हाम्रो गाउँमा खबर गयो । कहिले पनि विद्यालय लैजान अघि नसर्ने मेरो आमा मलाई रामघाट पठाउन राजी हुनुभयो । त्यसबेलामा मलाई पु¥याउन बुबा आउनुभयो । तीन दिनको बाटो हिडेर रामघाट आयौं । टेकबहादुर वली शिक्षक हुनुहुन्थ्यो । उहाँले नै गाउँमा खबर पठाउनुभएको थियो । बुबाले मलाई होस्टेलमा ल्याएर मात्र छोडिदिनु भयो । म रामघाटमा ६ महिनासम्म पढें । गाउँमा साथीहरूले पढेको सुनेर क, ख कण्ठ गरेको थिएँ । रामघाटमा सुरुमा ब्रेललिपिबाट पढ्न समस्या भयो । पछि विस्तारै जाने । ६ महिना मात्र मैले त्यहाँ पढ्न पाए । होस्टेल बन्द भएपछि म फेरि घर फर्किए । एक कक्षादेखि ३ सम्म गाउँमै पढें । ती दिन धेरै कष्टकर थिए । भोक लाग्दा खाजा खाने पैसा हुन्थेन । तर पनि ती दिनले संघर्ष गर्न भने सिकायो । चार कक्षा पढ्न फेरि म रामघाट गएँ । टेकबहादुर वली सरको घरमा बसेर पढें । पाँच कक्षासम्म मात्र त्यहाँ पढाइ हुन्थ्यो । त्यसपछि बाहिर पढ्न जानुपर्ने । सहयोगी संस्थाहरू खोजेर र म नेपालगन्ज पढ्न गएँ । मलाई त्यहाँ एफएनसी भन्ने संस्थाले सहयोग गरेको थियो ।
मलाई त्यहाँ पु¥याउन बुबा जानुभएको थियो । मंगलप्रसाद माविमा पढ्न भनेर गएँ । सुरुमा त त्यहाँ भर्ना गरिदिन विद्यालय राजी भएन । ६ कक्षामा पढ्न विद्यार्थी मलाई विद्यालयले कक्षा तीनमा भर्ना गरिदिन्छु भन्यो । मैले मानिन । त्यस पछि म जिल्ला शिक्षा कार्यालयमा गएँ । मलाई कि पढ्ने वातावरण मिलाइदिनु होइन भने म यही आत्महत्या गर्छु भनें । पछि जिल्ला शिक्षा कार्यालयको निर्देशनमा विद्यालयले भर्ना लियो र मैले कक्षा ६ देखि मंगलप्रसाद माविमा पढें । त्यहाँ दृष्टिविहीनहरूको लागि होस्टेल थियो । म त्यही बसेर पढें । तर होस्टेलमा बस्न धेरै गाह्रो थियो । अझ बालिकाहरूलाई धेरै समस्या थिए । म एक वर्ष मात्र होस्टेलमा बसेर पढें । म सानैबाट विद्रोही स्वभावको थिएँ । अन्यायको विरुद्धमा बोलिहाल्थें । होस्टेलमा बालिकाहरूलाई गरेको व्यवहारले मलाई त्यसै चुप बस्न दिएन । मैले त्यसको विरुद्धमा आवाज उठाउँदा मलाई विद्यालयबाट निकाल्ने कुरा आयो । मैले प्राचार्यलाई म यसै विद्यालयबाट एसएलसी पास गरेरै छोड्छु भनेर भनें ।
मैले सानैदेखि विद्रोही भावले भरिएका गजलकविताहरू पनि लेख्ने गर्थें । म एक वर्ष होस्टेलमा बसेपछि धर्म फुपुको घरमा बसेर पढ्न थालें । म दुई घण्टा हिँडेर विद्यालय पुग्थें । वि.सं. २०६४ सालमा मंगलप्रसाद माविबाटै दोस्रो स्थानमा एसएलसी पास गरें । बाल्यकालको दुःखले संघर्ष गर्न सिकायो । जुन संघर्षले आज यो स्थानमा छु ।

प्रकाशित मितिः   ५ भाद्र २०७४, सोमबार १५:५४