सडकमा क्षति, यात्रुलाई सास्ती

गुर्भाकोट, ३२ साउन ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका आधा दर्जनभन्दा बढी सडक यतिबेला अवरुद्ध छन् । साउन २९ गते अविरल वर्षासँगै आएको पहिरोले क्षति पु¥याउँदा सडकहरू अवरुद्ध भएका हुन् । सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिकाको वडा नम्बर ४ र ५ जोड्ने पातिहाल्ना–थक्लेनी–कुर्मी सडकमै झण्डै आधा दर्जन स्थानमा पहिरोले सडकमा क्षति पु¥याएको छ । कतिपय स्थानमा सडक नै भास्सिएको छ भने कतिपय स्थानमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको छ । जसले गर्दा सर्वसाधारणलाई आवतजावत गर्न समस्या परेको छ भने सडक नहुँदा जंगलबाट घण्टौं लगायर गन्तव्यमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।


आर्थिक वर्ष २०७२÷०७३ मा सांसद विकास कोषको आर्थिक सहयोगमा उक्त सडक निर्माण गरिएको थियो । कोषबाट प्राप्त १० लाख बढीको लागतमा निर्माण गरिएको उक्त सडक पहिरो गएर पुरिएको र सर्वसाधारणलाई आवत–जावतमा समस्या परेको स्थानीय वीरबहादुर खड्काले जानकारी दिए । उनले पहिरोले सडकमा क्षति पुगेको तीन दिन बितिसक्दा पनि पहिरो हटाउन सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गरे । जतिसक्दो छिटो सडक खुलाएर आवत–जावत सहज बनाउन उनले आग्रह गरे ।
करिब १० किलोमिटर सडकमध्ये चार किलोमिटर सडक पहिरोबाट पूर्णरूपमा क्षति भएकोले सम्बन्धित निकायले तत्काल उक्त सडक मर्मत गरी आवत–जावतमा सहजता ल्याउनुपर्ने स्थानीय डिलबहादुर खड्काको माग छ ।
यसैगरी गुर्भाकोट नगरपालिकाकै मेहेलकुनादेखि घुमखहरे जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध हुन पुगेको छ । सोही सडक अन्तर्गत गुर्भाकोटको वडा नम्बर ८ र १० जोड्ने पक्की पुल निर्माणको काम पनि पहिरोकै कारण रोकिएको छ । पुल निर्माण गर्ने क्रममा खनेको सडकमाथिबाट पहिरो आइ अवरुद्ध भएपछि मेहेलकुनाबाट घुमखहरे जाने सडक अवरुद्ध भएको हो । पहिरो नहटाउँदा उक्त सडकमा आवत–जावत गर्न पनि समस्या भएको स्थानीयबासीले जनाएका छन् ।
गुर्भाकोट नगरपालिकामा मात्र होइन जिल्लाका अन्य सडकहरू पनि पहिरोले अवरुद्ध हुन पुगेका छन् । सुर्खेतदेखि कोहलपुर जोड्ने रत्नराजमार्ग पनि पहिरोका कारण जोखिमपूर्ण बनेको छ । माथिबाट खसेको पहिरो हटाएर सवारी सञ्चालन सहज बनाइए पनि सडकभन्दा तलबाट गएको पहिरोका कारण सडक जोखिमपूर्ण बनेको हो । योसँगै जिल्लाका अन्य भित्री सडकहरूमा पनि पहिरोले क्षति पु¥याएको छ ।
यसैबीच गत साउन २८ र २९ गतेको अविरल वर्षासँगै आएको बाढीले गुर्भाकोट नगरपालिका सुर्खेतमा पु¥याएको क्षतिको अनुगमन र निवेदन संकलनको काम सुरु भएको छ । बाढी र पहिरोले धनजनको क्षति भएको भन्दै निवेदन दिनको संख्या दुई सय नाघेको छ । प्रहरीचौकी मेहेलकुनामा निवेदन दिनेहरूको संख्या बुधवारसम्म दुई सय १३ पुगेको छ । बाढी र पहिरोले गुर्भाकोटमा खानेपानी, सिँचाइ, घर, गोठ, शौचालय लगायतका संरचनामा क्षति पु¥याएको थियो भने एकै घरका तीन जनाले ज्यानसमेत गुमाएका थिए । ज्यान गुमाएका तीन जनाका परिवारलाई किरिया खर्चवापत जनही २५ हजार रूपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गुर्भाकोट नगरपालिकाले गरिसकेको छ ।

प्रकाशित मितिः   १ भाद्र २०७४, बिहीबार १४:२२