‘केटी हेर्न गएको बिहे गरेर ल्याएँ’

जवानी चद्दै थियो । सलक्क परेको शरीर । बिहे गर्ने उमेर पनि भएको थियो । खाइलाग्दो जिउडाल भएका धु्रवकुमार चपाईंलाई केटी हेर्न जाने प्रस्ताव आयो उनकै सानोबुबामार्फत् । आफ्नै सानोबुबाले भनेपछि उनी पनि तम्सिए केटी हेर्नलाई । त्यस समयमा सडक र गाडीको सुविधा भने थिएन । केटी हेर्न वीरेन्द्रनगरदेखि छिन्चु जानुपर्ने थियो । उनको साथमा सानोबुबा एक जना अर्काे आफन्त र उनी गरी तीन जना थिए । करिब दिनभरको हिँडाइपछि बल्ल पुगे केटीको घरमा । चपाईंलाई उनको सानोबुबाले उनको आफ्नै दिदीको छोरी आफ्नो (भान्जी) देखाउन लगेका थिए ।


चपाईंले केटीलाई देख्ने बित्तिकै मन पराए । सानोबुबाको भान्जी अरु कोही नभएर दुर्गा थिइन् । केटा–केटीको नजर त जुध्यो तर, एकअर्काेसँग भने कुरा गर्न पाएनन् । त्यस समयमा केटा–केटीको घरपरिवारको कुरा र मन मिलेपछि बिहेको कुरा छिनिथ्यो । उनीहरूको पनि त्यही भयो । चपाईंले त दुर्गालाई देख्ने बित्तिकै मन पराइसकेका थिए । तर, दुर्गालाई चपाईं भने नचिनेको केटा थिए । दुर्गाका घरपरिवारले चपाईंलाई पनि मन पराए र छोरीको बिहे गरिदिने निधो गरे । घरपरिवारले छोरीको लागि रोजेको केटासँग नै बिहे गर्नुपर्छ भन्ने मान्यताले दुर्गा पनि घरपरिवारको सहमतिमा राजी भइन् । केटी हेर्न गएका चपाईंको पकेटमा जम्मा ५० रूपैयाँ मात्र थियो । उनको सानोबुबाले केटीलाई बिहे नै गरेर लैजानुपर्छ भनिदिए । चपाईंलाई अचम्म लाग्यो । उनले कहीं ५० रूपैयाँमा पनि बिहे हुन्छ र ? तर उनका सानोबुबाले खर्च आफै गरेर भए पनि बिहे गरिदिने निधो गरे ।
चपाईंको व्रतबन्ध उतै गरेर केटी हेर्न गएको सात दिनमा दुर्गा र चपाईंको बिहे गरिदिए । चपाईंको बाबुआमा घरमै थिए । उता वि.सं. २०४२ सालमा चपाईंले बाबुआमा विना नै मागी विवाह गरे । यता उनका बाबुआमा छोरो केटी हेर्न गएको छ के खबर ल्याउँछ भनेर कुरेर कसेका थिए । छोराले बुहारी नै ल्याइदिँदा त एक छिन अचम्ममा नै परे । बाबुआमा विना नै छोराले बिहे गरेर बुहारी ल्याउँदा बाबुआमा रिसाउनुपर्ने तर चपाईंका बाबुआमा त सुखी भए । त्यस समयमा टेलिफोन थिएन । चपाईंले बिहे गर्दैछु भन्ने खबर घरमा गर्ने पाएनन् । एक्कासी बाबुआमाको लागि बुहारी नै लिएर आए । सात दिनसम्म चपाईं र दुर्गामा देखादेख भयो तर, बोलचाल भने भएन ।
पिता चिन्तामणि चपाईं र माता खगीसरा चपाईंको कोखबाट २०२४ सालमा सुर्खेतको बासपानीमा जन्मिएका ध्रुवकुमार चपाईंको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा पढाइ बाहेक उनको भलिबलमा रुची थियो । उनी बाल्यकालदेखि नै सामाजिक सेवामा लाग्नुपर्छ भन्ने स्वभावका थिए । उनले कक्षा एकदेखि पाँचसम्म नेरा प्राविमा पढे । कक्षा ६ देखि एसएलसी पास भने उनले जन माविबाट गरे । एसएलसी पास गरेपछि भने उनको पढाइ रोकियो । बाल्यकालदेखि नै राजनीतिमा अलि बढी चासो राख्ने भएकाले त्यस समयमा बाबा भन्ने सरसँग उनी राजनीतिको कोचिङ कक्षा लिन जाने गर्थे । त्यस समयमा उनी पार्टीको पर्चा पम्लेटहरू रातीको समयमा बजारमा फाल्ने गर्थे । त्यही समयमा उनी पम्लेट फालेकै कारण एक दिनभर जेलमा पनि बस्नुप¥यो । त्यसपछि उनलाई राजनीति मोहले झन तान्यो । उनी २०४६ सालदेखि खुलेर नेपाली कांग्रेसमा लागे । अहिले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा निवार्चित भएका छन् ।
बिहेपछि नै यो जोडीले एकअर्काेलाई चिन्ने मौका पाए । बिहेपछि नै उनीहरूको माया बस्यो । बिहे पछिको प्रेम झन् मौलायो । यो जोडी एकअर्काे बीचमा कहिल्यै कुरा लुकाएनन् । दिनभर जो जहाँ भएपछि साँझ दुवैले एकअर्काेको दिनभर भएको सबै कुराहरू शेयर गर्ने भएकाले पनि एकअर्काेमा माया झागिंदै गयो ।
पिता हिमलाल कँडेल र माता पूर्णकला कँडेलको कोखबाट २०२४ सालमा छिन्चुमा जन्मिएकी दुर्गाको बाल्यकाल पढाइ र घरको काममा नै बित्यो । त्यस समयमा छोरी मान्छे भएपछि बाहिर खेल्न जान हुँदैन, घरको सबै काम सिक्नुपर्छ भन्ने चलनका कारण दुर्गा पढाइ बाहेक घरको काममा नै व्यस्त भइन् । शान्त स्वभावकी उनले कक्षा १ देखि कक्षा १० सम्म छिन्चुमा नै पढिन् । कक्षा १० पछिको पढाइ भने उनले रोकिन् ।
बिहेपछि माइतीमा छोरी र घरमा बुहारी हुँदाको फरक अनुभव खासै दुर्गाले गरिनन् । चपाईं सामाजिक सेवामा बढी लाग्ने भएकाले सबै कुरा बुझेका थिए । घरमा समय हुँदा दुर्गालाई सघाउने र घरपरिवारबाट पनि दुर्गाले माया पाएका कारण उनलाई घरपरिवासँग नजिक हुन खासै समय लागेन । यो जोडीको झगडा कहिले काही सामान्य हुन्छ । उनीहरू भन्छन्, ‘त्यसलाई झगडा भन्दा पनि कुराकानी नै कहिले काही कुरा गर्दा नै चर्को बोलिन्छ फरक त्यति नै ठूलो झगडा अहिलेसम्म भएको छैन ।’ उनीहरू एकअर्काे बीचमा दिनभरको कामको साँझ दुवै जनामा समीक्षा भयो भने कमीकमजोरी बाहिर आउने र समस्याको समाधान हुने भएकाले झगडा नहुने बताउँछन् ।
समय भएसम्म उनीहरू घुम्न पनि जाने गर्छन् । उनीहरू भन्छन्, ‘फुसर्द भएसम्म घुम्न पनि जान्छौं पोखरा, मनकामना, काठमाडौं, लुम्बिनी अन्य ठाउँहरूमा पनि घुम्न गएका छौ ।’ एकअर्काेको जन्म दिन, विवाह गरेको वर्ष पहिले नमनाएपछि अहिले छोरा–छोरीले मनाइ दिँदा उनीहरू खुशी हुन्छन् । यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । चपाईंलाई दुर्गाको नरिसाने बानी मनपर्ने गर्छ । चपाईंले दुर्गाको अहिलेसम्म नराम्रो बानी भेटाएकै छैनन् । उनी भन्छन्, ‘समझदार छिन्, रिसाउँदैनन् नराम्रो बानी भेटाएको छैन ।’ त्यस्तै दुर्गालाई पनि चपाईंको सामाजिक सेवामा लाग्ने बानी मनपर्ने गर्छ । उनीहरूको अनुसार जीवन भनेको जन्मेदेखि मृत्युसम्म चल्ने प्रक्रिया हो । जो जीवन रहेसम्म संघर्ष गर्नुपर्छ । जीवनलाई सहज तरिकाले जिउन जान्नुपर्छ ।
जीवन काँडाभित्र फुलेको गुलाबको फूल जस्तै हो । काँडाभित्र फुलेको सुन्दर फूल जस्तै संघर्षभित्रको जीवन पनि आनन्दमय हुन्छ । जीवन एक्लै काट्न सहज छैन । जीवनसाथीसँग पनि जीवन त्यति सहजै जिउन सजिलो पनि छैन । किनकी जीवनसाथी त्यो हो जसले हरेक सुख दुःखमा साथ दिन्छ । जस्ले हाँस्दा र रुँदासँगै साथ दिन्छ । त्यही दुःख र सुखमा साथ दिन जानिएन भने जीवन जिउन गाह्रो हुन्छ । एकअर्काेप्रतिको विश्वास गुम्यो भने पनि जीवनलाई सहज रूपमा अगाडि बढाउन सकिदैन । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेका एक रथका दुई पांग्रा हुन्, जो एक विना अर्काे अधुरो रहन्छ ।’
उनीहरूको अनुसार विवाह सामाजिक बन्धन हो । विवाह कर्मकाण्ड हो । तर प्रेम स्वतन्त्र हुन्छ । जसले जसलाई पनि गर्न सकिन्छ प्रेम । जोसँग पनि प्रेम हुन्छ । तर विवाह एक जना व्यक्तिसँग एक पटक मात्र हुन्छ । यो जोडीको जीवनमा कहिल्यै बिर्सन नसक्ने अविष्मणीय क्षण भनेको २०७२ वैशाखमा आएको भूकम्पमा ज्वाइँ गुमाउनु हो । उनीहरू भन्छन्, ‘हाम्रो सुखी छोरी हो, छोरीको खुशी लुटिएको दिन हामी कहिल्यै भुल्न सक्दैनौं ।’
प्रायः जोडीहरूको समस्या भनेको श्रीमान् धेरै बाहिर जाने श्रीमती घरमा बस्ने । यही कारण धेरै जोडीबीचमा वादविवाद भइरहेको हुन्छ । तर, यो दुर्गालाई भने आफ्नो श्रीमान् समाज सेवामा लागेको राम्रो लाग्छ । श्रीमान् समाजसेवामा लागेको हुँदा उनी चपाईंलाई कहिल्यै केही भन्दिनन् । एकअर्काे बीचमा सबै कुरा शेयर भयो भने त्यो सम्बन्ध दिगो हुने उनीहरू बताउँछन् ।
चपाईं धेरै जसो सामाजिक काममा बाहिर नै हुन्छन् । दुर्गा भने पसल गरेर बसेकी छिन् । यो जोडी समाजमा उदाहणीय जोडीको रूपमा स्थापित भएका छन् । घर सम्हाल्ने मात्र नभएर वडा कै नेतृत्व गर्ने नेता भएका कारण समाजले दिने सम्मान नै यो जोडीको सफलता हो ।

प्रकाशित मितिः   ३ भाद्र २०७४, शनिबार १४:५१