सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

एक वर्षमा चार हजार महिला भए घरधनी

सुर्खेत, ४ भदौ ।
परिवारमा सधैं दोस्रो दर्जाको नागरिकको रूपले बस्नुपर्ने महिला पछिल्लो समय सम्पत्तिको मालिक बनेका छन् । आफ्नो नाममा कुनै पनि सम्पत्ति नहुने । घरखर्च धान्न अरुकै भर पर्नुपर्ने । हातभरी ठेला बस्ने गरी काम ग¥यो, तर आफैले जोडेको सम्पत्तिमा अधिकार नहुँदा महिलाहरू परनिर्भर हुनुपर्ने अवस्था । सम्पत्तिमा महिलाको अधिकार नहुँदा विभिन्न हिंसा भोग्नुपर्ने बाध्यता । तर पछिल्लो समय महिलाहरूको अवस्था विस्तारै परिवर्तन हुँदै गएको छ । सामाजिक चेतना र शिक्षामा महिलाको पहुँच भएसँगै महिलाहरूको सम्पत्तिमा स्वामित्व बढ्दै गएको हो ।


नेपाल सरकारले सम्पत्तिमा महिलाको स्वामित्व बढाउनका लागि महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजश्वमा छुट दिएपछि महिलाहरू सम्पत्तिको मालिक भएका हुन् । जिल्ला मालपोत कार्यालयको तथ्यांकमा हेर्दा पछिल्लो समय सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा महिलाको नाममा जग्गा पास गर्नेको संख्या चार हजार चार सय ४० रहेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १० हजार नौ सय ६३ जनाले जग्गा पास गरेका थिए । त्यसमध्ये चार हजार चार सय ४० जना महिलाको नाममा जग्गा पास भएको छ ।
गत वर्षको तुलनामा यो वर्ष महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा वृद्धि भएको हो । गत आर्थिक वर्ष २०७२÷०७३ मा तीन हजार तीन सय ५८ जना महिलाको नाममा जग्गा पास भएको थियो । जिल्ला मालपोत कार्यालयका मालपोत अधिकृत रामप्रसाद खनालले सरकारले महिलाको नाममा २५ प्रतिशत राजश्वमा छुट दिएपछि सम्पत्तिमा महिलाको स्वामित्व बढेको बताए । उनले भने, ‘महिलाको नाममा जग्गा पास गराउँदा २५ प्रतिशत छुट हुन्छ त्यसैले पनि महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा वृद्धि भएको हो ।’ उनका अनुसार चेतनास्तर वृद्धिले पनि महिला आफ्नो अधिकार प्रयोग गर्न अग्रसर भएका हुन् । उनले सशक्तीकरण, छुटको आकर्षण, पुरुष घरबाहिर हुनु, शिक्षामा पहुँच पुगेका कारण महिलाको सम्पत्तिमा स्वामित्व बढेको बताए ।
आर्थिक वर्ष २०७३÷०७४ मा महिलाको नाममा जग्गा पास गराए वापत छुट दिएको रकम दुई करोड ३५ लाख ८९ हजार ६ सय ९८ रूपैयाँ रहेको छ । त्यस्तै गत आर्थिक वर्ष २०७२÷०७३ मा महिलाको नाममा जग्गा पास गराए वापत छुट दिएको रकम एक करोड ४६ लाख ४७ हजार ७५ रूपैयाँ रहेको छ ।
जिल्ला मालपोत कार्यालयमा गत वर्षभन्दा यो वर्ष राजश्व संकलनमा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १७ करोड ३३ लाख २८ हजार नौ सय १५ रूपैयाँ कुल राजश्व संकलन गरेको छ । त्यस्तै कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा १४ करोड सात लाख ६० हजार ६ सय ६७ रूपैयाँ राजश्व संकलन गरेको छ ।
सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, उद्योगधन्दा जस्ता शीर्षकमा जग्गा पास गर्दा लाग्ने दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । सरकारले २०६४ सालदेखि भूमिमा महिलाको स्वामित्व बढाउन महिला जग्गा धनीलाई प्रोत्साहन गर्न मालपोत करमा २५ प्रतिशत छुट दिने नीति लागू गरेको हो । घरमूली (श्रीमान्) वैदेशिक रोजगारमा विदेश हुनु, सरकारले महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा छुट दिनु जस्ता कारणले पनि महिलाको सम्पत्तिमा स्वामित्व बढ्दै गएको हो । वैदेशिक रोजगारमा विदेश गएका श्रीमान्ले पठाएको पैसाले श्रीमतीहरूले आफ्नो नाममा जग्गा पास गराउने कारणले पनि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको हो ।

प्रकाशित मितिः   ५ भाद्र २०७४, सोमबार १५:५६