सुर्खेत र दैलेख ६ दिनसम्म अन्धकार

सुर्खेत, १ भदौ ।
कोहलपुर—सुर्खेत ३२ केभीए विद्युत प्रसारण लाइनमा समस्या आउँदा सुर्खेत र दैलेखमा ६ दिनसम्म अन्धकार भयो । अविरल वर्षासँगै आएको बाढी र पहिरोले विद्युत प्रसारण लाइनमा क्षति पु¥याएपछि सुर्खेत र दैलेखमा ६ दिनसम्म अन्धकार भएको हो । साउन २८ गते अवरुद्ध बिजुली बिहीवार साँझ साढे सात बजेदेखि मात्रै सुचारु भएको हो ।


बत्ती नहुँदा यहाँका नागरिकले ६ दिनसम्म सास्ती खेपे भने व्यापारमा दैनिक करोडौं नोक्सानी व्यहोर्नुप¥यो । यस क्षेत्रका व्यापारिक निकायहरू प्रत्यक्ष प्रभावित भए । दैनिक करोडौंको कारोबार हुने गरेको सुर्खेतमा ६ दिनमा अर्बभन्दा बढीको नोक्सान भएको बताइन्छ ।
बिजुली नहुँदा सबैभन्दा बढी उद्योग र इलेक्ट्रोनिक्स व्यापारमा नोक्सानी भएको छ । त्यसैगरी होटल व्यवसाय र हार्डवेयर व्यवसायले पनि ठूलो घाटा व्यहोर्नु परेको व्यवसायीहरू बताउँछन् । वीरेन्द्रनगरस्थित आधुनिक मोबाइल सर्भिस सेन्टरका सञ्चालक सोमप्रसाद पौडेलले बत्ती नभएसँगै ८० प्रतिशत ग्राहक आउनै छोडेको दुखेसो पोखे । उनले दैनिक २ देखि ३ लाखसम्म नोक्सानी व्यहोर्नुपरेको बताए । ‘इलेक्ट्रोनिक्स सामानहरू मर्मत गर्न बिजुली नभइ हुँदैन, बत्ती नभएपछि बत्तीबाट चल्ने सामानहरू बिक्री हुनै छोडे । व्यापार त ध्वस्तै भएको छ’ उनले साझा बिसौनीसँग भने । पछिल्लो ६ दिनमा सानो पूँजीमा सञ्चालित इलेक्ट्रोनिक्स पसलहरूले दैनिक २५ देखि ५० हजारसम्म र ठूला पसलले दैनिक २ देखि ३ लाखसम्म व्यापार घाटा व्यहोर्नु परेको पौडेलको भनाइ छ । इलेक्ट्रोनिक्स वस्तुगत समिति सुर्खेतका उपाध्यक्षसमेत रहेका पौडेलले अझै केही दिन बिजुली नआए पसल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए ।
बिजुली नहुँदाको मारमा होटल व्यवसाय पनि परेको छ । यहाँका होटल व्यवसायीले दैनिक ७० प्रतिशतभन्दा बढी घाटा व्यहोर्नु परेको बताउँछन् होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्क शाही । उनले ग्राहकहरूका लागि पानी तताएर समेत दिन नसक्ने अवस्था सिर्जना भएको बताए । यसको प्रत्यक्ष असर व्यापारमा परेको छ । ‘इन्भर्टरले धान्दैन, चर्को गर्मी छ’ उनले भने, ‘न पंखा चलाउन सकिन्छ न एसी, ग्राहकलाई सुविधा दिन नसक्दा त्यही अनुपातमा नोक्सानी पनि भइरहेको छ ।’ वीरेन्द्रनगरका चार सय भन्दा बढी होटलले अहिले दैनिक ५० देखि ७० प्रतिशत घाटा व्यहोर्नु परेको शाही बताउँछन् ।
त्यसैगरी बिजुली नहुँदा सुर्खेत र दैलेखका सञ्चारमाध्यम पनि प्रभावित बनेका छन् । यहाँका रेडियोहरूले आफ्नो नियमित प्रसारण समय घटाएका छन् । कतिपय रेडियोहरू नै बन्द भएका छन् भने केहीले आंशिक रूपमा मात्रै प्रशारण गरिरहेका छन् । जागरण एफएम सुर्खेतका स्टेशन म्यानेजर दीपेन्द्र ओलीले बिजुली नहुँदा त्यसको प्रत्यक्ष असर रेडियोलाई परेको बताए । उनले सोलार प्रविधि भए पनि वर्षाका कारण घाम नलाग्दा त्यसले धान्न नसकेको जनाए । दैनिक १८ घण्टा प्रशारण गर्दै आएकोमा अहिले बिजुली नहुँदा मुस्किलले ६ घण्टा मात्र रेडियो प्रशारण भइरहेको ओलीले जनाए । बत्ती नहुँदा नागरिकलाई सूचना प्रदान गर्ने कार्यमा समस्या भएको उनले बताए । रेडियोसँगै सुर्खेतका अधिकांश पत्रिका पनि केही दिनदेखि प्रकाशन हुन सकेका छैनन् ।
हार्डवेयर व्यवसाय पनि यतिबेला बिजुली नहुँदाको मारमा परेको छ । सुर्खेत हार्डवेयर समितिका सचिव दिनेश ढकालले हार्डवेयर व्यवसायमा ९० प्रतिशत गिरावट आएको बताए । बिजुली नहुँदा घर निर्माणको काम ठप्प भएको छ । घर निर्माणको काम रोकिएसँगै हार्डवेयर सामग्रीको बिक्रीमा समेत आएको छ । यसले गर्दा दैनिक ९० प्रतिशत नोक्सानी व्यहोर्नु परेको ढकाल बताउँछन् ।

प्रकाशित मितिः   २ भाद्र २०७४, शुक्रबार १४:३२