सुर्खेतका स्थानीय तहमा कर्मचारी र पूर्वाधार अभाव

सुर्खेत, ३ भदौ ।
पञ्चपुरी नगरपालिका सुर्खेतका ११ मध्ये तीन वटा वडामा अहिलेसम्म वडा सचिव पुगेका छैनन् । यस्तै गुर्भाकोट नगरपालिकाका पाँच वटा वडा कार्यालय पनि सचिवविहीन छन् भने चिङ्गाड गाउँपालिकाको वडा नम्बर २ र ३ मा पनि सचिव नै छैनन् ।


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बाहेक अन्य स्थानीय तहका सबै वडामा सचिव पुगेका छैनन् । वडा सचिव नै नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । आम नागरिकलाई सहज सेवाको प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले कर्मचारी र पूर्वाधार अभावमा सेवा सुधारमा कठिनाइ भएको बताएका छन् ।
यहाँका जनप्रतिनिधिले स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवास्तरमा सुधार गर्न नसकिएको गुनासो गरेका छन् । निर्वाचित जनप्रतिनिधिले कर्मचारी सँगसँगै भौतिक संरचना अभावमा कार्यालय व्यवस्थापनमा समेत समस्या भएको गुनासो गरेका छन् । ‘वडा सचिवकै अभाव छ, कसरी अन्य प्राविधिक कर्मचारीहरू त झन् कहिले आउने हुन् थाहा छैन’ चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले भने, ‘तर पनि जनप्रतिनिधिहरू आफै खटिएर जनतालाई सहज रूपमा सेवा दिने काम गरिरहेका छौं ।’ पर्याप्त भौतिक संरचना र समयमै कर्मचारी व्यवस्थापन हुन नसक्दा जनप्रतिनिधिलाई स्थानीय तहबाट जनतालाई सेवा दिन कठिन भएको उनी बताउँछन् ।
केन्द्रको निर्देशन अनुसार सबै स्थानीय तहले बजेट विनियोजन गरिसकेका छन् । अब बजेट तथा योजना कार्यान्वयन गर्नुपर्ने समयमा कर्मचारीको अभावले समस्या उत्पन्न भएको जनप्रतिनिधिहरू बताउँछन् । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले नगरपालिकाका १४ वटा वडामध्ये पाँच वटामा सचिव नै नभएको जानकारी दिए । उनले सचिव नहुँदा प्राविधिक कर्मचारीहरूबाट काम चलाएको भए पनि समस्या भइरहेको जनाए । भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले नगरपालिकाका दुई वटा वडामा सचिव नभएको भन्दै अन्य कर्मचारीहरूको पनि अभाव रहेको बताए । उनले समयमै सबै कर्मचारीहरूको व्यवस्थापन हुन सकेमा नगरपालिकाको काममा सहजता आउने र जनताले सहजै सेवा पाउने बताए ।
सिंहदरबार र जिल्ला सदरमुकामबाट पाउँदै आएको सेवा सुविधा जनताकै घर–आँगनमा पु¥याउने भने तापनि भौतिक संरचना र कर्मचारी अभावमा जनप्रतिनिधिलाई सेवा प्रवाहमा समस्या भएको हो । थोरै स्रोत साधनका बाबजुद पनि जनताको सेवामा खटिरहेको बताउँछन् वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मोतिप्रसाद कँडेल । उनले कर्मचारीहरूको अभाव भए पनि उपलब्ध कर्मचारी र जनप्रतिनिधिहरू जनतालाई सहज रूपमा सेवा दिन दिनरात खटिएको बताए । कर्मचारीहरू सबै नहुँदा वडाको खाता सञ्चालन समेत हुन नसकेको उनले जानकारी दिए । कर्मचारीको अभावले गर्दा काममा असहजता भएको भन्दै यहाँका स्थानीय तहका जनप्रतिनिधिहरूले जतिसक्दो छिटो दरबन्दी अनुसारका कर्मचारीको व्यवस्थापन गर्न माग गरेका छन् ।
कर्मचारीको अभाव सँगसँगै स्थानीय तहले पूर्वाधारको अभाव समेत खेपिरहेको छ । पूर्वाधारको कमीले गर्दा कतिपय वडा कार्यालयहरू नै सञ्चालनमा आउन सकेका छैनन् । निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि हालसम्म कार्यालय व्यवस्थापन नहुँदा जनप्रतिनिधिहरू टेबुलबाटै भए पनि सेवा दिन बाध्य भएका हुन् । सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिए पनि कर्मचारी र पूर्वाधारको अभावले नागरिकलाई महसुस गराउन नसकिएको गुनासो जनप्रतिनिधिहरूको छ ।
केन्द्रबाट पाउने अधिकार र सेवा सुविधाहरू आफ्नै गाउँ–ठाउँमा पाउने खबरले जिल्लाका दुर्गम तथा ग्रामीण भेगका जनता उत्साहित भएका छन् । तर स्थानीय तह कार्यान्वयनमा ल्याइए पनि पर्याप्त पूर्वाधार र जनशक्तिको व्यवस्थापन नहुँदा दैनिक प्रशासनिक काम र सेवा प्रवाहमा समस्या हुने देखिएको छ । कर्मचारी व्यवस्थापनमा ढिलाइ र प्रणालीगत अलमलले सेवाग्राहीलाई विभिन्न समस्या हुनुका साथै कार्यालयका काम प्रभावित भइरहेका छन् । विभिन्न गाविस समेटेर नगरपालिका स्थापना भएसँगै केही स्थानमा दैनिक सेवा प्रवाहमा सुविधा भन्दा बढी असुविधा भएको नागरिकले महसुस गरेका छन् । सहज सेवा प्रवाहका लागि वडा कार्यालय लगायत सबै निकायमा कर्मचारी पदपूर्ति गरेर स्थानीय तहको अनुभूति गराउनका निम्ति कम्तीमा सम्बन्धित कार्यालयमा कर्मचारीको पदपूर्ति गरी वडाबाटै सेवा दिनुपर्ने पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाको भनाइ छ ।

प्रकाशित मितिः   ४ भाद्र २०७४, आईतवार १५:५८